एच.पि.भी. खोप अभियान २०८३ बारे जानौं र सफल पारौं

नियमित खोप कार्यक्रम अन्तर्गत नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप पहिलो चरणमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा असोज महिनाको अन्त्यसम्म सञ्चालन गर्न लागेको छ।

सोही बमोजिम रुपन्देहीमा पहिलो चरण असोज ५ देखि ८ गतेसम्म र दोस्रो चरण असोज १२ देखि १५ गतेसम्म सञ्चालन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरूबाट कक्षा ६ मा अध्ययनरत छात्रा र विभिन्न कारणले विद्यालय बाहिर रहेका १० वर्षका किशोरीहरूलाई एच.पि.भी. खोप दिइँदैछ।

विद्यालयलाई खोप केन्द्रको रूपमा स्थापना गरी निःशुल्क रूपमा राष्ट्रिय खोप अभियान सञ्चालन हुँदैछ। महिलाहरूमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रूपमा रहेका बालिकालाई पूर्ण रूपमा बचाउनको लागि हरेक बाबाआमा, दाजुभाइ, दिदीबहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ। भनिन्छ नि, “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस”, ठीक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वका साथ हेरिएको छ।

त्यस कारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरूबाट सञ्चालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संवेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रूपमा हेरिएको छ। त्यसैले एच.पि.भी. खोप अभियान २०८३ मा सम्पूर्ण सरोकारवालाहरू सहभागी भई सफल बनाउनु हामी सबैको दायित्व र कर्तव्य हुनेछ।

एच.पि.भी. एक प्रकारको भाइरस हो। यसलाई ह्युमन प्यापिलोमा भाइरस (Human Papillomavirus – HPV) भनिन्छ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो। यो भाइरसका २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन्। तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छन्।

यसमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन् भन्ने कुरा विभिन्न अध्ययनहरूले देखाएको छ। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाइन्छ। पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाइरसको संक्रमणबाट हुन्छ। यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ। विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ।

एच.पि.भी. खोपको महत्व:

“खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्दछ।” खोप ठूलो जनसमुहलाई सुरक्षित गर्ने साधन हो। अहिले एच.पि.भी. खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरूलाई दिंदै आइरहेको छ। त्यसैले यसको प्रभावकारीता शतप्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाएको छ।

कक्षा ६ मा अध्ययनरत सबै छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीहरूलाई अनिवार्य रूपमा खोप लगाउन समावेश गराऔं। पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्‍याउन नेपाल सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाका गन्तव्य निर्धारण गरेको छ:

१. १०देखि १४ वर्ष उमेरभित्रका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने।

२. ३० देखि ४९ वर्ष उमेरका महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) गर्ने।

३. पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरूको उपचार गर्ने।

एच.पि.भी. खोप अभियान २०८३ पहिलो चरणमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा एकैसाथ सञ्चालनमा रहने भएतापनि विभिन्न स्थानीय तह अनुसार मिति र समय फरक-फरक हुने भएकाले आ-आफ्नो पायक पर्ने टोलका विद्यालयमा कहिले चल्दैछ भनेर स्वास्थ्यकर्मीहरू, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय नर्स, विद्यालयका शिक्षक, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूलाई सोधेर जानकारी लिऔं तर अभियानमा कोही नछुटौं।

रुपन्देहीमा एच.पि.भी. खोप अभियान विगत तीन वर्षदेखि सञ्चालन हुँदै आइरहेको छ।

रुपन्देहीमा २०८१ सालमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई दिइएको एच.पि.भी. खोप ५८ हजार ९ सय किशोरीहरूले पाएका थिए। २०८२ सालमा नियमित खोप अन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेर समूहका गरी १२ हजार ४१९ जना किशोरीहरूलाई एच.पि.भी. खोप दिइएको थियो।

सोही अनुरूप यस वर्ष २०८३ मा पनि कक्षा ६ मा अध्ययनरत सबै छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेर समूहका गरी १२ हजार ९० जना किशोरीहरूलाई एच.पि.भी. खोप दिन लागिएको स्वास्थ्य कार्यालय रुपन्देहीले बताएको छ। यो खोप एक मात्रा लगाए पुग्दछ। किशोरीहरू महिनावारी भएको बेला पनि यो खोप लगाउन मिल्दछ। यसले नियमित हुने महिनावारीलाई कुनै असर गर्दैन।

खोप लगाउँदैमा महिनावारी छिटो सुरु हुने वा ढिला हुने केही हुँदैन। त्यसैले एच.पि.भी. खोप अभियान चलेको बेलामा केही कारण देखाएर कोही नछुटौं, कोही नदोहोरिऔं। यसरी नेपाल सरकारबाट अभियानको साथै नियमित रूपमा निःशुल्क वितरण गरिएका सबै महत्वपूर्ण खोपहरूलाई प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरू, राज्यका तीनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रशासन लगायत सबैको आ-आफ्नो तहबाट सहयोग र सहकार्य रहेमा मात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ। त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ-आफ्ना बालिकालाई घातक रोगबाट बचाऔं।

भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी

सम्बन्धित शिर्षक :