बन्द क्याथ ल्याब सञ्चालन गर्दै लुम्बिनी प्रादेशिक अस्पताल, ट्रमा सेवा पनि सुदृढ गरिँदै

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालले आकस्मिक तथा ट्रमा सेवा सुदृढ गर्ने, एचडीयू र मेडिसिन सेवा सुधार गर्ने तथा लामो समयदेखि बन्द रहेको क्याथ ल्याब सञ्चालनमा ल्याउने तयारी गरेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले बिरामीको बढ्दो चाप र उपचारको आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तारसँगै अस्पतालको व्यवस्थापन सुधारलाई प्राथमिकतामा राखिएको बताउनु भयो।

उहाँका अनुसार आकस्मिक तथा ट्रमा सेवा सुदृढीकरण, एचडीयू र मेडिसिन सेवा सुधार, पार्किङ तथा पुस्तकालय व्यवस्थापन, फरेन्सिक सेवा सुदृढीकरण र क्याथ ल्याब सञ्चालनलाई प्राथमिकतामा राखिएको छ।

लुम्बिनी प्रदेशकै प्रमुख सरकारी अस्पताल भएकाले यहाँ रुपन्देहीसहित प्रदेशका विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन्। आर्थिक रूपमा कमजोर तथा विपन्न नागरिकका लागि समेत अस्पताल महत्वपूर्ण स्वास्थ्य सेवाको केन्द्र हो।

१२०० शय्याको भवन निर्माण तीव्र

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा अस्पतालको क्षमता विस्तार गर्ने गरी १२०० शय्याको आधुनिक भवन निर्माण भइरहेको छ। नयाँ भवनमा क्यान्सर उपचारसम्बन्धी सेवा, हेलिप्याडलगायतका पूर्वाधार रहने योजना छ।

अस्पतालले स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा समेत उत्कृष्ट स्थान हासिल गर्दै आएको जनाएको छ।अस्पतालको इतिहास भने एक शताब्दीभन्दा पुरानो छ। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा विसं १९६७ मा उपत्यकाबाहिर स्थापना गरिएका औषधालय मध्ये बुटवलको यो स्वास्थ्य संस्था पनि एक थियो।

सुरुमा मणिमुकुन्द सेन उद्यान क्षेत्रमा ६ शय्याको औषधालयका रूपमा सुरु भएको संस्था विसं २०२० मा ५० शय्याको अस्पतालका रूपमा हालको स्थानमा सञ्चालनमा आएको थियो। संघीय संरचनापछि यसको नाम लुम्बिनी प्रादेशिक अस्पताल राखिएको हो।

आकस्मिक र ट्रमा सेवा सुदृढ गरिने

दुर्घटना तथा अन्य कारणले गम्भीर अवस्थामा अस्पताल आउने बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन आकस्मिक तथा ट्रमा सेवा थप व्यवस्थित गर्ने योजना रहेको डा. गौतमले बताउनुभयो।

आकस्मिक कक्षमा आउने बिरामीको प्रारम्भिक मूल्याङ्कन, उपचार र आवश्यकता अनुसार थप व्यवस्थापनलाई प्रभावकारी बनाउन जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापन गरिने उहाँको भनाइ छ।

त्यस्तै, आईसीयूमा राख्नुपर्ने अवस्था नभए पनि निरन्तर निगरानी र उपचार आवश्यक पर्ने बिरामीका लागि एचडीयू सेवा सुदृढ गर्ने योजना छ। बिरामीको चाप बढी रहेको मेडिसिन सेवामा उपचार तथा वार्ड व्यवस्थापनलाई पनि थप व्यवस्थित गरिने अस्पतालले जनाएको छ।

बन्द क्याथ ल्याब सञ्चालनको तयारी
अस्पतालमा लामो समयदेखि बन्द रहेको क्याथ ल्याब सञ्चालनमा ल्याउने तयारी भइरहेको डा. गौतमले बताउनु भयो। क्याथ ल्याबलाई कार्डियोलोजी सेवासँग जोडेर सञ्चालन गर्ने योजना छ।

‘कार्डियोलोजी सेवा सञ्चालनका लागि चिकित्सकको खोजी भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अस्पतालले चिकित्सकको विज्ञापन समेत गरेको छ। संघ र प्रदेश सरकारसँग पनि आवश्यक जनशक्तिका लागि आग्रह गरेका छौं। विज्ञापनमार्फत चिकित्सक आउने अपेक्षा गरेका छौं।’
कार्डियोलोजी सेवाका लागि आवश्यक चिकित्सक र नर्सको व्यवस्थापन प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ।

क्याथ ल्याब सञ्चालनमा आए मुटुसम्बन्धी जटिल समस्या भएका बिरामीलाई परीक्षण तथा उपचारका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।विशेषगरी हृदयाघात जस्ता आकस्मिक अवस्थाका बिरामीको उपचारमा क्याथ ल्याब महत्वपूर्ण हुने अस्पतालको भनाइ छ।

फरेन्सिक विभाग सुदृढ गरिने

अस्पतालले फरेन्सिक (न्यायिक चिकित्सा) विभागलाई थप सुदृढ गर्न देवदह मेडिकल कलेजसँग समझदारीपत्र गर्ने तयारी गरेको छ।
फरेन्सिक सेवाको क्षमता विस्तार तथा आवश्यक प्राविधिक र शैक्षिक सहकार्यका लागि मेडिकल कलेजसँग समझदारी गर्ने योजना रहेको डा. गौतमले बताउनुभयो।

अनुसन्धानका लागि २० लाख

अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सलाई अनुसन्धानमा प्रोत्साहित गर्न पाँच जनालाई फेलोसिप उपलब्ध गराउने योजना अघि सारिएको छ। यसका लागि चालु वर्ष २० लाख रुपैयाँ व्यवस्थापन गरिएको डा. गौतमले बताउनु भयो।

अस्पतालमा भइरहेका सेवा तथा उपचारसम्बन्धी कामको अनुसन्धान गरी वैज्ञानिक जर्नलमा प्रकाशित गर्ने योजना यसै वर्षदेखि सुरु गरिएको उहाँले जानकारी दिनुभयो।‘अस्पतालमा भइरहेका सेवाको अनुसन्धान गर्ने र त्यसलाई जर्नलमा प्रकाशित गर्ने योजना यस वर्षदेखि सुरु गरेका छौं,’ उहाँले भन्नुभयो।

पार्किङ देखि पुस्तकालय सम्म

अस्पतालमा बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीका सवारी साधन व्यवस्थापन मा देखिएको समस्या समाधान गर्न पार्किङलाई व्यवस्थित गर्ने योजना छ। उपलब्ध स्थानको उचित व्यवस्थापन गरी अस्पताल परिसरको आवागमन सहज बनाउने तयारी गरिएको हो।

त्यस्तै, चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीका लागि अध्ययन तथा सन्दर्भ सामग्री उपलब्ध गराउन पुस्तकालय स्थापना तथा व्यवस्थापन गर्ने योजना पनि अघि सारिएको छ।

क्यान्टिनबाट आम्दानी बढ्यो

अस्पतालले आन्तरिक व्यवस्थापन सुधारसँगै क्यान्टिनलाई पनि व्यवस्थित गरेको जनाएको छ। डा. गौतमका अनुसार नयाँ ठेक्का प्रक्रियाबाट सञ्चालनमा ल्याइएको क्यान्टिनबाट अस्पतालको वार्षिक आम्दानी उल्लेख्य बढ्ने भएको छ।

‘पहिले क्यान्टिनबाट वार्षिक करिब १८ लाख रुपैयाँ आम्दानी हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले नयाँ टेन्डरमार्फत सञ्चालनमा आएपछि वार्षिक एक करोड ११ लाख रुपैयाँ आम्दानी हुने गरी सम्झौता भएको छ।’

अस्पतालले सेवा विस्तारसँगै आन्तरिक व्यवस्थापन, आम्दानीका स्रोतको प्रभावकारी उपयोग र सेवाको गुणस्तर सुधारलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।‘बिरामीको चाप र उपचारको आवश्यकतालाई ध्यानमा राखेर सेवा विस्तार र व्यवस्थापन सुधारका काम सँगसँगै अघि बढाउने योजना छ,’ डा. गौतमले भन्नुभयो।

सम्बन्धित शिर्षक :