लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक दुर्विन प्रविधिबाट कुमको जोर्नीको शल्यक्रिया

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक बारम्बार कुमको जोर्नी फुस्किने समस्याको दुर्विन प्रविधिबाट (Arthroscopic bankart repair ) सफल शल्यक्रिया गरिएको छ।

यो प्रविधिको विकास र प्रयोगसँगै प्रभावित बिरामीलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हाडजोर्नी, स्पोर्ट तथा आर्थोसकोपी विशेषज्ञ डा. उत्सव रेग्मीको नेतृत्वमा करिब २ घण्टा ३० मिनेटमा शल्यक्रिया सम्पन्न गरिएको हो। उक्त अपरेशनमा हाडजोर्नी टिमको सहभागिता रहेको थियो भने एनेस्थेसिया विभागको नेतृत्व  डा.सुरेन्द्र कुँवरले गर्नुभयो।

डा. रेग्मीका अनुसार पछिल्लो समयमा विकसित दुर्विन प्रविधि सुरक्षित र प्रभावकारी शल्यक्रिया विधि हो। “परम्परागत ओपन सर्जरीको तुलनामा यो प्रविधिबाट सानो घाउ, न्यूनतम ‘टिस्यु’  (tissue damage ) क्षति, छिटो निको हुने, सानो खत तथा संक्रमणको सम्भावना न्यून हुनेजस्ता फाइदा मिल्छ,” उहाँले भन्नुभयो ।

हाल बुटवलमा यो प्रविधिबाट घुँडाको चोटपटकको समेत सफल शल्यक्रिया हुँदै आएको छ। लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल हस्पिटल प्रा लि मा गरी हालसम्म १ सयभन्दा बढी बिरामीको उपचार गरिएको छ।

अत्याधुनिक प्रविधियुक्त सेवा अब बुटवलमै उपलब्ध हुन थालेपछि यस प्रकारका समस्याबाट पीडित नागरिकलाई राजधानी वा अन्य ठूला शहर धाउनुपर्ने झन्झट कम हुने र उपचार खर्च समेत बचत हुने विश्वास लिइएको हाडजोर्नी, स्पोर्ट तथा आर्थोसकोपी विशेषज्ञ डा.उत्सव रेग्मीले बताउनु भयो ।

 

 

सम्बन्धित शिर्षक :