रुकुम पूर्व अस्पतालमा पहिलोपटक दन्त रोग विशेषज्ञ सेवा सुरु

स्वास्थ्यसमाचार/ रुकुमपूर्व अस्पतालमा पहिलोपटक दन्त रोग विशेषज्ञबाट सेवा सुरु भएको छ । दन्त विशेषज्ञ डा. त्रिपुरारी शुक्लाको पदस्थापनसँगै जिल्लामा दन्त उपचार सेवा सुरु भएको हाे ।डा. शुक्ला र लेखापाल अञ्जना खत्रीलाई स्वागत तथा सम्मान गरिएको छ ।

कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष लोकेन्द्र शाह, अस्पतालका निमित्त कार्यालय प्रमुख डा. कृष्ण खराल, स्वास्थ्य कार्यालय रुकुमपूर्वका निमित्त प्रमुख पुस्कल श्रेष्ठ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख विष्णुहरि आचार्यल गायतले बोल्दै अस्पतालबाट आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

लेखापाल खत्री केही दिनअघि नै कार्यभार सम्हालिसकेकी छन् भने डा. शुक्लाले बिहीबारदेखि नियमित रूपमा दन्त सेवा दिन सुरु गरेका हुन् । अस्पतालका निमित्त प्रमुख डा. खरालका अनुसार अस्पताल प्रशासन शाखामा पनि चाँडै थप कर्मचारी ल्याउने तयारी भइरहेको छ ।

वक्ताहरूले अस्पतालले विगतमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै सेवा, संरचना र कार्यशैलीलाई व्यवस्थित बनाउँदै लगेको उल्लेख गरे । उनीहरूले सकारात्मक सोचका साथ सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

यसअघिसम्म अस्पतालमा सामान्य रूपमा दन्त रोगको उपचार हुँदै आए पनि अब विशेषज्ञ सेवा स्थायी रूपमा उपलब्ध हुने भएकाले जिल्लावासीको स्वास्थ्यप्रति विश्वास थपिएको छ ।

डा. खराल स्वयंले पनि अमेरिका छाडेर रुकुमपूर्वको हिमाली भूभागमा सेवा दिइरहेका छन् । उनको नेतृत्वमा अस्पतालको सेवा प्रवाह र भौतिक पूर्वाधार विकासमा गति आएको उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक :