पाल्पामा जिप दुर्घटना घाइतको लुम्बिनी मेडिकल कलेजमा उपचार हुदै

स्वास्थ्यसमाचार/क्षमताभन्दा बढी यात्रु बोकेको जिप दुर्घटना हुँदा पाल्पामा मंगलबार १० जनाको मृत्यु भएको छ । जिपमा सवार दुईमहिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप चिदिस लुम्पेक डाँडामा दुर्घटनामा परेको हो । घटनास्थलमा ८ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा मृत्यु भएका मध्ये १० जनाकै पहिचान खुलेको छ । तिनाउ–६ मस्यामकी ६० वर्षीया यमकुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपाल, रिब्दीकोट–१ की ६५ वर्षीया दिलकुमारी सुनार,

रूपन्देहीको देवदह–५ की २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले बताए । लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट सिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको मुस्ताङ जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटनामा परेको हो । कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटना भएको पाल्पाका ट्राफिक प्रहरी प्रमुख राजकुमार चापागाईंले बताए । घाइतेहरूमा महिला ८, बालक ४, बालिका ३ र पुरुष २ जना रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ३६ दिने बालकसहित १७ जनाको उपचार भइरहेको लुम्बिनी मेडिकल कलेज प्रभासका कम्पनी सचिव कृष्ण पराजुलीले बताए । चालक तानसेन नगरपालिका–१० का दानबहादुर चिदीका अनुसार घुम्तीमा गाडीमा बेग्लै आवाज आएर पछाडि हटेपछि भीरबाट तल खसेको हो ।

जीप घुम्तीदेखि झन्डै १५० मिटर तल सोही सडकको तल्लो भागमा खसेको उद्धारमा खटिएका स्थानीय दिनेश घिमिरेले जानकारी दिए । ‘धेरै यात्रु भएकाले घुम्तीमा जिप नमोडिएको हुन सक्छ,’ उनले भने । बेलुकी भइसकेको र भीरमा घाइते अड्किएकाले उद्धारमा केही कठिनाइ भए पनि समयमै घाइतेलाई अस्पताल पुर्‍याउन सकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए ।

मृत्यु तथा घाइते हुनेहरू अधिकांश स्थानीय मस्यामको चिदिस र शिखरडाँडा गाउँका छन् । प्रहरी र स्थानीयले घाइतेहरूलाई उद्धार गरी तत्काल लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएका थिए ।

कच्ची सडकमा अधिकांश यात्रुवाहक जिपले ‘ओभरलोड’ बोक्ने समस्या छ । श्रीनगर यातायात व्यवसायी कम्पनी प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतमका अनुसार १३ सिट पास हुने जिपले क्षमताभन्दा बढी यात्रु बोकेको स्विकारे ।

उनले यसअघि पनि यही जिपलाई अनुगमनमा पुग्दा ‘ओभरलोड’ बोकेको भेट्टाएर सचेत गराएको बताए । जिपको १३ सिटको बिमा हुने र अन्यको थप लाग्ने खर्च भने समिति र सवारी धनीले बेहोर्नुपर्ने हुन्छ ।

‘हामीले पटक–पटक सवारी धनी र चालकलाई अधिक यात्रु नराख्न चेतावनी दिँदै आएका छौं,’ उनले भने, ‘पक्कीभन्दा पनि कच्ची सडकमा अधिक यात्रु बोक्ने समस्या छ ।’ सिट पासबाहेक अन्य यात्रुको समिति जवाफदेही हुने ट्राफिक प्रहरी प्रमुख चापागाईंले बताए ।

सम्बन्धित शिर्षक :