स्वास्थ्यसमाचार/ गुल्मीको चन्द्रकोट गाउँपालिकामा बनेको १५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। गाउँपालिकाको वडा नम्बर ६ मा बनेको उक्त अस्पताल बिहीबारबाट सेवा दिन थालेको हो।
गाउँपालिकाले मेडिकल अधिकृतको व्यवस्था गरी अस्पताल सञ्चालनमा ल्याएको हो। गाउँपालिकाले गरेको विज्ञापनमार्फत डाक्टर रोशनकुमार यादव र लुम्बिनी प्रदेशको छात्रवृत्ति करारमार्फत डाक्टर अरुण गैरेलाई नियुक्त गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो।
अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्स–रे लगायत ओपीडी सेवाहरू सञ्चालनमा आउने भएका छन्। जिल्लामा सबैभन्दा पहिले निर्माण व्यवसायी विजय खनालले गुल्मीदरबारमा डिकोई अर्जुन न्यू लिजा र चन्द्रकोट गाउँपालिकामा तुल्सिभक्त अर्जुन बिल्डर्स जेभीमार्फत अस्पताल निर्माणको काम सम्पन्न गरेका थिए। गुल्मीदरबारमा भने यसअघि नै अस्पताल सञ्चालन भइसकेको छ।
गाउँपालिका उपाध्यक्ष विष्णु भण्डारीले अस्पताल सञ्चालनमा आएपछि चन्द्रकोटबासीलाई सामान्य उपचारका लागि बाहिर जानुपर्ने अवस्था अन्त्य भएको वताउनु भयो । बाग्लुङको बरेङ गाउँपालिकाका नागरिकले पनि सो अस्पतालबाट सहजै सेवा पाउने विश्वास व्यक्त गर्नु भयो।
प्रतिकया दिनुहोस्