पाल्पा कुष्ठरोग निवारणको चरणमा, १२ जना कुुष्ठरोगी

स्वास्थसमाचार/ संगठन (डब्लूएचओ) ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्यो ।

नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशक अघि नै घोषणा गरिए पनि अझै धेरै जिल्लाहरुमा यो रोग हट्न सकेको छैन । रोग निवारणको घोषणा भएको लामो समयपछि पाल्पा भने कुष्ठरोग निवारणको चरणमा पुगेको छ । विगतका वर्षहरुको तुलनामा पाल्पामा कुष्ठरोगीहरुको संख्यामा कमी हुँदै गएको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले बताउनुभयो ।

उहाँले भन्नुुभयो,‘पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ कुष्ठरोग अन्त्य पनि भइनसकेको र विकराल समस्या पनि छैनन् ।’ गत वर्ष कुष्ठरोगीको संख्या १८ रहेको जिल्लामा त्यो संख्या घटेर अहिले १२ मा पुगेको प्रमुख गिरीले बताउनुुभयो । पाल्पामा २०७६ मा १५ जना कुुष्ठरोगीका विरामी रहेका थिए । त्यसयता २०७७ मा १३ जना, २०७८ मा १८ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । चालुु आर्थिक वर्षको ६ महिनामा भने घटेर कुुष्ठरोगीको संख्या १२ मा पुुगेको हो ।

आइतबार ७० औं कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानले रोगबारे जानकारी गराउँदै अहिले रहेका १२ जना कुष्ठरोगी मध्ये ९ जना पुरुष र ३ जना महिला रहेको बताउनुुभयो । उनीहरु सबैको उपचार भइरहेको छ ।

यहाँका तानसेन नगरपालिकामा ३, रिब्दीकोट गाउँपालिकामा २, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिकामा १/१, माथागढी गाउँपालिकामा २ र अन्य जिल्लाका १ जना कुुष्ठरोगी रहेका छन् । यहाँ अन्य जिल्लाबाट पाल्पामा आएका व्यक्तिको संख्यालाई समेत गणना गरिएको हो । ति विरामीहरु मध्ये ७ जनाको जिल्ला अस्पताल पाल्पा, १ जनाको रामपुर अस्पताल र ४ जनाको अन्य स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । जिल्लामा कुष्ठरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष संख्या थपिएको छ भने कुनै वर्ष संख्या ओरालो लागेको देखिन्छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठ रोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमै उपचार गर्न आग्रह गर्नुभयो । कुष्ठरोग लागेकाहरूले नियमित औषधि सेवन गरेमा अन्यमा नसर्ने उहाँले जानकारी दिनुुभयो ।

कुष्ठरोगप्रति सामाजिक भेदभाव बढी भएकाले त्यसबारे सचेतना ल्याउनुपर्ने डा. गिरीले बताउनुुभयो । ‘यो ब्याक्टेरियाबाट सर्ने रोग भएकाले धार्मिक अन्धविश्वासबारे भ्रम चिर्नुपर्छ‚’ उहाँले भन्नुभयो, ‘औषधि खान थालेपछि सर्ने दर ९९ प्रतिशत घट्छ ।’ बिरामीले आफ्नो समस्या निको हुनका लागि मात्रै ६ महिनादेखि १ वर्षसम्म औषधि सेवन गर्नुपर्छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले कुष्ठ रोगको निवारणका लागि आम नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । कुष्ठ रोगको नियन्त्रणका लागि पालिका, प्रदेश र संघीय सरकारले कार्यक्रम सन्चालन गर्न सुझाव दिनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानले कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री जीवाणुले गर्दा हुने दीर्घरोग भएको बताउनुुभयो । यो रोगले मुख्यतः छाला, आँखा र स्नायुमा असर गर्ने उहाँले जानकारी गराउनुुभयो । शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखा पर्नु, विस्तारै उक्त दागमा रौं झरेर जानु, पसिना नआउनु र नचिलाउनु यस रोगका लक्षणहरु रहेको न्यौपानेले बताउनुुभयो ।

स्नायुमा असर पर्दा हातखुट्टा लगातार झमझम हुने गर्छन् । छालाको नमुनाबाट लिएको तन्तुको रस जाँच गर्दा यो रोगका किटाणु देखा पर्छन् । यस्ता लक्षण देखापरेमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराई चिकित्सकको सल्लाहबमोजिम नियमित औषधी सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुुने र अंगभंग हुनबाट बच्न सकिने न्यौपानेको भनाई छ । यस रोगको औषधी नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।

हरेक वर्ष कुष्ठरोगीहरु देखिएका क्षेत्रमा वा समुदायमा पुगेर सचेतनाका कार्यक्रम गर्ने, उपचार, परामर्श गर्ने र उनीहरु प्रति जागरुकता देखाउने उद्देश्यले सन् १९५४ देखि यो रोग विरुद्ध दिवस मनाउने गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तथा क्षय कुष्ठरोग.सुु.निरिक्षक टिकाराम अधिकारीले बताउनुभयो ।

सम्बन्धित शिर्षक :