कपिलवस्तु आयुर्वेद केन्द्रलाई विशिष्टीकृत चिकित्सालय बनाइने

स्वास्थ्यसमाचार/कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रलाई पञ्चकर्म, योग, ध्यान तथा पुनःस्थापना सेवासहितको विशिष्टीकृत आयुर्वेद चिकित्सालयका रूपमा विकास गरिने भएको छ।

केन्द्रलाई बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वसँग जोड्दै स्वास्थ्य तथा आध्यात्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको हो।

लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई आयुर्वेद स्वास्थ्य सेवासँग जोडेर स्वदेशी तथा विदेशी पर्यटक, तीर्थयात्री र सेवाग्राहीलाई एकीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ।

प्रस्तावित केन्द्रमा आयुर्वेदको मौलिक उपचार पद्धतिअन्तर्गत पञ्चकर्म सेवा विस्तार गरिनेछ। यस्तै योग तथा ध्यान, जीवनशैली व्यवस्थापन र पुनःस्थापना सेवालाई प्राथमिकताका साथ सञ्चालन गर्ने योजना छ। यसबाट लुम्बिनी भ्रमणमा आउने पर्यटक तथा तीर्थयात्रीलाई स्वास्थ्य सेवासमेत उपलब्ध गराउन सकिने अपेक्षा गरिएको छ।

हाल कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको नवनिर्माणाधीन भवन धोबहनीमा रहेको छ। केन्द्रबाट नियमित बहिरंग सेवा, पञ्चकर्म, स्वर्णप्राशन तथा प्रवर्द्धनात्मक स्वास्थ्य सेवाहरू सञ्चालन भइरहेका छन्।

केन्द्रलाई विशिष्टीकृत सेवासहित विकास गर्न सके लुम्बिनी क्षेत्रको धार्मिक पहिचान, आयुर्वेदको मौलिक उपचार पद्धति र स्वास्थ्य पर्यटनलाई एउटै गन्तव्यमा जोड्न सकिने अधिकारीहरूको भनाइ छ।

कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. नलिन नाथ तिवारीले आयुर्वेद उपचारलाई लुम्बिनीको धार्मिक तथा पर्यटकीय गतिविधिसँग जोडेर सेवा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो।

“पञ्चकर्म, योग, ध्यान र पुनःस्थापना सेवासहितको केन्द्र बनेमा स्थानीयसँगै बाह्य पर्यटक र तीर्थयात्रीले पनि लाभ लिन सक्नेछन्,” उहाँले भन्नुभयो।

सम्बन्धित शिर्षक :