आजको समयमा जब आधुनिक चिकित्सा प्रणाली अत्यन्त प्रविधिनिर्भर र खर्चिलो बन्दै गइरहेको छ, त्यहीबीच आयुर्वेदले आफ्नो मौलिकता, प्राकृतिकता, र मानव-केंद्रित उपचार पद्धतिले पुनः ध्यान तान्न थालेको छ।
विशेष गरी नेपालजस्तो विविध जैविक स्रोतले भरिपूर्ण मुलुकमा आयुर्वेद शिक्षा लिएर कविराज बन्ने युवाहरूको भविष्य अत्यन्त सम्भावनायुक्त देखिन्छ। यस लेखमा हामी विशेषगरी आयुर्वेद शिक्षा लिँदाको रोजगारी सम्भावना, व्यक्तिगत जीवनमा त्यसको महत्व, र अन्तर्राष्ट्रिय स्तरमा यसको बढ्दो मागबारे चर्चा गर्नेछौं।
रोजगारी तथा व्यवसायिक अवसर
आयुर्वेदमा दक्षता हासिल गरेपछि व्यक्तिलाई सरकारी, गैर-सरकारी तथा निजी क्षेत्रका थुप्रै अवसरहरू प्राप्त हुन्छन्। नेपालमा सरकारीस्तरमा आयुर्वेद स्वास्थ्य केन्द्रहरू, अञ्चल तथा जिल्ला अस्पतालहरूमा आयुर्वेद शाखाहरू सञ्चालनमा छन् जसले कविराजहरूको माग बढाएको छ। त्यस्तै निजी क्षेत्रमा आयुर्वेद क्लिनिक, स्पा, योग सेन्टर, जडीबुटी उत्पादन गर्ने कम्पनीहरूमा पनि रोजगारको ठूलो सम्भावना छ।
व्यक्तिगत व्यवसायका रूपमा पनि आफ्नै आयुर्वेद क्लिनिक खोल्न सकिन्छ, जसमा रोगको जरा उखेल्ने उद्देश्यले दीर्घकालीन उपचार प्रदान गरिन्छ। यस्तो सेवा जनताले सहजै विश्वास गर्ने भएकाले आर्थिक आयस्रोतका दृष्टिले पनि सफल हुन सकिन्छ। अझ, जडीबुटी खेती, आयुर्वेदिक उत्पादन निर्माण तथा बिक्रीमा समेत आफूलाई संलग्न गर्न सकिन्छ।
शैक्षिक अवसर
तीन वर्षे यस कोर्सको अध्ययनपछि “आयुर्वेद स्वास्थ्य सहायक/कविराज” वा “PCL in Ayurveda and general medicine” को रूपमा सरकारी वा निजी संस्थाहरूमा काम गर्न सकिन्छ भने BAMS (Bachelor of Ayurvedic Medicine and Surgery) मा पनि पढ्न सक्ने बाटो खुल्छ। साथै स्नातकका अन्य विधा जस्तै BPH, B pharma, B tech, BBA आदि जुन फिल्डमा पनि जान सकिन्छ।
त्यसैगरी विश्वभरि नै पछिल्लो दशकमा ‘Natural Healing’, ‘Holistic Health’ जस्ता अवधारणाहरू लोकप्रिय हुँदै गएका छन्। अमेरिका, युरोप, अष्ट्रेलिया, जापानजस्ता देशमा आयुर्वेदप्रति रुचि अत्यन्त बढेको छ। त्यहाँ आयुर्वेद प्रशिक्षक, औषधी निर्माताहरू, योग गुरु तथा वैकल्पिक उपचारका विज्ञहरूको माग दिनानुदिन बढ्दो छ।
नेपालको हिमाली जडीबुटी तथा परम्परागत ज्ञान अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड बन्न सक्ने सम्भावना बोकेको छ। यसर्थ, नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको आयुर्वेद सेवा पुर्याउने, वा सीपको आधारमा विदेशमा गएर राम्रो रोजगारी पाउने अवसर खुला छ।
आयुर्वेद शिक्षा केवल एउटा डिग्री प्राप्त गर्ने माध्यम होइन, यो जीवनशैली, सेवाभाव, र दिगो भविष्य निर्माण गर्ने माध्यम हो। रोजगारीको पाटो, व्यक्तिगत लाभ, र अन्तर्राष्ट्रिय सन्दर्भलाई हेर्दा आयुर्वेद पढ्ने निर्णय आजको युवाहरूका लागि अत्यन्त उपयोगी र समय सापेक्ष बन्न सक्छ।
शैक्षिक योग्यताः एसईई उत्तीर्ण गरेको न्यूनतम २.० जीपीए ल्याएका विद्यार्थीहरुले आवेदन दिन सकिन्छ।
प्रवेश परीक्षाः सिटिईभिटीले आवेदक मध्येबाट मेरिट लिस्टको आधारमा आयुर्वेद क्याम्पसहरूले भर्ना लेने व्यवस्था गरिन्छ।
प्रतिकया दिनुहोस्