स्वास्थ्यसमाचार/ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यु.सि.यम.यस.) शिक्षण अस्पताल, भैरहवाको ‘दिक्षान्त समारोह २०२५’ भव्य रूपमा सम्पन्न भएको छ।
समारोहका प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले आजका चिकित्सकहरू भोलिका राष्ट्रका गहना भएको उल्लेख गर्दै भन्नुभयो, “मानव जीवनमा चिकित्सकलाई ईश्वरको अर्को रूपमा व्याख्या गरिन्छ, त्यसैले चिकित्सकहरूले पेशागत मात्र नभई व्यवहारिक, मानविय र सामाजिक जिम्मेवारी पनि पूरा गर्नुपर्छ।”
यस वर्ष २१औँ ब्याच एमबीबीएस र १८औँ ब्याच बीडीएसका गरी ११४ जना विद्यार्थी दिक्षित भएका छन्। कार्यक्रममा प्राचार्य प्रा.डा. लक्ष्मी पाठकले स्नातक विद्यार्थीलाई चिकित्सकीय शपथ गराउनु भयो ।
समारोहमा सह–प्राचार्य प्रा.डा. हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. साधन मुखी, इन्टर्नसिप कोअर्डिनेटर सह–प्रा.डा. रमेशराज विष्ट, प्रा. सञ्जित कर, प्रा.डा. दिपक यादव, डा. जिज्ञाशा सुवेदी, प्रमुख वित्त अधिकृत सुरज पौडेल, सहायक प्रशासक प्रेमा गुरुङ र प्रशासन संयोजक तेज कुमार के.सी.सहित अभिभावकहरूको उपस्थिति थियो।
स्नातक विद्यार्थीहरूलाई प्रमाणपत्र प्राचार्य प्रा.डा. लक्ष्मी पाठक, सह–प्राचार्य प्रा.डा. हेमन्त हलुवाई र मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. साधन मुखीले प्रदान गर्नुभयो। कार्यक्रममा दिक्षा थडराई, अनिमेष चौधरी, खुशी तिवारी र फिजा रानाले सञ्चालन गरेका थिए। सांस्कृतिक प्रस्तुतिहरूबाट विद्यार्थीहरूले उपस्थितिलाई मनोरञ्जन गराए।
वि.सं. २०५४ मा स्थापना भएको यु.सि.यम.यस. शिक्षण अस्पतालले आ.व. २०८०/८१ सम्म एमबीबीएसमा २,१६३ र बीडीएसमा ७१३ गरी कुल २,८७६ जना चिकित्सक दिक्षित गरिसकेको छ।
प्रतिकया दिनुहोस्