डा. निकोलस भुसालले गाँजा सेवन गरेको पुष्टि, परिवारको जिम्मामा सुधार केन्द्रमा पठाइने तयारी

स्वास्थ्यसमाचार/ काठमाण्डौ प्रहरीले माइतीघरबाट पक्राउ परेका डा.निकोलस भुसाललाई रिह्याव सेन्टरमा राख्नेगरी आफन्तको जिम्मा लगाउने भएको छ। आज दिउँसो पक्राउ परेका डा. निकोलसले गाँजा सेवन गरेको खुलेपछि उनलाई उपचार गर्नु पर्ने भन्दै प्रहरीले आफन्तको जिम्मा लगाउन लागेको जनाएको छ।

प्रहरीले गरेको स्वास्थ्य परीक्षणको क्रममा भुसालले गाँजा खाएको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता पवन भट्टराईले बताए।भुसाललाई सुधार केन्द्र ‘रिह्याव सेन्टरमा’ राख्ने सर्तमा परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ उनले थपे।

गत वर्ष पनि उनी गाँजा सेवन गरेको अवस्थामा पक्राउ परेको र यस्ता पटकेलाई उपचारका लागि पठाउने कानूनी व्यवस्थाअनुसार रिह्यावमा पठाउन लागिएको भट्टराई बताए। गत वर्ष निकोलसलाई सिंहदरबार प्रहरीले पक्राउ गर्दा उनी प्रहरी वृत्त सिंहदरबारमा डीएसपी थिए।

जेनजीमाथि धोका भएको भन्दै आज निकोलस माइतीघरमा आन्दोलन गर्न पुगेका थिए। केही समूहले आजको प्रदर्शन फिर्ता गरेको अवस्थामा माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

आज ४४ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीहरूको क्रिमिनल ट्रयाक रेकर्ड हेरेर साथै आवश्यक स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइने भट्टराईले बताए।

सम्बन्धित शिर्षक :