स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा स्क्रब टाइफस र डेंगुको संक्रमण बढ्दै गएको छ। पछिल्लो तथ्याङ्कअनुसार प्रदेशका १२ जिल्लामा स्क्रब टाइफसका २ हजार ७८० बिरामी भेटिएका छन्। तीमध्ये २३१ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्कअनुसार स्क्रब टाइफसका बिरामी सबैभन्दा धेरै दाङमा भेटिएका छन्। दाङमा ६२४ जनामा लक्षण देखिएकोमा ६५ जनामा संक्रमण पुष्टि भएको छ। पाल्पामा ३९६ बिरामीमध्ये २२ जना र बर्दियामा ३२४ बिरामीमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै रोल्पामा २९३, गुल्मीमा २६१, अर्घाखाँचीमा २४९ र रूपन्देहीमा २१६ जनामा स्क्रब टाइफसको समस्या देखिएको छ। रूपन्देहीमा १४ जनामा संक्रमण पुष्टि भएको तथ्याङ्क छ।
कपिलवस्तुमा ४८ बिरामीमध्ये तीन, नवलपरासी पश्चिममा ६९ मध्ये चार, प्युठानमा ४७ मध्ये तीन र रुकुम पूर्वमा ७५ मध्ये दुई जनामा संक्रमण पुष्टि भएको छ। बाँकेमा १७८ बिरामीमध्ये पाँच जनामा पुष्टि भएको निर्देशनालयले जनाएको छ।
डेंगुको संक्रमण पनि प्रदेशका विभिन्न जिल्लामा देखिएको छ। यस अवधिमा ८४६ जनामा डेंगु देखिएकोमा ८२७ जनामा संक्रमण पुष्टि भएको छ।
डेंगुका बिरामी सबैभन्दा धेरै पाल्पामा भेटिएका छन्। पाल्पामा २५१ जनामा संक्रमण पुष्टि भएको छ। दाङमा १७८ बिरामीमध्ये १६३ जनामा पुष्टि भएको छ। रूपन्देहीमा १२८, गुल्मीमा ६५ र नवलपरासी पश्चिममा ६३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
अर्घाखाँचीमा ४८ बिरामीमध्ये ४५, बाँकेमा २६, बर्दियामा ३१, कपिलवस्तुमा २५, प्युठानमा १६, रोल्पामा नौ र रुकुम पूर्वमा पाँच जनामा डेंगु संक्रमण पुष्टि भएको तथ्याङ्क रहेको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत तारा बहादुर कार्कीले बताउनु भयो ।
चिकित्सकका अनुसार स्क्रब टाइफस र डेंगु दुवै समयमै पहिचान गरी उपचार गर्नुपर्ने सरुवा रोग हुन्। स्क्रब टाइफस किर्नाको टोकाइबाट सर्छ भने डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट फैलिन्छ।
निर्देशनालयका जनस्वास्थ्य अधिकृत तारा बहादुर कार्कीले स्क्रब टाइफसको जोखिमबाट बच्न झाडी तथा घाँस सफा राख्न र खेतबारी वा झाडीमा काम गर्दा सावधानी अपनाउन आवश्यक रहेको बताउनु भयो।
उता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा. शुभाष ज्ञवालीले ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, अत्यधिक कमजोरी हुने लगायतका लक्षण देखिएमा घरमै बसेर औषधि सेवन गर्नुको सट्टा स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्ने बताउनु भयो।
डा ज्ञाबलीले डेंगुबाट बच्न घर तथा वरपर पानी जम्न नदिने, पानी राख्ने भाँडा छोपेर राख्ने र लामखुट्टेको वृद्धि हुने स्थान नष्ट गर्न आवश्यक रहेको बताउनु भयो। स्वास्थ्यमा असामान्य समस्या देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण र उपचार गराउन समेत डा ज्ञाबलीले सुझाब दिनु भयो ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरीले डेंगु र स्क्रब टाइफसको जोखिम कुनै एउटा भौगोलिक क्षेत्रमा मात्र सीमित छैन। प्रदेशका पहाडी तथा तराई दुवै क्षेत्रमा बिरामी भेटिएकाले जिल्ला अनुसार रोकथाम तथा निगरानीलाई निरन्तरता दिनुपर्ने वताउनु भयो ।
उहाले विशेष गरी वर्षात्पछि लामखुट्टेको प्रजनन बढ्ने र झाडी तथा घाँसे क्षेत्रमा किर्नाको जोखिम रहने भएकाले समुदाय स्तरमै रोग नियन्त्रणका गतिविधि प्रभावकारी बनाउनुपर्ने वताउनु भयो ।



प्रतिकया दिनुहोस्