स्वास्थ्यसमाचार अनलाईन |लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मंगलबार राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाँप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयाे-`प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा चलाउन सकिन्छ । जनशक्ति पर्याप्त छ, तर बिरामीहरू सहज रूपमा सेवा पाउन सकेका छैनन् । प्रादेशिक अस्पतालमा रचनात्मक रूपमा सेवा दिन सकिन्छ ।´उहाँले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सेवा दुई सिफ्टमा सञ्चालन गर्नेगरी योजना बनाउन निर्देशन दिनुभएको हाे ।
मुख्यमन्त्री आचार्यले जिल्ला तहका अस्पतालहरूको सेवा प्रभावकारी बनाउनुपर्ने बताउँदै बिरामी पुग्ने ठाउँमै उपचार हुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो-`जिल्ला अस्पतालमै उपचार गर्न सकिने केसहरूमा पनि बिरामीलाई अनावश्यक रूपमा रिफर गरिन्छ । यसले प्रादेशिक अस्पतालमा भीड बढाएको छ । सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर गर्ने प्रथा बन्द गर्नुपर्छ । यसमा स्वास्थ्य मन्त्री र सचिवले विशेष निगरानी बढाउनुपर्छ ।´ उहाँले स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।`शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गरेका छौं । स्वास्थ्यका सूचकहरूमा सुधार देखिन थालेको छ´उहाँले भन्नुभयाे-` पोषणमा सुधार आएको छ ।
मातृ तथा बाल मृत्युदर घटाउन हाम्रा अभियानहरू केन्द्रित छन् । समुदायस्तरका कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारसँग अनिवार्य समन्वय गर्नुपर्छ ।´ मुख्यमन्त्री आचार्यले रोग लागेपछि होइन, लाग्न नदिनेतर्फ केन्द्रित जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार, सकेसम्म आयुर्वेद र प्राकृतिक उपचारलाई प्रोत्साहन गर्नुपर्नेछ । उहाँले भन्नुभयाे-`प्राकृतिक उपचारबाट रोगको स्थायी समाधान गर्न सकिन्छ । अब दीर्घकालीन रूपमा समाधानका उपायमा जोड दिन जरुरी छ ।´ कार्यक्रम स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता र स्वास्थ्य मन्त्री खेमबहादुर सारुकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख सचिव बावुराम अधिकारीले आधारभूत र विशेष स्वास्थ्य सेवामा सबैको पहुँच बढाउनुपर्ने बताउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले नतिजा केन्द्रित योजना निर्माण र दोस्रो आवधिक योजनाले प्राथमिकतामा राखेका क्षेत्रहरूको कार्यान्वयनमा जोड दिनुभयो ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले नसर्ने रोगको संक्रमण बढ्दै गएको बताउँदै यस्तो अवस्थालाई जटिल बन्न नदिन पहिचान र रोकथाममा केन्द्रित अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जनस्वास्थ्य प्रशासक उमेश गौतमले एक वर्षे कार्यक्रमहरूको प्रस्तुति दिँदै आधारभूत स्वास्थ्य सेवा सुदृढ पार्न सके धेरै नागरिकलाई स्वस्थ बनाउन सकिने बताउनुभयो । उहाँका अनुसार, जीवनशैली र खानपानका कारण नसर्ने रोगहरू बढ्दै गएकाले जनस्वास्थ्य सेवामा विशेष ध्यान दिन आवश्यक छ ।
स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मानबहादुर ओलीले सूचकहरूमा सुधार देखिन थालेको तथ्यांकसहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो । एक वर्षमा ५० शैयाको अस्पतालदेखि आधुनिक प्रयोगशाला विस्तारसम्म लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आधारभूतदेखि विशेष स्वास्थ्य सेवासम्म सुधार भएको उल्लेख छ ।
समीक्षा कार्यक्रममा मन्त्रालयले प्रदेश राजधानी देउखुरीमा ५० शैयाको सुविधासम्पन्न भालुवाङ अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको छ ।
त्यसका साथै नवलपरासीस्थित पृथ्वी चन्द्र अस्पतालमा मृगौला डायलाइसिस सेवा विस्तार गरिएको छ भने कपिलवस्तु र अर्घाखाँची अस्पतालमा साे सेवा विस्तार अन्तिम चरणमा पुगेको जानकारी दिइएकाे छ ।
चार जिल्लामा सामुदायिक स्वास्थ्य सूचना प्रणालीमार्फत`परिवार स्वास्थ्य विवरण´ कार्यक्रम सुरु गरिएको छ, जसले महिलामात्र होइन, बालबालिकाको स्वास्थ्य र पोषण अवस्थाको निरन्तर अनुगमन गर्न सहयोग पुगोस् भन्ने लक्ष्य लिएको छ । प्रदेश लोकसेवा आयोगमार्फत पहिलोपटक विशेषज्ञ चिकित्सकसहित विभिन्न स्वास्थ्यकर्मीको पदपूर्ति र पदस्थापन गरिएको छ ।
साथै, आठ जिल्लाका १३ स्थानीय तहमा `राेभिङ्ग नर्स´ कार्यक्रम सञ्चालन गरी समुदायमै पुगेर जनस्वास्थ्य सेवा विस्तार गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु उपचारका लागि क्याथ ल्याब सेवा सुरु गरिएको छ भने गुल्मी अस्पतालमा`विद्युतिय स्वास्थ्य अभिलेख´प्रणाली लागू भएसँगै स्वास्थ्य सेवा प्रविधिमैत्री बन्दै गएको छ ।
प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा `सूचना भण्डार सर्भर´ जडान गरी आकस्मिक स्वास्थ्य व्यवस्थापनलाई थप सुदृढ बनाइएको छ ।
नेपालमै पहिलोपटक लुम्बिनी प्रदेशले स्वर्णप्राशन कार्यक्रमका लागि स्तरीय कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ । त्यस्तै, `लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना, २०८१–२०८६´ स्वीकृत भई लागू गरिएको छ ।

				
					
			
                            
                            
                            
प्रतिकया दिनुहोस्