मानसिक स्वास्थ्य लुकाउने होइन, खुलाउने संस्कार बसालौँ: नीतिमा प्रतिबद्धता, व्यवहारमा शून्यता कहिलेसम्म?

आज विश्व मानसिक स्वास्थ्य दिवस। यो दिन केवल शुभकामना आदानप्रदान गर्ने, पोस्टर बनाउने र सामाजिक सञ्जालमा सचेतनामूलक सन्देश राख्ने दिन मात्र होइन।

यो हाम्रो समाज, स्वास्थ्य प्रणाली र राज्यको जिम्मेवारीलाई गम्भीरतापूर्वक समीक्षा गर्ने अवसर पनि हो। मानसिक स्वास्थ्यका विषयमा हामीले कति बोल्यौँ भन्नेभन्दा पनि मानसिक समस्याबाट प्रभावित व्यक्तिले कति सहज रूपमा उपचार, परामर्श, सहयोग र सम्मान पाउन सके भन्ने प्रश्न महत्त्वपूर्ण छ।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै र मानसिक स्वास्थ्य संस्थाको व्यवस्थापनमा संलग्न रहँदै मैले नजिकबाट देखेको एउटा तीतो यथार्थ छ-धेरै मानिस मानसिक समस्याबाट पीडित छन्, तर आफ्नो समस्या खुलेर भन्न सक्दैनन्।

कतिपयले परिवारसँग लुकाउँछन्, कतिपयले साथीभाइसँग र कतिपयले उपचारका लागि अस्पताल पुग्दासमेत आफूलाई चिनेको व्यक्तिले देख्ला कि भन्ने डर पाल्छन्। ‘समाजले के भन्ला?’, ‘मलाई पागल भन्छन् कि?’, ‘अरूले थाहा पाए मेरो प्रतिष्ठा के होला?’ भन्ने डरले उनीहरू उपचारबाट टाढा बसिरहेका छन्।

म स्वयं स्वास्थ्यकर्मीका रूपमा कार्यरत रहँदा आफ्नै परिचित व्यक्तिहरू उपचार का लागि संस्थामा आउँदा भेट हुन नपरे हुन्थ्यो भन्ने सोच राखेको, भेट हुने सम्भावनाबाट असहज भएको र आफ्नो समस्या लुकाउन खोजेको देखेको छु।

यो कुनै एक व्यक्तिको कमजोरी होइन; हाम्रो सामाजिक सोच, मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभाव र गोपनीयताप्रतिको अविश्वाससँग जोडिएको समस्या हो। जब मानिस रोगभन्दा बढी समाजको प्रतिक्रियासँग डराउँछ, तब उपचारमा ढिलाइ हुन्छ र समस्या जटिल बन्न सक्छ।

मानसिक स्वास्थ्य समस्या लाजको विषय होइन, उपचार र सहयोगको विषय हो। जसरी उच्च रक्तचाप, मधुमेह वा अन्य शारीरिक समस्याका लागि चिकित्सकको सहयोग लिइन्छ, त्यसरी नै मानसिक स्वास्थ्यसम्बन्धी समस्या हुँदा पनि विशेषज्ञसँग परामर्श लिनु स्वाभाविक कुरा हो।

मानसिक रोग भएका सबै व्यक्तिलाई एउटै दृष्टिले हेर्ने, अपमान गर्ने वा सामाजिक रूपमा अलग्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ।

सरकारले मानसिक स्वास्थ्यलाई नीतिगत रूपमा प्राथमिकता दिनु सकारात्मक कुरा हो। तर नीतिमा उल्लेख हुनु र नागरिकले व्यवहारमा सेवा पाउनु फरक विषय हुन्। स्थानीय तहमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम, जनचेतना, परामर्श सेवा, उपचारमा पहुँच र संस्थागत सहकार्यलाई प्रभावकारी बनाउन अझै धेरै काम गर्न आवश्यक छ।

मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरूको दर्ता, नवीकरण, नियमन, प्राविधिक सहयोग तथा कार्यक्रम सञ्चालनका क्रममा देखिने प्रशासनिक कठिनाइलाई पनि गम्भीरतापूर्वक सम्बोधन गरिनुपर्छ। आवश्यक मापदण्ड र कानुनी प्रक्रिया पूरा गर्ने संस्थालाई अनावश्यक झन्झटमा अल्झाउने होइन, गुणस्तरीय सेवा दिन प्रोत्साहित गर्ने वातावरण बनाउनुपर्छ।

संघीय सरकारले प्रदेश सरकार, स्थानीय तह, स्वास्थ्य संस्था, मानसिक स्वास्थ्य विशेषज्ञ र सामाजिक संस्थासँग समन्वय गरेर स्पष्ट कार्ययोजना बनाउनुपर्छ। स्थानीय तहमा मानसिक स्वास्थ्य परामर्श सेवा विस्तार, विद्यालय तथा समुदायमा सचेतना कार्यक्रम, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, उपचार सेवामा पहुँच र गोपनीयताको सुनिश्चितता प्राथमिकतामा पर्नुपर्छ।

मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाहरूलाई पनि सरकारी कार्यक्रमसँग जोडेर अनुगमन, सहकार्य र सेवा विस्तारको व्यावहारिक ढाँचा तयार गरिनुपर्छ। बजेट, जनशक्ति र कार्यान्वयनको जिम्मेवारी स्पष्ट नभएसम्म नीति कागजमै सीमित हुने जोखिम रहन्छ।

प्रत्येक घरमा मानसिक स्वास्थ्यबारे संवाद गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो। समस्या देखिएपछि लुकाउने होइन, समयमै पहिचान गर्ने; आलोचना गर्ने होइन, साथ दिने; दोष लगाउने होइन, उपचारका लागि प्रेरित गर्ने संस्कार विकास गर्नुपर्छ। परिवार, विद्यालय, सञ्चारमाध्यम, स्वास्थ्यकर्मी, स्थानीय सरकार र नागरिक समाज सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण छ।

अन्त्यमा, मानसिक स्वास्थ्य दिवसको सार केवल ‘मानसिक स्वास्थ्य महत्त्वपूर्ण छ’ भन्नु होइन, त्यसलाई व्यवहारमा उतार्नु हो। सरकारले नीतिलाई कार्यान्वयनमा बदलोस्, स्थानीय तहले नागरिकसम्म सेवा पुर्‍याओस्, संस्थाहरूलाई सहकार्यको अवसर दिइयोस् र समाजले मानसिक स्वास्थ्य समस्यालाई कलंक होइन, स्वास्थ्यकै एउटा पक्षका रूपमा स्वीकार गरोस्।

मानिसले आफ्नो पीडा खुलेर भन्न सक्ने, उपचारका लागि नलजाई अस्पताल जान सक्ने र समाजले सम्मानपूर्वक साथ दिने वातावरण निर्माण गर्नु नै आजको आवश्यकता हो।

मानसिक स्वास्थ्य लुकाएर होइन, खुलेर बोलौँ। सहयोग माग्न हिचकिचाऔँ होइन, सहयोगको हात बढाऔँ। नीति कागजमा मात्र होइन, नागरिकको जीवनमा देखियोस्।

किरण ढकाल स्वास्थ्यकर्मी तथा मानसिक स्वास्थ्य संस्थाको स्वास्थ्य व्यवस्थापनमा संलग्न

सम्बन्धित शिर्षक :