स्वास्थ्यसमाचार/ कपिलवस्तुको शिवराज नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क प्रयोगशाला जाँच र भिडियो एक्स-रे सेवा उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को नीति, बजेट र कार्यक्रम नै राखेर सो पालिकामा उक्त सेवा सुरु गरिएको हो ।
यस अघि नै नगरपालिकाले प्रसूति सेवा लिने महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा समेत दिँदै आएको छ । स्वास्थ्यकर्मी अनुसार गर्भवती महिलाले कम्तीमा पनि चार पटक गर्भको जाँच गराउनु पर्छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूरामणि भट्टराईले सूचना निकाल्दै गर्भवती महिलालाई निःशुल्क प्रयोगशाला जाँच र भिडियो एक्सरे सेवा उपलब्ध रहेको जानकारी दिए । नगरपालिकाका ४ स्वास्थ्य संस्थामा सेवा उपलब्ध रहेको भट्टराईले बताए ।
आधारभूत स्वास्थ्य सेवा अस्पतालमा प्रयोगशाला र भिडियो एक्सरे तथा शिवपुर, चनई र शिवगढी स्वास्थ्य चौकीमा प्रयोगशाला जाँच सेवा उपलब्ध रहेको उनले बताए । भट्टराई अनुसार गर्भवती महिलाले हेमोग्लोबिन, प्रोटिन, एल्बोबीन, सुगर, युरिक एसिड, रक्तचाप, लगायतको जाँच गराई राख्नु पर्छ ।
मेयर अजय थापाले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले पालिकाले बृद्धबृद्धा आशक्तलाई समेत घर घर मै गएर रक्त चाप लगायतका जाँच सेवा दिँदै आएको बताए । ‘ जनताको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो, हामीले पालिकामा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने ध्येयका साथ अघि बढेका छौ ’ उनले भने ।
प्रतिकया दिनुहोस्