स्वास्थ्य:
स्वास्थ्य भनेको कुनै पनि रोग वा असक्तता नहुनु मात्र नभई पूर्णरुपमा शारीरिक,मानसिक, आध्यात्मिक र सामाजिक स्वस्थताको गतिशील अवस्था हो । (विश्व स्वास्थ्य संगठन)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
बि.स.२०११ सालमा स्थापित स्वास्थ्य मन्त्रालयको नाम हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेको छ । यस मन्त्रालयको प्रमुख उद्देश्य आधुनिक एबं परमपरागत स्वास्थ्य उपचार पद्धतिको प्रबर्द्धन र विकास गरि आम नागरिकको शारीरिक एबं मानसिक स्वास्थ्यमा अभिवृद्धि गर्ने,रोगको प्रभावकारी ढंगले रोकथाम गर्ने र उपचारको समुचित व्यवस्था मिलाउन नीति निर्माण गर्ने,गैर सरकारी संघ सस्था एबं निजि क्षेत्रको सलग्नता गराई स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु कार्यान्वयन, अनुगमन तथा मुल्यांकन गरि/गराई आम जनताको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याई गरिबी निवारणमा टेवा पुर्याउने रहेको छ ।
खोप कार्यक्रम
खोप एउटा शक्तिशाली एवं लागत प्रभावकारी (Cost effective) माध्यम हो, जसले अधिकतम रोगहरु लाग्नबाट सुरक्षा प्रदान गर्दछ । बि.स. २०३४ सालमा बिफर उन्मुलन पश्चात नेपालमा यो कार्यक्रम बिस्तारित खोप आयोजनाको रुपमा धनुषा, रुपन्देही र सिन्धुपाल्चोक जिल्लाहरुबाट बि.सि.जी. (BCG) र डी.पि.टी. (DPT) खोप सेवा प्रारम्भ भएको थियो । बि.स. २०३६/३७ सालमा पोलियो र दादुरा खोप थपगरि अन्य जिल्लाहरुमा बिस्तार गर्दै २०४५ साल सम्ममा ७५ वटै जिल्लाहरुमा ६ वटा रोगहरु क्षयरोग, भ्यागुतेरोग, धनुष्टंकार,लहरेखोकी,पोलियो,दादुरा बिरुद्धका खोपहरु समाबेस गरियो ।
यसैगरी बि.स.२०६० मा हेपाटाइटिस बी. २०६४ मा जापानिज इन्सेफ्लाइटिस (जोखिमपूर्ण जिल्लाहरुमा) र २०६६ मा हेमोफिलस इन्फ्लुन्जा बी. (हिब) खोप शुरुवात गरियो ।बि.स.२०७१ देखि पी.सी.भी. (Pneumococcal Conjugate Vaccine) खोप र पोलियो रोग उन्मुलन गर्नको लागि मुखबाट दिइने पोलियो थोपाको साथसाथै सुईबाट दिइने पोलियो खोप आई.पी.भी.(Inactivated Polio Vaccine) पनि समाबेस गरिएको थियो | त्यस्तै गरी सन २०१३ देखि दादुरा संगै रुबेला खोप पनि समाबेस गरिएको थियो भने बि.स.२०७७ सालमा रोटा (Rota), बि.स.२०७९ सालमा टाइफाइड (TCV)) खोप पनि समाबेश गरी हाल १३ वटा रोग बिरुद्ध बालबालिकाहरुलाई नियमित खोप दिदै आइरहेको छ ।
बि.स.२०५५ साल देखि पोलियो रोगको नियन्त्रण, निवारण र उन्मुलनको अनुगमन गर्नको लागि खोजपडताल (सर्भिलेन्स) शुरु गरियो | त्यसैगरी बि.स.२०६० देखि दादुरा, नवशिशु धनुष्टंकार र जापानिज ईन्सेफलाइटिस रोगहरुको समेत नियमित खोजपडताल कार्य शुरु भयो । यसबाट पोलियो, दादुरा, नवशिशु धनुष्टंकार र जापानिज इन्सेफलाइटिस रोगहरुको समयमै पहिचान गरि नियन्त्रण गर्न सहयोग पुग्दै आइरहेकोछ र रोकथाम गर्ने उद्देश्यका साथ सर्भिलेन्स गरिदै आएको छ।
परिचय
राष्ट्रिय खोप कार्यक्रम अन्तरगत समाबेस गरिएका सबै खोपहरु नि:शुल्क रुपमा प्रदान गरिदै आएको छ । जसमध्ये १५ महिना सम्मका बालबालिकाहरुलाई BCG, DPT-HepB-Hib, OPV, PCV, FIPV, Measle-Rubella खोप र जापानिज इन्सेफलाइटिस रोगको लागि जोखिमपूर्ण भएका ३१ जिल्लाहरुमा १२ महिनामा बालबालिकाहरुलाइ जे.ई. खोप, त्यस्तै रोटा (Rota) र टाइफाइड (TCV) तथा गर्भवती महिलाहरुलाइ Td खोप सेवा उपलब्ध गराउदै आएको छ | बहुबर्षीय खोप योजना (सन् २०११-२०१६) अनुसार राष्ट्रिय खोप कार्यक्रम क्रमश नया खोपहरु समाबेश गर्दै जाने योजना रहेको छ।
नियमित खोप सेवा प्रदान गर्नको लागि देशभरी करिब १६००० खोप केन्द्रहरु मासिक रुपमा संचालन भएका छन् जसमा सस्थागत खोप केन्द्र, बाहय खोप केन्द्र र घुम्ती खोप केन्द्रबाट सेवा प्रदान गरिन्छ | यसमा सरकारी निजि तथा गैरसरकारी स्वास्थ्य सस्थाहरु पर्दछन ।
लक्ष्य
बालबालिकाहरुलाई खोपबाट बचाउन सकिने रोगहरु लाग्ने दर, अपाङ्गता हुने दर र मृत्यु दरलाई कम गर्नु नै खोप कार्यक्रमको प्रमुख लक्ष्य हो ।
खोप: रोग लाग्नु भन्दा पहिले रोग नलागोस भनेर दिइने औषधिलाई खोप भनिन्छ | कुनै खोप सुईबाट दिइन्छ भने कुनै खोप खुवाइन्छ । साधारण भाषामा खोप लगाउनु भनेको खेतिपातिलाई छेकबार गरि गाईवस्तुबाट जोगाए जस्तै मानिसहरुलाई रोग लाग्नुबाट जोगाउनु हो | खोपले हाम्रो शरीरलाई विभिन्न रोगहरुसँग लडने शक्ति प्रदान गर्दछ ।
Vaccine
A substance used to stimulate the production of antibodies and provide immunity against one or several diseases, prepared from the causative agent of a disease, its products or a synthetic substitute treated to act as an antigen without inducing the disease.
खोप ऐन : २०७२
प्रस्तावना: खोपको माध्यमबाट रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मुलन गरि शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन तथा खोप सेवाको बिकास बिस्तार र सुदृढीकरण गरि गुणस्तरीय खोप सेवा प्रदान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वान्छनीय भएकोले,
नेपालको संबिधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका –संसदले यो ऐन बनाएको छ ।
- खोप (भ्याक्सिन): भन्नाले कुनै रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मुलन गर्न दिइने खोप सम्झनु पर्छ |
- “खोप कार्यक्रम” भन्नाले कुनै रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मुलन गर्नको लागि मन्त्रालयले नियमित वा अभियानको रुपमा संचालन गर्ने राष्ट्रिय खोप कार्यक्रम सम्झनु पर्छ र सो शब्दले खोपबाट बचाउन सकिने रोगको निगरानी गर्ने कार्य समेतलाइ जनाउछ |
- “खोप दिने व्यक्ति” भन्नाले खोप दिने स्वास्थ्यकर्मी वा चिकित्सक सम्झनु पर्छ र सो शब्दले खास प्रकारका खोप दिनको लागि मन्त्रालयले तोकेको अन्य व्यक्ति समेतलाई जनाउछ |
बुटवल उपमहानगरपालिकामा खोप कार्यक्रम
खोप प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार हो भने खोप प्रदान गर्नु स्वास्थ्यकर्मीको जिम्मेवारी हो भन्ने कुरालाई मनन गरि बुटवल उपमहानगरपालिकाले आफ्नै मातहतमा रहेको स्वास्थ्य संस्था र विभिन्न संघसंस्थाको सहयोगमा नियमित खोप कार्यक्रम संचालन गर्दै आइरहेको छ।
बुटवल उपमहानगरपालिका द्वारा संचालित नियमित खोप केन्द्र तथा खोप सेसनहरु (मासिक)
सि.न. | स्वास्थ्य सस्था | खोप केन्द्र | खोप सेसन | संचालन गते/बार | कभरेज वडा |
१ | शहरी स्वास्थ्य केन्द्र-१ | १ | १ | प्रत्येक १० गते | १ |
२ | आधारभूत स्वास्थ्य केन्द्र-२ | १ | १ | प्रत्येक १० गते | २ |
३ | शहरी स्वास्थ्य केन्द्र-३ | १ | १ | प्रत्येक १० गते | ३ र ५ |
४ | शहरी स्वास्थ्य केन्द्र-४ | १ | १ | प्रत्येक १० गते | ४ र ६ |
५ | शहरी स्वास्थ्य केन्द्र-७ | २ | २ | प्रत्येक १० र ११ गते | ७,८ र १० |
६ | शहरी स्वास्थ्य केन्द्र-११ | ३ | ४ | प्रत्येक १०,११ र २०,२१ गते | ९ र ११ |
७ | शहरी स्वास्थ्य प्र.केन्द्र-१२ | २ | ३ | प्रत्येक १०,११ र १२ गते | १२ र १३ |
८ | सेमलार स्वास्थ्य चौकी-१४ | २ | २ | प्रत्येक १० र ११ गते | १४ |
९ | आधारभूत स्वास्थ्य केन्द्र-१५ | २ | २ | प्रत्येक १० र ११ गते | १५ |
१० | आधारभूत स्वास्थ्य केन्द्र-१६ | १ | १ | प्रत्येक १० गते | १६ |
११ | मोतिपुर स्वास्थ्य चौकी-१७ | ३ | ३ | प्रत्येक १०,११, र १२ गते | १७ र १८ |
१२ | आधारभूत स्वास्थ्य केन्द्र-१९ | १ | १ | प्रत्येक १० गते | १९ |
जम्मा | २० | २२ | १९ वडा |
मुख्य उपलब्धी
नेपालको खोप कार्यक्रम अत्यन्तै सफल र प्रभावकारी जनस्वास्थ्य कार्यक्रमको रुपमा रहेको छ | यो कार्यक्रमले बिशेषगरी शिशु मृत्यु दर, बालमृत्यु दर र मातृ मृत्यु दर घटाउनमा योगदान पुर्याउछ ।
खोप सेवाबाट सन १९७७ मा बिफर रोगको उन्मुलन भएपछी शुरु भएको यस कार्यक्रमबाट हालसम्म निम्न सफलता हासिल भएका छन ।
- नेपाल सन २०१० अगष्ठ महिना देखि पोलियो रोगीको अवस्था शुन्य रहेको ।
- पूर्ण खोपयुक्त शहर,बुटवल उपमहानगर ! स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता –हाम्रो प्रतिबद्धता, भन्ने नाराको साथ बुटवल उपमहापालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा (२०७३ असार ३० गते) गर्न सफल भएको ।
- सन् २००५ मा मातृ तथा नवशिशु धनुष्टंकार रोग निवारण भएको।
- सन् २००९ मा जापानिज इन्सेफ्लाइटिस रोग नियन्त्रण भएको ।
- सन् २०१७ मा दादुरा र रुबेला रोग नियन्त्रण भएको।
- सन् २०१९ मा हेपाटाइटिस बी रोग नियन्त्रण भएको।
- आम नागरिकमा खोपको आवश्यकता र महत्वबारे जनचेतना बढ्दै गएको ।
- आधारभूत स्वास्थ्य सेवाको पहुचमा वृद्धि भएको।
स्थानीय चुनौती
- बुटवलमा रोजगारीको लागि, व्यापारको लागि, शिक्षाको लागि लगाएत सुबिधाको लागि बसाइसराइ गरि आउने मानिसहरुको संख्या अत्याधिक रहेको र पूर्ण खोपयुक्त नगर घोषणा भए तापनि यसको सुनिश्चितता संगै दिगोपना कायम राख्न चुनौतिको रुपमा रहेको |
- नागरिक र जनप्रतिनिधिमा भौतिक बिकासनै सम्पूर्ण बिकास हो भन्ने मान्यता कायम रहेकोले सामाजिक तथा मानबिय बिकासमा लगानी बढाउन समस्या देखिएको ।
- गरिब तथा बिपन्न नागरिकलाइ स्वास्थ्य सेवाको पहुचमा ल्याउन कठिनाइ ।
- नागरिकमा अझै पनि स्वास्थ्य सेवा भनेको उपचारात्मक स्वास्थ्य सेवा मात्र हो भन्ने बुझाइ रहेको ।
- स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि समय अनुकुल हुन नसकेको।
- सम्पूर्ण स्वास्थ्य सस्थाहरुको आफ्नै भौतिक पूर्वाधार नभएको ।
राष्ट्रिय चुनौती
- खोप कभरेज कम हुदै गएको र सबै तहमा खोप कभरेजमा एकरुपता नभएको ।
- लक्षित उमेरका बालबालिकाहरु मध्ये ४% ले अझै पनि एउटा पनि खोप नलिएको ।
- लक्षित उमेरका बालबालिका मध्ये केवल ८०% ले मात्र आधारभूत खोपहरु प्राप्त गर्न सकेका ।
- खोपको खेरजाने दर अपेक्षित भन्दा बढी भएको ।
- खोपको पहुच नभएको स्थान, वस्ती र समुदायको पहिचान गरी खोप सेवाको पहुच र उपभोग वृद्धि हुने गरी सुक्ष्म योजना बार्षिक रुपमा अध्यावधिक नगरिएको।
- भौगोलिक, सामाजिक, आर्थिक तथा सास्कृतिक कठिनाइ र जनचेतनाको कमिले अझै पनि बालबालिकाहरु पूर्ण खोप सेवाबाट बन्चित रहेकोले चुनौती देखिएको छ ।पौडेल बुटबल उपमहानगर पालिका स्वास्थ्य शाखामा कार्यरत छन।
प्रतिकया दिनुहोस्