स्वास्थ्यसमाचार/ बुटवल उपमहानगर पालिकामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सञ्चालन गरिएको एचपीभी (HPV) खोप अभियानमा उत्साहजनक प्रगति देखिएको छ। स्वास्थ्य शाखाका अनुसार कुल २ हजार २५० जनालाई खोप लगाउने लक्ष्य राखिएको अभियानमा दुई दिनमै १ हजार ४२८ जनाले खोप लगाइसकेका छन्।
उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयका अनुसार माघ २५ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन भइरहेको यस अभियानमा विद्यालय बाहिर रहेका तथा समुदायमा रहेका लक्षित किशोरीलाई प्राथमिकताका साथ खोप लगाइएको हो। उहाँले अभियानको पहिलो दुई दिनमै १ हजार ४२८ जनाले खोप लगाएर लक्ष्यतर्फ उल्लेखनीय प्रगति हासिल भएको बताउनुभयो।
स्वास्थ्य शाखाकी जनस्वास्थ्य अधिकृत कल्पना भुसालका अनुसार गत वर्ष बुटवल उपमहानगरपालिकामा करिब २० हजार किशोरीलाई एचपीभी खोप लगाइएको थियो। यस वर्ष पनि विद्यालय बाहिर रहेका, विभिन्न कारणले नियमित खोपबाट छुटेका तथा समुदायमै रहेका किशोरीलाई समेटेर अभियान सञ्चालन गरिएको हो। अभिभावक, विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय जनप्रतिनिधिको समन्वयमा अभियान प्रभावकारी बनेको उहाँले जानकारी दिनुभयो।
स्वास्थ्य शाखाले एचपीभी खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि अत्यन्त प्रभावकारी भएको बताउँदै लक्षित उमेर समूहका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ। साथै, समुदायस्तरमा सचेतना अभिवृद्धि गर्दै खोप कार्यक्रमलाई नियमित खोप सेवाअन्तर्गत निरन्तर सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ।


प्रतिकया दिनुहोस्