मुटु प्रत्यारोपणका लागि जनशक्ति तयार, लाइसेन्सको पर्खाइ

स्वास्थ्यसमाचार/नेपालमै पहिलो पटक मुटु प्रत्यारोपण सेवा सुरु गर्न आवश्यक तयारी गरिँदै छ । मुटु प्रत्यारोपण सेवा सुरु गर्न आवश्यक दक्ष जनशक्ति तयार भइसके पनि संस्थागत अनुमति नहुँदा सेवा सञ्चालन हुन सकेको छैन ।

चिकित्सकहरूले व्यक्तिगत रूपमा मुटु तथा फोक्सोको प्रत्यारोपणसम्बन्धी लाइसेन्स प्राप्त गरिसकेकाले सरकारले अस्पताललाई संस्थागत लाइसेन्स उपलब्ध गराएलगत्तै मुटु तथा फोक्सो प्रत्यारोपण सेवा सुरु गर्न सकिने अवस्था छ ।

त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले मुटु प्रत्यारोपणका लागि आवश्यक जनशक्ति तयार भइसकेको जानकारी दिनुभयो । उहाँले इटाली र सिङ्गापुरमा प्रत्यारोपणसम्बन्धी फेलोसिप गर्नुभएको छ ।

नेपालमा मुटु प्रत्यारोपणका लागि विदेश जाने बिरामीले ठुलो रकम खर्च गरिरहेको उल्लेख गर्दै डा. गजुरेलले स्वदेशमै मुटु प्रत्यारोपण सुरु गर्न सके करोडौँ रुपियाँ बाहिरिनबाट रोक्न सकिने बताउनुभयो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालमै मुटु र फोक्सो प्रत्यारोपणको जनशक्ति तयार हुनुलाई गौरवको रूपमा लिनुपर्ने बताउँदै अङ्ग प्रत्यारोपण समितिले लाइसेन्स दिने जानकारी दिनुभयो ।

नेपालमा मुटु प्रत्यारोपणका लागि ट्रान्सप्लान्ट कार्डियोलोजीतर्फ प्राडा गजुरेल, डा. चन्द्रमणि पौडेल, डा. सूर्य देवकोटा, डा. हेमन्त श्रेष्ठ र डा. राजाराम खनालले लाइसेन्स प्राप्त गर्नुभएको छ ।

ट्रान्सप्लान्ट सर्जनतर्फ डा. अनिल भट्टराई, डा. रविकुमार बराल र डा. प्रभात खकुरालले लाइसेन्स लिनुभएको छ । त्यसै गरी फोक्सो प्रत्यारोपणका लागि डा. रञ्जन सापकोटा र डा. आकृति शर्माले तथा ट्रान्सप्लान्ट एनेस्थेसियोलोजीतर्फ डा. विश्वास प्रधान र डा. विभु श्रेष्ठले लाइसेन्स प्राप्त गर्नुभएको छ ।

मनमोहन सेन्टरका कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागीय प्रमुख डा. अनिल भट्टराईले चिकित्सकको लाइसेन्स प्राप्त भइसके पनि अस्पतालको संस्थागत लाइसेन्स आवश्यक रहेको बताउनुभयो । मुटु र फोक्सो प्रत्यारोपण गर्न चिकित्सकको लाइसेन्ससँगै अस्पतालको लाइसेन्स पनि चाहिन्छ ।

डा. गजुरेलले मुटु प्रत्यारोपण मिर्गौला तथा कलेजो प्रत्यारोपणभन्दा जटिल हुने बताउनुहुन्छ । जीवित व्यक्तिले मिर्गौला र कलेजो दान गर्न सक्ने भए पनि मुटु दान गर्न सकिँदैन ।

उहाँले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मात्र मुटु तथा फोक्सो प्राप्त गर्नुपर्ने भएकाले अङ्गदान र दाता व्यवस्थापनको प्रणालीसमेत प्रभावकारी हुनुपर्ने बताउनुभयो । प्राडा गजुरेलले भन्नुभयो, “सरकारले संस्थागत लाइसेन्स दिनेवित्तिकै मुटु तथा फोक्सो प्रत्यारोपण सुरु गर्ने छौँ ।”

सम्बन्धित शिर्षक :