स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा नयाँ आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरी आजबाट सेवा सुरु गरिएको छ। भवन उद्घाटन उपमहानगर प्रमुख खेलराज पाण्डेयले गर्नुभएको छ। नयाँ भवन उद्घाटनको अवसरमा एकीकृत प्रजनन स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो।
शिविर विशेषगरी ३०–५० वर्ष उमेर समूहका महिलालाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था पहिचान, रोकथाम, तथा उपचारमा केन्द्रित थियो। ख्क्ष्ब् परीक्षणसँगै थर्मोकोएगुलेसन विधिबाट उपचार सेवा प्रदान गरिएको थियो।
शिविर नेपाल परिवार नियोजन संघ–बुटवल शाखा, लायन्स क्लब अफ बुटवल, र बुटवल उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न भएको थियो। जोखिममा देखिएका महिलालाई तुरुन्त थर्मोकोएगुलेसन प्रविधिबाट उपचार गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा वडा अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा नगर प्रमुख खेलराज पाण्डेय प्रमुख अतिथि, उपप्रमुख सावित्रा देवी अर्याल र नगर प्रवक्ता शिव राना बिशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। नगर प्रमुखले नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु हुनु बुटवलवासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
स्वास्थ्य शाखा उपनिर्देशक युवराज पाण्डेयले नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु भएसंगै भवनमार्फत स्थानीय बासिन्दाले घरनजिकै स्वास्थ्य परीक्षण, परामर्श र उपचार सहज रूपमा पाउने पाउने बताउनु भयो।”

प्रतिकया दिनुहोस्