लुम्बिनी आयुर्वेद चिकित्सालयमा असोज २९ गते स्वर्णविन्दु प्राशन खुवाइँने

स्वास्थ्यसमाचार/बालबालिकाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्णप्राशन’ अभियान बुटवलमा पनि शुभारम्भ हुने भएको छ । बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा यहि असोज २९ गते बुधबारदेखि यो अभियान सुरु गर्न लागिएको कार्यालय प्रमुख डा.कलावती विश्वकर्माले जानकारी गराउनु भयो ।

सोमबार आयोजना गरीएको बालबालिकाहरुका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रममा कार्यालय प्रमुख विश्वकर्माले केन्द्र र प्रदेश सरकारले बालबालिकाहरुका लागि सुरु गरेको नयाँ अभियान भएकाले आबश्यक छलफल र आबश्यक तयारी गरेर ‘स्वर्णविन्दु प्राशन’ खुवाउने कार्यक्रम सुरु गर्न लागिएको बताउनु भयो ।

‘यही असोज २९ गतेदेखि सुरु हुन लागेको ‘स्वर्णप्राशन’ अभियानका लागि आबश्यक तयारी अन्तिम चरण पुगेको छ ।’, उहाले भन्नु भयो । यो अभियान अन्तर्गत पहिलो चरणमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई यो थोपा खुवाउन लागिएको हो । बिहान ६ बजेदेखि १० बजेसम्म खालि पेटमा स्वर्णप्राशन खुवाइने कार्यालय प्रमुख विश्वकर्माले बताउनु भयो । तोकिएको उमेर समूहका बालबालिकालाई यो थोपा खुवाउन समयमै ल्याउन समेत उहाले सबैलाई आब्हान गर्नु भयो ।

अभिमुखिकरण कार्यक्रममा दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयका बालरोग विशेषज्ञ डा.अर्जुनराज शर्माले ‘स्वर्णप्राशन’ के हो ? कुन उमेर समूहका बालबालिकालाई खुवाउने ? कसरी तयार गरीन्छ ? यसको मात्रा ? बारे विस्तृत जानकारी गराउनु भएको थियो ।
बालबालिकालाई पुष्य नक्षत्रका दिनबाट स्वर्णविन्दु प्राशन सुरु गरेर हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाउनु पर्ने डा.शर्माले बताउनु भयो। ‘स्वर्णप्राशन’ कम्तीमा ३० मात्रासम्म खुवाउदा राम्रो मानिन्छ । आयुर्वेद शास्त्र अनुसार बिहानको समयमा खालि पेटमा स्वर्णविन्दु प्राशन खुवाउनु उपयुक्त हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् ।

‘स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो । यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार हुन्छन् । स्वर्णप्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ ।

आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपास्वरूप सेवन गराइने विधिलाई ‘स्वर्णविन्दु प्राशन’ भनिन्छ । यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो ।

स्वर्ण भष्मको ‘इम्युनोमोडुलेटर’ गुण, ब्राह्मीको ‘न्युरो–प्रोटेक्टिभ’ क्षमता र महको प्राकृतिक ‘एन्टी–माइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पनि पुष्टि गर्दै लगेका छन् ।नेपालको आयुर्वेद चिकित्सामा यो औषधि राजपरिवारमा पहिलादेखि नै अभ्यासमा रहेको डा.शर्माले जानकारी गराउनु भयो । ब्राह्मी र शंखपुष्पी जस्ता जडीबुटीहरूमा पाइने नूट्रोपिक्स र एड्याप्टोजेन्स जस्ता सक्रिय तत्वहरूले स्नायु कोषको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढाउने उहाले वताउनु भयो ।

६ महिनामुनिका शिशुलाई आमाको दूधबाहेक केही खुवाउन नहुने भनिएकोले उनीहरूको हकमा स्वर्णप्राशन कार्यक्रम लागू नहुने डा.शर्माले बताउनु भयो । यस्तै बालबालिकालाई स्वर्णप्राशन खाने दिन ज्वरो, रुघाखोकी, आउँ, झाडापखाला, अरुची, पिनास, निमोनिया, खाना पचाउन समस्या लगायतका समस्या देखिएमा वा बिरामी भएमा अर्को महिनाको पुष्य नक्षत्रका दिन खुवाउन पनि डा.शर्माले सुझाव दिनु भयो ।

यस्तै कार्यक्रममा लुम्बिनी आयुर्वेद चिकित्सालयका सूचना अधिकारी बरिष्ठ कविराज गणेशप्रसाद सापकोटा, आयुर्वेद चिकित्सक योगेश ढकाल लगायतले स्वर्णप्राशन केवल परम्परा मात्र नभई वैज्ञानिक दृष्टिले अर्थपूर्ण संयोजन भएकाले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभरि स्वस्थ र मेधावी पुस्ता निर्माण गर्न यस कार्यक्रमले सहयोग गर्ने बताउनु भयो ।

बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाका कविराज निरीक्षक यमलाल भुसालले स्वस्थ जनशक्ति उत्पादनका लागि यो कार्यक्रम प्रभावकारी हुने विस्वास व्यक्त गर्नु भयो । साथै उहाले यो अभियान सञ्चालनका लागि बुटवल उपमहानगरले आयुर्वेद चिकित्सालयसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धतासमेत जनाउनु भयो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक :