स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम भालुबाङमा सम्पन्न भएको छ। हालका संगठनका गतिविधि, जेन्जी आन्दोलनपछि स्वास्थ्य सेवामा परेको प्रभावको समीक्षा तथा आगामी कार्ययोजना सार्वजनिक गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।
बैठक लुम्बिनी प्रदेश समितिका अध्यक्ष दोर्णबहादुर ओलीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय महासचिव भीमराज सिंह, विशेष अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेममान सारु, नेकपा (एमाले) प्रदेश समिति सचिव तथा संगठन इञ्चार्ज लक्ष्मण आचार्यलगायतका व्यक्तिहरू सहभागी थिए। वक्ताहरूले संगठनले जनताको हितमा रहेर गुणस्तरीय र चुस्त–दुरुस्त स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा डा. सुरामणी बेल्बासेले जनताको बहुदलीय जनवाद विषयमा कार्यपत्र प्रस्तुत गरे भने मन्त्री सारुले नीति, नेतृत्व र स्वास्थ्यकर्मीको भूमिकाबारे धारणा राख्दै, “हरेक स्वास्थ्यकर्मीले बिरामीको मर्म बुझी आत्मानुभूति सहित सेवा दिनुपर्छ,” भन्नुभयो। उहाँले लुम्बिनी प्रदेशको स्वास्थ्य सूचकांकको वर्तमान अवस्थाबारे पनि जानकारी दिनुभयो।
बैठकमा प्रदेश समितिका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष तथा १२ जिल्लाका स्वास्थ्यकर्मीहरू सहभागी थिए। कार्यक्रमका क्रममा संगठनका अध्यक्ष ओलीले सांगठनिक तथा आर्थिक प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरे। साथै जिल्लागत समीक्षा, अघिल्लो बैठकको मूल्याङ्कन र विभिन्न विषयमा छलफल गरिएको थियो।
बैठकले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी, दैनिक १ घण्टा आफ्नै लागि” भन्ने अभियान समुदायमा विस्तार गर्ने, योग–ध्यान–प्राणायाम र मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने, नर्सिङ आन्दोलनप्रति ऐक्यबद्धता जनाउने, रक्तदान अभियान, CME कक्षा सञ्चालन, घटक संगठनका भेला, विभाग गठन, सदस्य जिम्मेवारी बाँडफाँड र स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको छ।
त्यस्तै, करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा–सुविधा सुनिश्चितता, अस्पताल तथा स्वास्थ्य संस्थाको सरसफाइ, सन्देशमूलक भित्ते पात्रो प्रकाशन, स्वास्थ्य बीमा कार्यक्रम विस्तार र जेन्जी आन्दोलनले पारेको प्रभाव मूल्याङ्कन गर्ने निर्णय पनि बैठकले गरेको छ।
कार्यक्रममा केन्द्रीय उपमहासचिव खगराज पोखरेल, अनुशासन आयोग अध्यक्ष चिन्तामणि ज्ञवाली, डा. प्रशान्त पराजुली, प्रदेश इन्चार्ज राजकुमार पौडेललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम उपाध्यक्ष कृष्णप्रसाद पोखरेलको स्वागत मन्तव्यबाट सुरु भई सचिव कृष्णगोपाल चौधरीले सहजीकरण गर्नु भएको थियो ।

प्रतिकया दिनुहोस्