स्वास्थ्यसमाचार/ स्वास्थ्य संस्थासम्म सहज पहुँच पुग्न नसकेका नागरिकलाई लक्षित गर्दै चन्द्रकोट गाउँपालिकाले दुर्गम बस्तीमा पुगेर निःशुल्क सूक्ष्म स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को नियमित बजेट तथा कार्यक्रमअन्तर्गत सञ्चालित अभियानका क्रममा मंगलबार वडा नम्बर ८ तुराङको कालिका गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको हो।
शिविरमा शान्तिपुर आँखा उपचार केन्द्रबाट आँखा जाँच, नागरिक आरोग्य केन्द्र शान्तिपुरबाट आयुर्वेदसम्बन्धी परामर्श तथा सामी कार्यक्रमका सहजकर्तामार्फत मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको थियो।
शिविरबाट २८ जनाले आयुर्वेद सेवा, ५० जनाले आँखा उपचार तथा ८० जनाले स्वास्थ्य परामर्श सेवा लिएका छन्।
गाउँपालिकाले स्वास्थ्य संस्थाबाट टाढा रहेका, भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रका साथै आदिवासी जनजाति र विपन्न नागरिकको बसोबास रहेका बस्ती छनोट गरी शिविर सञ्चालन गर्दै आएको जनाएको छ।
गाउँमै स्वास्थ्यकर्मी र चिकित्सक पुगेर सेवा दिन थालेपछि नियमित स्वास्थ्य जाँचबाट वञ्चित नागरिकलाई सहज भएको स्थानीयको भनाइ छ।
यसअघि असोज १५ गते वडा नम्बर ३ को गैडुङ, १६ गते वडा नम्बर ४ को डाँडाबन, १९ गते वडा नम्बर ५ को मगरगाउँ र २० गते वडा नम्बर ७ को बाँसदीमा २२ गते विशुखर्कको धौलादिप र २३ गते दिव्रुंग दहमा शिविर सञ्चालन गरिने छ।
ती शिविरमा पनि स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको र अब सुरु हुनेमा पनि सहभागीता रहने गाउँपालिकाले जनाएको छ।
स्वास्थ्य संस्थासम्म पुग्न भौगोलिक दूरी, आर्थिक अवस्था तथा स्वास्थ्यसम्बन्धी चेतनाको कमीका कारण कतिपय नागरिक रोग लुकाएर घरमै बस्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।
विशेषगरी वृद्धवृद्धा, अशक्त तथा आर्थिक रूपमा विपन्न नागरिकलाई गाउँमै पुगेर दिइएको स्वास्थ्य सेवाले राहत पुगेको उनीहरूको भनाइ छ।
‘गाउँमै डाक्टर आएर स्वास्थ्य जाँच गरिदिँदा हामीजस्ता नागरिकलाई निकै सहज भएको छ,’ स्थानीय केशवराज सापकोटाले भने, ‘स्वास्थ्य संस्थासम्म पुग्न नसक्नेका लागि यस्तो शिविर उपयोगी भएको छ।’

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्माका अनुसार असोज २२ गते दिव्रुङ दह, २३ गते विशुखर्कको धौलादीप र २४ गते हरेवाको खादिकोटमा पनि निःशुल्क सूक्ष्म स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
चन्द्रकोट आधारभूत अस्पतालका मेडिकल अफिसर डा. रोशनकुमार यादव, डा. अरुण गैरे, स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्मा लगायत स्वास्थ्यकर्मीको उपस्थितिमा शिविर सञ्चालन भइरहेको छ।
शिविरमा सुगर, प्रेसरलगायत नसर्ने रोगसँग सम्बन्धित समस्या भएका बिरामीको संख्या बढी देखिएको डा. गैरेले बताए। ‘नसर्ने रोगसँग सम्बन्धित समस्या लिएर आउनेको संख्या बढी छ। केही मात्रामा भाइरलजन्य समस्या पनि देखिएको छ,’ उनले भने।
गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले दुर्गम बस्तीलाई प्राथमिकता दिएर शिविर सञ्चालन गरिएको बताए।
खत्री क्षेत्रीलेगाउँपालिकाको स्वास्थ्य सेवाबाट कोही पनि नागरिक पहुँचबाहिर नरहून् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
गाउँपालिकाले स्वास्थ्य संस्थाको नियमित सेवासँगै बस्तीमै पुगेर स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सेवाबारे जानकारी दिने कार्यलाई निरन्तरता दिने जनाएको छ।



प्रतिकया दिनुहोस्