स्वास्थ्यसमाचार/गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य आमा समूहहरूले स्वास्थ्य सचेतनासँगै समुदायमा पोषण सुधारका लागि उदाहरणीय कार्य थालेका छन् ।
गाउँपालिकाको वडा नं. ३ अन्तर्गत कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेवि का विष्णुमाया खासु मातहत क्रियाशील देविस्थान स्वास्थ्य आमा समूहले आफ्नो कार्यक्षेत्रभित्रका महिलालाई गर्भावस्था तथा सुत्केरी अवस्थामा पोषणयुक्त कोसेली उपहार दिने अभियान सञ्चालन गरेको हो ।
विगत केही वर्षदेखि निरन्तर सञ्चालित यस अभियान अन्तर्गत समूहले गर्भावस्थामा अन्न तथा कन्दमूल, गेडागुडी, हरियो सागपात, फलफूल र पशुजन्य आहारले सजिएको ‘पोषिलो नाङ्लो’ घरमै पुगेर प्रदान गर्ने गरेको छ ।
त्यस्तै, महिला सुत्केरी भएपछि शरीरलाई आवश्यक ऊर्जा र स्वास्थ्य रक्षाका लागि एक क्यारेट अण्डा, खाने तेल, चामल, ज्वानो लगायतका खाद्य सामग्री कोसेलीस्वरूप प्रदान गर्ने गरिएको छ ।
गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालका अनुसार आमा समूहको यस सक्रियताले ग्रामीण क्षेत्रमा ‘सुनौलो एक हजार दिन’ का आमा तथा बच्चाको पोषण स्थितिमा उल्लेख्य सुधार आएको छ ।
यस कार्यले समुदायमा पोषण सम्बन्धी सचेतना वृद्धि गर्न समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्वास्थ्य अधिकृत अर्यालले जानकारी दिनुभयो ।
विपत्मा पनि सहकार्य
गुल्मीदरबार गाउँपालिकामा हाल ८३ वटा स्वास्थ्य आमा समूहहरू क्रियाशील रहेका छन् । प्रायः सबैजसो समूहले स्वास्थ्य सचेतनाको अतिरिक्त विभिन्न सामाजिक तथा परोपकारी कार्य गर्दै आएका छन् ।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण पुगेको प्राकृतिक विपत्का समयमा समेत यहाँका धेरै स्वास्थ्य आमा समूहहरूले प्रभावित क्षेत्रका लागि स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग उपलब्ध गराएर मानवीय कार्यमा हातेमालो गरेका थिए ।
व्यवहार परिवर्तनले रोग न्यूनीकरण
गाउँपालिकाभित्रका सबै स्वास्थ्य आमा समूहहरूको मासिक बैठक प्रत्येक महिनाको १५ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने गर्दछ । उक्त बैठकहरूमा स्वास्थ्य सचेतनाका विविध आयाममाथि प्रभावकारी छलफल हुने गरेको छ ।
बैठककै माध्यमबाट महिलाहरूले आफ्नो घरपरिवार र समुदायमा स्वास्थ्य अनुकूल सामाजिक व्यवहार परिवर्तनका सकारात्मक क्रियाकलाप अघि बढाएका छन् । जसका कारण गाउँपालिका क्षेत्रभित्र धेरै सरुवा रोगहरू न्यूनीकरण हुँदै गएको स्वास्थ्य अधिकृत अर्यालले बताउनुभयो ।
आमा समूहको यो रैथाने र व्यावहारिक प्रयास स्वास्थ्य क्षेत्रमा जनसहभागिताको उत्कृष्ट नमूना बनेको छ ।



प्रतिकया दिनुहोस्