स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र दिगो बनाउने उद्देश्यसहित वडा नं. ७ र ८ मा घरदैलो अभियान सुरु गरेको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) नेपालको सहयोग तथा फोहोर सरसफाइ सहकारी संस्थाको आयोजनामा सुरु गरिएको अभियानमार्फत घरमै तीन तहमा फोहोर छुट्याउने अभ्यासलाई प्रोत्साहन गरिएको हो ।
अभियानअन्तर्गत कुहिने, नकुहिने र पुनः प्रयोग गर्न सकिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने विषयमा घरघरमा पुगेर जनचेतना फैलाइँदैछ । कार्यक्रममा प्लास्टिकका झोला गल्न करिब ३० वर्ष, पानीको बोतल गल्न ५०० वर्ष तथा सेनेटरी प्याड गल्न ६०० वर्षसम्म लाग्ने भएकाले फोहोरको सही व्यवस्थापन अपरिहार्य रहेको जानकारी दिइएको थियो ।
बुटवल–७ मा रहेको फोहोर प्रशोधन केन्द्रमा जैविक फोहोरबाट मल उत्पादन गर्ने तथा प्लास्टिकजन्य फोहोरबाट इँटा उत्पादन गर्ने प्रविधि सञ्चालनमा रहेको जनाइएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे ले फोहोर व्यवस्थापन केवल सरसफाइको विषय मात्र नभई वातावरण संरक्षण, स्वास्थ्य सुरक्षा र आर्थिक उत्पादनसँग जोडिएको विषय भएको बताउनुभयो । उहाँले घरबाटै फोहोर छुट्याउने बानी विकास गर्न सके फोहोरलाई स्रोतमा रूपान्तरण गर्न सकिने उल्लेख गर्नुभयो ।
नगर प्रमुख पाण्डेले “फोहोरलाई सही तरिकाले व्यवस्थापन गर्न सकियो भने यही फोहोरबाट मल, इँटा तथा अन्य उपयोगी सामग्री उत्पादन गर्न सकिन्छ । अब जथाभावी फोहोर फाल्ने होइन, घरबाटै तीन तहमा फोहोर छुट्याएर फोहोरलाई मोहर बनाउने अभियानमा सबै नागरिक जुट्नुपर्छ,” भन्नुभयो ।
उहाँले बुटवललाई सफा, हरित र व्यवस्थित सहर बनाउने अभियानमा नागरिकको सहभागिता सबैभन्दा महत्वपूर्ण रहने समेत बताउनुभयो ।

प्रतिकया दिनुहोस्