एकजना प्रसूति रोग विशेषज्ञका भरमा राप्ती प्रादेशिक अस्पताल 

स्वास्थ्यसमाचार/तुलसीपुर–१३ कि मीना बिकलाई बुधबार राति १२ बजे सुत्केरी व्यथाले च्याप्यो । आफ्नै ठाउँमा प्रादेशिक अस्पताल भएपछि हत्तपत्त अन्य ठाउँमा दौडिने कुरा पनि भएन । त्यसमाथि गर्भवती अवस्थामा नियमित जाँच गर्दा कुनै अप्ठ्यारो परिस्थिति पनि थिएन । मीनाका श्रीमान् अम्बा बिकले उहाँलाई राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउनुभयो ।

उहाँको सामान्य जाँच भयो । त्यसपछि त्यहाँ कार्यरत नर्सले डाक्टर केही दिनदेखि बिदामा भएको जानकारी गराए । मीनाको अवस्था सामान्य नै थियो तर जोखिम मोल्न चाहनुभएन, रिफर माग्नुभयो । त्यसपछि उहाँलाई बिहान ४ बजे घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइयो, ६ बजे बच्चा सामान्य अवस्थामा जन्मिएको श्रीमान् अम्बा बिकले जानकारी दिनुभयो ।

डाक्टर नहुँदा सामान्य अवस्थाको बिरामीलाई पनि बाहिर पु¥याउनुपर्ने बाध्यता खेप्नुपरेको भन्दै उहाँले गुनासो सुनाउनुभयो । उहाँले भन्नुभयो–
‘आफ्नै ठाउँमा सेवा पाएपछि बिरामी बोकेर बाहिर जाने रहर कसलाई पो हुन्छ र ? डाक्टरै नभएको अस्पतालमा जोखिम मोलेर कसरी उपचार गराउनु ?’

नै सुत्केरी व्यथाले च्यापेपछि राप्ती प्रादेशिक अस्पताल पुगेकी दंगीशरण–६ की खुमाकुमारी रावतले पनि सेवा लिन नेपालगञ्ज पुग्नुप¥यो । आइसियु, एनआइसियुलगायतका सेवा पाउने कुरा त यो अस्पतालमा आउने बिरामीका लागि कथा जस्तै हो तर विशेषज्ञ सेवासमेत नपाइएपछि जोखिम मोल्ने आँट कसले गर्ने ?

आफ्नो अवस्था सामान्य महसुस गरेकी खुमाकुमारी र उहाँको परिवारले यहाँ प्रसूति सेवा लिन उपयुक्त ठानेन र खुमालाई कोहलपुर मेडिकल कलेज पु¥याइयो । १० बजे अस्पताल पुगेकी खुमाले बेलुका ४ बजे सामान्य अवस्थामा सन्तान जन्माएको उहाँको उपचारमा खटिएकी नन्द प्रमिला बुढाथोकीले जानकारी दिनुभयो ।

‘हामी त तुलसीपुर नै उपचार गर्ने भनेर आएका थियौं तर डाक्टर हुनुहुन्न भनेपछि आत्तियौं । त्यसैले नेपालगञ्ज ल्याउनुप¥यो । त्यहाँ डाक्टर भइदिएको भए, अनाहकमा खर्च बढाउन यहाँ आउने नै थिएनौं’– उहाँले भन्नुभयो– ‘हामी पश्चिम दाङबासीले गतिलो उपचार सेवा पाउन नसक्ने भयौं । यति सामान्य अवस्थामा पनि किन ल्याउनुभएको भन्दै यहाँका डाक्टरहरुले पनि आश्चर्य मान्नुभयो ।’

यी केही उदाहरणहरु मात्रै हुन् । राप्ती प्रादेशिक अस्पतालमा लामो समयदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर एकजना मात्रै हुनुहुन्छ । केही दिनअघि उहाँ घरायसी काम परेको भन्दै बिदा बसेपछि अहिले अस्पतालको प्रसूति कक्ष कामबिहीन भएको छ । सामान्य अवस्थाका सुत्केरी सेवा लिन आएका बिरामी पनि डाक्टर नभएको थाहा पाएपछि घोराही तथा नेपालगञ्ज पुग्ने गरेका छन् । दिनमा १५ जनासम्मले प्रसूति सेवा लिने कक्ष अहिले सुनसान जस्तै भएको छ ।

असार महिनामा सामान्य, जटिल र अप्रेशन गरेर एक सय ९४ जनाले प्रसूति सेवा लिएको अस्पतालमा साउन महिनामा बिहीवारसम्म ४३ जनाले प्रसूति सेवा लिएका छन् । डाक्टर नभएको थाहा पाएपछि १० गतेदेखि १५ गतेसम्म छ दिनमा जम्मा ६ जनाले मात्रै प्रसूति सेवा लिएको तथ्यांकमा छ ।

यो ६ दिनमा सामान्य अवस्थाका ४१ जना बिरामी रिफर गरिएको प्रसूति कक्षमा कार्यरत नर्स कमला खड्काले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यहाँ आउनुहुन्छ, अवस्था त सामान्य नै हुन्छ तर हामीले डाक्टर नभएको कुरा जानकारी गराउनै प¥यो ।

त्यसपछि रिफर गर्दिनुस् भन्नुहुन्छ । यो त हामीले रिफर गरेको संख्या मात्रै हो । यहाँ डाक्टर नभएर अन्यत्र जानेको संख्या त योभन्दा दोब्बर नै हुनुपर्छ ।’कोही नवजात शिशुका लागि कपडा खरिद गर्न दौडिने त कोही सुत्केरीलाई औषधि र खाने कुरा ल्याउन दौडिरहँदा दिनरात मान्छेहरुको दौडधुपले चलायमान भइरहने राप्ती प्रादेशिक अस्पतालको प्रसूति कक्ष केही दिनयता सुनसान बनेको छ ।

प्रसूति सेवा प्रवाह र प्रसूति तथा स्त्रीसम्बन्धी अन्य सेवाहरुमा व्यस्त हुने प्रसूति कक्षमा कार्यरत कर्मचारीहरु अहिले फुर्सदिला भएका छन् । बिहीबार उक्त कक्षमा पुग्दा एकजना पनि सेवाग्राही थिएनन् । सेवाग्राही नभएपछि नर्सहरु कागजात मिलाउने काम गर्दै थिए । बुधबार बेलुकादेखि नै यो कक्ष बिरामीविहीन भएको नर्स खड्काले बताउनुभयो ।

‘हामी त काममा खटिएकै छौं तर सेवाग्राही आउँदैनन् सर, के गरेर समय बिताउनु ? त्यसैले कागजात मिलाउने काम गर्दैछौं’– उहाँले भन्नुभयो– ‘डाक्टर नभएकै कारण सामान्य अवस्थाका बिरामी पनि यहाँ सुत्केरी हुन मान्दैनन् । सामान्य अवस्थाको बिरामीले पनि रिफर गर्दिनुस् भन्नुहुन्छ । हामीले मान्नुप¥यो, साह्रै मन दुख्छ ।’ बाह्य जिल्लाका अस्पतालबाट आफूहरुलाई फोन गरेर यति सामान्य अवस्थाको डेलिभरी पनि दिन सक्नुहुन्न ? तपाइँहरुको प्रादेशिक अस्पताल हो कि हेल्थपोष्ट हो भनेर प्रश्न गरेको उहाँले सुनाउनुभयो ।

लुम्बिनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताललाई प्राथमिकतामा नराखेका कारण समस्या भएको अस्पतालका कार्यवाहक निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. पदमराज अधिकारीले बताउनुभयो । ‘स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई पटक–पटक सेवा बन्द हुने अवस्था आयो, डाक्टरको व्यवस्था गर्दिनुस् भनें, सुनुवाइ भएन ।

पछि एउटा विज्ञापन खोल्नुभयो, त्यो पनि अन्तर्वार्तामा पुगेर स्थगित भयो । प्रादेशिक तहको अस्पताल छ, प्रसूति तथा स्त्री रोगको एउटा मात्रै विशेषज्ञ डाक्टरको दरबन्दी छ’– उहाँले भन्नुभयो– ‘धन्न सिस्टरहरुले यतिसम्म धान्दिनुभएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा १४ जना प्रसूति तथा स्त्री रोगका विशेषज्ञहरु हुनुहुन्छ, यो पनि प्रादेशिक अस्पताल नै हो ।

कतै १४ जनाको दरबन्दी, कतै एकजना मात्रै । यसको व्यवस्थापन सरकारले गर्नुपर्दैन ?’ सरकारले बेवास्ता गर्दा राप्ती प्रादेशिक अस्पतालबाट प्रसूति तथा स्त्री रोगसम्बन्धी भरपर्दो सेवा प्रवाह गर्न नसकिएको मेसु अधिकारीले बताउनुभयो ।राप्ती प्रादेशिक अस्पतालमा डाक्टर व्यवस्थापन गर्नुपर्ने अवस्थाबारे लुम्बिनी प्रदेश सरकार जानकार भए पनि डाक्टर व्यवस्थापनमा चुनौती भएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले बताउनुभयो ।

‘राप्तीमा सरकारले डाक्टर नपठाउने भन्ने हुँदैन, प्रसूति तथा स्त्री रोग विशेषज्ञ व्यवस्थापन गर्नुपर्ने छ तर के गर्नु, एउटा डाक्टर व्यवस्थापन गर्न खोजियो भने १० जना नेताको फोन आउँछ ’– उहाँले भन्नुभयो– ‘राप्तीमा भएको समस्याबारे मेसुसँग कुरा भएको छ । छिटै डाक्टर व्यवस्थापन गर्छौं ।’एकराज भण्डारी

सम्बन्धित शिर्षक :