तनाव र डिप्रेसनको बढ्दो चुनौती:मनलाई बुझ्ने बौद्ध मनोविज्ञान

आजको मानिससँग सूचना छ, प्रविधि छ, सुविधाका अनेक साधन छन् र संसारको अर्को कुनामा भइरहेको घटनासमेत क्षणभरमै थाहा पाउने क्षमता छ । तर यति धेरै सुविधा र सम्पर्कबीच पनि मानिसको मन भने बेचैन छ ।

कसैलाई भविष्यको चिन्ताले सताएको छ, कसैलाई विगतका असफलता र पश्चात्तापले । कोही आर्थिक दबाबमा छन्, कोही पारिवारिक सम्बन्धको तनावमा। कतिपय मानिस बाहिरबाट सामान्य र सफल देखिए पनि भित्रभित्रै निराशा, एक्लोपन र मानसिक थकानसँग जुधिरहेका छन् ।

सामाजिक सञ्जालमा अरूको सफलता देखेर आफूलाई कमजोर ठान्ने, काममा गरेको प्रयासको अपेक्षित परिणाम नआउँदा निराश हुने, अरूको आलोचनालाई व्यक्तिगत अपमानका रूपमा लिने र भविष्यमा हुन सक्ने घटनाबारे निरन्तर चिन्ता गर्ने प्रवृत्ति आधुनिक जीवनका परिचित दृश्य बनेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गर्दै त्यसमा रमाउने जमात पनि उत्तिकै छ ।

भागदौड, प्रतिस्पर्धा, असुरक्षा र अपेक्षाको बोझले थिचिएको आधुनिक जीवनमा मानसिक शान्ति खोज्नेहरूको संख्या बढ्दो छ ।

बौद्ध मनोविज्ञानले मनका प्रतिक्रिया बुझ्न, तनावको चक्र कमजोर बनाउन र जीवनप्रति सन्तुलित दृष्टिकोण विकास गर्न सहयोग गर्न सक्छ । तर डिप्रेसनलगायत मानसिक स्वास्थ्य समस्यामा ध्यान मात्रै पर्याप्त उपचार होइन ।

मानिसले आफ्नो जीवन सहज बनाउन अनेक उपाय अपनाइरहेको छ । तर मनलाई कसरी बुझ्ने, आफ्ना भावना र प्रतिक्रियालाई कसरी सम्हाल्ने तथा कठिन परिस्थितिमा मानसिक सन्तुलन कसरी कायम राख्ने भन्ने प्रश्नको उत्तर भने सबैले पाउन सकेका छैनन् ।

यही सन्दर्भमा करिब २५ सय वर्षभन्दा पुरानो बौद्ध ज्ञानपरम्पराले विकसित गरेको चित्तको विश्लेषण, सजगता, ध्यान र प्रज्ञासम्बन्धी शिक्षा आज पनि सान्दर्भिक देखिन्छ । त्यो उपाय पत्ता लगाने बुद्ध यहीँ भूमिमा अर्थात् यहीँ क्षेत्रमा, रुपन्देहीको लुम्बिनीमा जन्मिएका थिए ।

बौद्ध मनोविज्ञानले मानिसलाई केवल दुःखबाट भाग्न होइन, दुःख कसरी उत्पन्न हुन्छ, त्यसलाई कुन मानसिक प्रवृत्तिले बढाउँछ र त्यसको प्रभाव कसरी कम गर्न सकिन्छ भन्ने कुरा बुझ्न प्रेरित गर्छ । बौद्ध मनोविज्ञानले परिस्थतिका सबै पक्ष आफ्नो नियन्त्रणमा नहुन सक्छन्, तर परिस्थिति अनुभव गर्ने र त्यसप्रति प्रतिक्रिया दिने तरिका बुझ्न तथा बदल्न भने अभ्यास गर्न सकिन्छ भन्ने मुख्य सन्देश दिन्छ ।

मनको अशान्ति कहाँबाट सुरु हुन्छ ?

बौद्ध मनोविज्ञानको आधारभूत मान्यताअनुसार मानिसको मानसिक अनुभव स्थिर र अपरिवर्तनीय हुँदैन । विचार, भावना, अनुभूति, इच्छा र प्रतिक्रिया विभिन्न कारण तथा परिस्थितिका आधारमा उत्पन्न हुन्छन् र परिवर्तन पनि हुन्छन् । कुनै अप्रिय घटना हुँदा त्यसबाट उत्पन्न हुने पीडा एउटा पक्ष हो ।

तर त्यस घटनालाई मनले कसरी व्याख्या गर्छ, त्यसप्रति कस्तो प्रतिक्रिया दिन्छ र त्यसलाई कति समयसम्म मनमा दोहो¥याइरहन्छ भन्ने कुराले थप मानसिक पीडा उत्पन्न गर्न सक्छ ।

मानौँ, कार्यालयमा कुनै कर्मचारीको कामको आलोचना भयो । आलोचना सुन्दा उसलाई दुःख लाग्न सक्छ । तर त्यसपछि ‘म केही गर्न सक्दिनँ’, ‘सबैले मलाई अयोग्य ठान्छन्’, ‘मेरो भविष्य बिग्रियो’ भन्ने विचारहरू दोहोरिन थाले भने प्रारम्भिक घटनाभन्दा त्यसको मानसिक विस्तारले बढी तनाव सिर्जना गर्न सक्छ ।

बौद्ध परम्परामा मानसिक विचार र अवधारणाको यस्तो विस्तारलाई बुझाउन ‘पपञ्च’ शब्द प्रयोग गरिन्छ । पपञ्चलाई सामान्य अर्थमा धेरै सोच्नु मात्रै मान्न मिल्दैन । यसले अनुभवसँग जोडिएर विकसित हुने आग्रह, तुलना, मानसिक जटिलता र द्वन्द्वको व्यापक प्रक्रियालाई जनाउँछ ।

यसको दैनिक जीवनसँगको सम्बन्ध भने स्पष्ट छ । कुनै व्यक्तिले अरूको एउटा टिप्पणी सुन्छ। त्यसलाई अपमानका रूपमा लिन्छ । त्यसपछि आफूलाई प्रमाणित गर्नुपर्ने, आलोचकलाई गलत देखाउनुपर्ने वा आफ्नो प्रतिष्ठा जोगाउनुपर्ने दबाब अनुभव गर्छ । घटना सकिए पनि मनमा विवाद चलिरहन्छ ।

यस्ता अनुभवमा ध्यान दिन सकियो भने तनाव केवल बाह्य घटनाबाट मात्र उत्पन्न हुँदैन, घटनाप्रति विकसित हुने मानसिक प्रतिक्रियाले पनि त्यसलाई बढाउन सक्छ भन्ने बुझ्न सकिन्छ ।

तर यसबाट सबै मानसिक समस्या व्यक्तिको सोच्ने तरिकाकै कारण उत्पन्न हुन्छन् भन्ने निष्कर्ष निकाल्नु हुँदैन । आर्थिक कठिनाइ, हिंसा, असुरक्षित वातावरण, शारीरिक रोग, जैविक कारण, सामाजिक विभेद र अन्य परिस्थितिले पनि मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छन् ।

बौद्ध मनोविज्ञानको उपयोगिता यथार्थका यी पक्षलाई नकार्नुमा होइन, बदल्न सकिने मानसिक प्रतिक्रियालाई चिन्न र उपयुक्त कदम चाल्न सहयोग गर्नुमा छ ।

चार आर्यसत्य: दुःख बुझ्ने र रूपान्तरण गर्ने आधार

बौद्ध मनोविज्ञानको मूल आधार चार आर्यसत्य हो। यसले दुःखलाई स्वीकार गर्ने, त्यसका कारण बुझ्ने, दुःखबाट मुक्तिको सम्भावना पहिचान गर्ने र त्यसका लागि अभ्यास गर्ने मार्ग प्रस्तुत गर्छ ।

पहिलो आर्यसत्य दुःखको सत्य हो। जीवनमा रोग, बुढ्यौली, वियोग, असफलता, अनिश्चितता र अपेक्षाविपरीतका घटनाहरू आउँछन् । मानिसले चाहेका सबै कुरा प्राप्त गर्न सक्दैन र प्राप्त गरेका सबै कुरा सधैँ कायम राख्न पनि सक्दैन ।

दोस्रो आर्यसत्य दुःखसमुदय हो। बौद्ध शिक्षाले तृष्णा अर्थात् लालसा र आसक्तिलाई दुःखको प्रमुख कारणका रूपमा व्याख्या गर्छ । आफूले चाहेको कुरा जसरी पनि प्राप्त गर्नैपर्ने, मन नपरेको परिस्थिति तत्काल हट्नैपर्ने वा आफ्नो प्रतिष्ठा सधैँ सुरक्षित रहनैपर्ने आग्रहले मानसिक तनाव बढाउन सक्छ ।

तेस्रो आर्यसत्य दुःखनिरोध हो । मानसिक दुःखलाई बढाउने तृष्णा, आसक्ति र अज्ञानको निरोध सम्भव छ भन्ने यसको आशय हो। बौद्ध परम्परामा यसको परम अर्थ निर्वाणसँग सम्बन्धित छ । यसलाई सामान्य तनाव घटाउने अभ्याससँग मात्र समान मान्न मिल्दैन ।

चौथो आर्यसत्य दुःखनिरोधगामिनी प्रतिपदा हो । यसले सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वाचा, सम्यक् कर्मान्त, सम्यक् आजीव, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधिसहितको आर्य अष्टाङ्गिक मार्ग प्रस्तुत गर्छ । यी शिक्षालाई दैनिक जीवनमा लागू गर्दा मानिसले एउटा महत्त्वपूर्ण भिन्नता बुझ्न सक्छ–घटना र घटनाबारे आफ्नो मनले बनाएको कथन सधैँ एउटै कुरा हुँदैनन् ।

परीक्षामा असफल हुनु एउटा घटना हो । ‘अब मेरो जीवनमा कुनै सम्भावना छैन’ भन्ने निष्कर्ष त्यस घटनाप्रतिको मानसिक व्याख्या हो । असफलताबाट सिक्ने, कमजोरी सुधार्ने र अर्को प्रयास गर्ने सम्भावना बाँकी रहन्छ ।

यसको अर्थ नकारात्मक सोचलाई जबर्जस्ती सकारात्मक सोचले विस्थापित गर्नु होइन । बरु तथ्य के हो, आफ्नो अनुमान के हो र अहिले गर्न सकिने उपयोगी काम के हो भन्ने कुरा स्पष्ट पार्नु हो । यही विवेकपूर्ण दृष्टिकोणले मानसिक प्रतिक्रियालाई केही सहज बनाउन सक्छ ।

तृष्णा, तुलना र अपेक्षाको जाल

आधुनिक समाजमा तनाव बढाउने एउटा महत्त्वपूर्ण पक्ष निरन्तर तुलना पनि हो । सामाजिक सञ्जालमा अरूको आर्थिक अवस्था, घुमफिर, उपलब्धि र व्यक्तिगत जीवन देख्दा मानिसले आफ्नो जीवनलाई त्यससँग तुलना गर्न सक्छ ।

अरूको सफलता देखेर प्रेरणा लिनु स्वाभाविक हो। समस्या त्यतिबेला सुरु हुन सक्छ, जब अरूको उपलब्धिलाई आफ्नो मूल्यांकनको एक मात्र आधार बनाइन्छ ।

‘म अरूभन्दा अगाडि हुनुपर्छ’, ‘सबैले मलाई प्रशंसा गर्नुपर्छ’, ‘मैले कहिल्यै गल्ती गर्नु हुँदैन’ जस्ता कठोर अपेक्षाले असन्तुष्टि बढाउन सक्छन् । बौद्ध मनोविज्ञानमा ‘मान’ भन्नाले आफूलाई अरूसँग तुलना गर्दै श्रेष्ठ, समान वा हीन ठान्ने प्रवृत्तिसमेत बुझिन्छ । यो केवल घमण्डको विषय होइन।

आफू अरूभन्दा कमजोर छु भन्ने निरन्तर तुलना पनि मानसिक असन्तुलनसँग जोडिन सक्छ ।त्यसैगरी, ‘तृष्णा’ भनेको हरेक इच्छा वा लक्ष्य होइन। जीवनमा प्रगति गर्ने, ज्ञान हासिल गर्ने, परिवारको हेरचाह गर्ने वा समाजका लागि काम गर्ने चाहनालाई स्वतः अकुशल तृष्णा मान्न मिल्दैन ।

समस्या चाहनाप्रतिको त्यस्तो आसक्तिमा हुन्छ, जसले असफलता, परिवर्तन वा अपेक्षाविपरीतको परिणामलाई असह्य बनाउँछ ।

यसैले मानसिक शान्तिका लागि लक्ष्यविहीन हुनु आवश्यक छैन । लक्ष्य राख्दै त्यसतर्फ प्रयास गर्नु र परिणाम आफ्नो अपेक्षाअनुसार नआउँदा पनि यथार्थ स्वीकार गरेर अघि बढ्न सक्नु बढी महत्वपूर्ण हुन्छ ।

ध्यान : मनलाई रोक्ने होइन, बुझ्ने अभ्यास

ध्यानको चर्चा गर्दा धेरै मानिसको मनमा एउटा धारणा आउँछ–ध्यान गर्न थालेपछि मनमा कुनै विचार आउनु हुँदैन, सबै चिन्ता हराउनुपर्छ र मन पूर्णतः शान्त हुनुपर्छ । तर ध्यानको प्रारम्भिक अभ्यासमा यस्तो अपेक्षा आफैँ तनावको कारण बन्न सक्छ । मन भट्किनु सामान्य हो ।

ध्यानमा बस्दा पुराना घटना सम्झना आउन सक्छन्, भविष्यका योजना मनमा खेल्न सक्छन् वा शरीरमा असहजता अनुभव हुन सक्छ । ध्यानको अभ्यास भनेको यी सबै अनुभवलाई बलपूर्वक हटाउनु होइन। ती उत्पन्न भएको थाहा पाउनु, तिनमा अनावश्यक रूपमा नअल्झिनु र ध्यानको विषयमा पुनः फर्कन सिक्नु हो ।

बौद्ध परम्परामा यससँग सम्बन्धित महत्त्वपूर्ण अवधारणा ‘सति’ हो। सति भन्नाले अनुभवप्रति सजग रहनु र ध्यानको विषयलाई नबिर्सी धारण गर्नु बुझिन्छ ।

यससँगै ‘सम्पजञ्ञ’ अर्थात् स्पष्ट बोधको महत्व पनि छ । आफू अहिले के गरिरहेको छु, किन गरिरहेको छु र त्यसको परिणाम के हुन सक्छ भन्ने बुझाइले सजगताको अभ्यासलाई व्यावहारिक बनाउँछ ।

उदाहरणका लागि, रिस उठेको बेला ‘म अहिले रिसाएको छु’ भनेर पहिचान गर्नु सतिको पक्ष हो । रिसकै आवेगमा बोल्दा सम्बन्ध बिग्रन सक्छ भन्ने बुझेर उचित प्रतिक्रिया छान्नु सम्पजञ्ञसँग सम्बन्धित हुन्छ । यसरी ध्यान केवल आँख बन्द गरेर बस्ने अभ्यासमा सीमित रहँदैन ।

खाना खाँदा, हिँड्दा, अरूसँग कुरा गर्दा, काम गर्दा र कठिन निर्णय लिँदासमेत सजग रहने जीवनशैलीसँग यसको सम्बन्ध हुन्छ ।

दस मिनेटको अभ्यासबाट कसरी सुरु गर्ने ?

ध्यान सिक्न लामो समय छुट्याउनैपर्छ भन्ने छैन । सुरुमा दैनिक पाँचदेखि दस मिनेटसम्म सहज र सुरक्षित अभ्यास गर्न सकिन्छ । समयभन्दा पनि नियमितता, सहजता र अभ्यासप्रतिको यथार्थपरक अपेक्षा महत्वपूर्ण हुन्छ ।

पहिलो चरण : शरीर र श्वासप्रति सजगता शान्त र सहज स्थानमा बस्नुहोस्। ढाडलाई सहज अवस्थामा राख्नुहोस्। आँखा बन्द गर्न असहज लागे खुला राख्न सकिन्छ । श्वासलाई जबर्जस्ती गहिरो बनाउने वा नियन्त्रण गर्ने प्रयास नगरी स्वाभाविक रूपमा भित्र आउने र बाहिर जाने श्वासलाई अनुभव गर्नुहोस् ।

दोस्रो चरण : मन भट्किएको पहिचान केही समयपछि ध्यान काम, परिवार, पैसा, विगत वा भविष्यतर्फ जान सक्छ । यस्तो हुँदा आफूलाई असफल ठान्नु पर्दैन । ‘विचार आयो’, ‘चिन्ता उठ्यो’ वा ‘सम्झना आयो’ भनेर थाहा पाउनुहोस् र बिस्तारै श्वासतर्फ फर्कनुहोस् । हरेकपटक ध्यान भट्किएर फेरि फर्कनु पनि अभ्यासकै हिस्सा हो ।

तेस्रो चरण : भावना पहिचान शरीर र मनमा उत्पन्न भइरहेका अवस्थालाई अवलोकन गर्नुहोस् । छातीमा कसिलोपन, शरीरमा तनाव, मनमा रिस वा भविष्यप्रति डर हुन सक्छ । त्यसलाई तत्काल हटाउनैपर्छ भन्ने दबाब नदिनुहोस् । भावनालाई पहिचान गर्नु र त्यसको आवेगमा काम गर्नु फरक कुरा हुन् भन्ने बुझ्ने प्रयास गर्नुहोस् ।

चौथो चरण: विवेकपूर्ण समीक्षा अन्त्यतिर आफूलाई केही प्रश्न सोध्नुहोस्–अहिले मेरो मनको अवस्था कस्तो छ ? मलाई तनाव दिने विषयको तथ्य के हो ? मैले अनुमान गरेको कुरा के हो ?

अहिले गर्न सकिने एउटा उपयोगी काम के हो ? त्यसपछि दैनिक काममा फर्कनुहोस् । यो अभ्यासले सबै समस्या समाधान गर्छ वा हरेकपटक तत्काल शान्ति दिन्छ भन्ने निश्चित हुँदैन । यसको उद्देश्य मनलाई तुरुन्तै आफूले चाहेअनुसार बनाउनुभन्दा आफ्ना अनुभव र प्रतिक्रियालाई बुझ्ने क्षमता अभ्यास गर्नु हो ।

मैत्री र करुणा: आफ्नै मनप्रति पनि सद्भाव

मानिस अरूप्रति दयालु हुन सिक्छ, तर आफ्नै कमजोरीप्रति भने कठोर हुन सक्छ । सानो गल्ती हुँदा आफूलाई निरन्तर दोष दिने, असफल हुँदा आफूलाई अयोग्य ठान्ने र कठिन समयमा आफ्नै पीडालाई बेवास्ता गर्ने प्रवृत्तिले मानसिक तनाव बढाउन सक्छ ।

बौद्ध परम्परामा मैत्री, करुणा, मुदिता र उपेक्खालाई चार ब्रह्मविहार भनिन्छ । यी अभ्यासले आफू र अरूप्रति सन्तुलित तथा हितकारी दृष्टिकोण विकास गर्न प्रेरित गर्छन् ।

मैत्रीको अर्थ सबैको कल्याण होस् भन्ने शुभेच्छा हो। करुणाले दुःख देख्दा त्यसलाई कम गर्न चाहने संवेदनशीलता विकास गर्छ ।

मुदिताले अरूको सुख र सफलतामा प्रसन्न हुन सिकाउँछ। उपेक्खाले पक्षपात, अत्यधिक आसक्ति र द्वेषबाट मुक्त सन्तुलित मन विकास गर्न प्रेरित गर्छ ।

तनावको समयमा मैत्रीभावनाको अभ्यास यसरी गर्न सकिन्छ–‘म सुरक्षित रहूँ, म स्वस्थ रहूँ, मेरो मन शान्त रहोस्, म विवेकपूर्ण ढङ्गले जीवनका कठिनाइ सामना गर्न सकूँ ।’

त्यसपछि यही शुभेच्छा परिवार, साथी र अन्य मानिसप्रति विस्तार गर्न सकिन्छ । यसको अर्थ अन्याय सहनु, हानिकारक सम्बन्धमा बसिरहनु वा आफ्नो आवश्यकतालाई बेवास्ता गर्नु होइन।

करुणासँगै उचित सीमारेखा कायम गर्नु र आवश्यक परे सहयोग माग्नु पनि महत्त्वपूर्ण हुन्छ ।त्यसैगरी, अरूको सफलतामा प्रसन्न हुन सिक्दा तुलना र ईष्र्याबाट उत्पन्न हुने तनाव कम गर्न सहयोग पुग्न सक्छ । जीवनको मूल्य केवल अरूभन्दा अगाडि हुनुमा होइन, आफ्नै क्षमता र परिस्थितिअनुसार अर्थपूर्ण जीवन जिउनुमा पनि छ भन्ने बुझाइ विकसित हुन सक्छ ।

डिप्रेसनको उपचारमा बौद्ध मनोविज्ञान कति उपयोगी ?

तनाव, चिन्ता र डिप्रेसनलाई एउटै समस्या ठान्नु हुँदैन । दैनिक जीवनमा आउने तनाव प्रायः कुनै परिस्थिति वा दबाबसँग सम्बन्धित हुन्छ । चिन्ता भविष्यमा हुन सक्ने जोखिम वा अनिश्चितताप्रति उत्पन्न हुने प्रतिक्रिया हुन सक्छ ।

डिप्रेसन भने निरन्तर उदासी, रुचि वा आनन्दमा कमी, ऊर्जा घट्नु, निद्रा वा भोकमा परिवर्तन, निराशा र एकाग्रतामा कठिनाइजस्ता लक्षण देखिन सक्ने मानसिक स्वास्थ्यसम्बन्धी अवस्था हो । यसको निदान लक्षणको प्रकृति, अवधि, तीव्रता र दैनिक जीवनमा परेको प्रभावको मूल्यांकनबाट गरिन्छ ।

डिप्रेसनलाई कमजोर इच्छाशक्ति, नकारात्मक सोच वा आध्यात्मिक अभ्यासको कमीका रूपमा व्याख्या गर्नु गलत हुन्छ । यसमा जैविक, मनोवैज्ञानिक, सामाजिक र वातावरणीय पक्षहरूको भूमिका हुन सक्छ ।

यस्तो अवस्थामा बौद्ध मनोविज्ञानका केही अभ्यास सहयोगी हुन सक्छन् । श्वास प्रश्वासमा सजगता, विचार र भावनालाई पहिचान गर्ने क्षमता, आत्मदोष घटाउने मैत्रीभावना र वर्तमान परिस्थितिलाई विवेकपूर्ण रूपमा बुझ्ने अभ्यासले कतिपय व्यक्तिलाई मानसिक कठिनाइ सामना गर्न मद्दत गर्न सक्छ ।

आधुनिक मनोविज्ञानमा पनि सजगतामा आधारित केही कार्यक्रम विकसित भएका छन्। उदाहरणका लागि, सजगतामा आधारित संज्ञानात्मक चिकित्सा (Mindfulness–Based Cognitive Therapy-MBCT) ले ध्यानसम्बन्धी अभ्यास र संज्ञानात्मक उपचारका विधिलाई जोड्छ ।

यसको अनुसन्धान विशेषतः पुनः दोहोरिन सक्ने डिप्रेसनको जोखिम घटाउने सन्दर्भमा गरिएको छ । सजगतामा आधारित तनाव न्यूनीकरण कार्यक्रम (Mindfulness–Based Stress Reduction-MBSR) ले पनि तनावसँग सामना गर्ने क्षमतामा सहयोग पु¥याउन सक्छ ।

तर यी कार्यक्रम बौद्ध धर्मका सम्पूर्ण शिक्षासँग समान होइनन् । तिनलाई निश्चित संरचना र उद्देश्यसहित आधुनिक स्वास्थ्य तथा मनोवैज्ञानिक सन्दर्भमा अनुकूलित गरिएको हुन्छ । तिनको प्रभाव व्यक्तिअनुसार फरक पर्न सक्छ र सबै प्रकारका मानसिक समस्यामा एउटै परिणाम आउँदैन ।

डिप्रेसनका लक्षण लामो समयसम्म रहिरहेमा, दैनिक कामकाज प्रभावित भएमा वा मानसिक पीडा गहिरिँदै गएमा योग्य स्वास्थ्यकर्मी वा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुपर्छ । आवश्यकताअनुसार मनोचिकित्सा, औषधि वा अन्य प्रमाणमा आधारित उपचार उपयोगी हुन सक्छन् ।

ध्यानलाई यस्तो उपचारको विकल्पका रूपमा होइन, उपयुक्त अवस्थामा सहयोगी अभ्यासका रूपमा बुझ्नु उचित हुन्छ । ध्यान गर्दा असहजता, डर वा पुराना पीडादायी सम्झना बढेमा अभ्यास रोक्ने वा परिवर्तन गर्ने र प्रशिक्षित विशेषज्ञसँग सल्लाह लिने आवश्यकता हुन सक्छ ।

आफूलाई हानि गर्ने विचार आउनु वा जीवनप्रति आशा हराएको अनुभव हुनु पनि गम्भीरतापूर्वक लिनुपर्ने अवस्था हो । यस्तो अवस्थामा व्यक्तिलाई दोष दिनुभन्दा तत्काल विश्वासिलो व्यक्ति र स्वास्थ्य सेवाको सहयोग उपलब्ध गराउनु आवश्यक हुन्छ ।

शान्तिको अर्थ समस्या नहुनु होइन

ध्यानसम्बन्धी एउटा महत्वपूर्ण भ्रम के छ भने शान्त मानिसको जीवनमा समस्या हुँदैन । वास्तविकता त्यस्तो होइन । जीवनमा रोग, आर्थिक कठिनाइ, पारिवारिक विवाद, असफलता र वियोग आइरहन्छन् । ध्यानको उपयोगिता यी सबै परिस्थिति हटाइदिनुमा होइन, तिनलाई सामना गर्ने तरिकामा परिवर्तन ल्याउन सक्ने सम्भावनामा छ ।

कुनै व्यक्तिले ध्यान गर्छ भन्दैमा उसलाई कहिल्यै रिस उठ्दैन, दुःख लाग्दैन वा डर लाग्दैन भन्ने हुँदैन । महत्वपूर्ण कुरा भावना उत्पन्न भएको अवस्थामा त्यसलाई चिन्न, त्यसको आवेगमा तुरुन्तै नबग्न र उपयुक्त प्रतिक्रिया छान्न सक्ने क्षमता विकास गर्नु हो ।

बौद्ध मनोविज्ञानले यसका लागि शील, समाधि र प्रज्ञाको समन्वयमा जोड दिन्छ । शीलले नैतिक आचरण र अरूलाई हानि नगर्ने जीवनशैलीलाई महत्त्व दिन्छ । समाधिले मनको स्थिरता र एकाग्रता विकास गर्ने अभ्यासलाई समेट्छ ।

प्रज्ञाले अनुभवको प्रकृति, परिवर्तनशीलता, कारण र परिणामलाई विवेकपूर्वक बुझ्न सहयोग गर्छ । यी तीन पक्ष एकअर्कासँग सम्बन्धित छन् । केवल एकाग्रता बढेर मात्र जीवनका सबै समस्या समाधान हुँदैनन् । मन स्थिर भए पनि निर्णय गलत हुन सक्छ । त्यसैले सजगतासँगै विवेक, नैतिकता र अरूप्रतिको संवेदनशीलता आवश्यक हुन्छ ।

उदाहरणका लागि, कुनै व्यक्तिलाई काममा अन्याय भएको छ भने ध्यानले उसलाई आफ्नो रिस पहिचान गर्न सहयोग गर्न सक्छ । तर समस्याको समाधानका लागि प्रमाण जुटाउने, सम्बन्धित निकायमा कुरा राख्ने वा आफ्नो अधिकारका लागि उचित कदम चाल्ने आवश्यकता पनि रहन्छ । त्यसैले मानसिक शान्ति निष्क्रियता होइन । यो परिस्थितिलाई स्पष्ट रूपमा बुझेर आवश्यक काम गर्न सक्ने सन्तुलित अवस्था हो ।

शान्ति व्यक्तिगत अभ्यास मात्रै होइन, सामाजिक जिम्मेवारी पनि हो मानसिक स्वास्थ्य लाई व्यक्तिको निजी समस्या मात्र ठान्नु आधुनिक समाजको अर्को कमजोरी हो । बेरोजगारी, ऋणको बोझ, असुरक्षित रोजगारी, पारिवारिक हिंसा, विभेद, सामाजिक बहिष्करण र उपचार सेवामा पहुँचको कमीले मानिसको मानसिक स्वास्थ्यमा असर पार्न सक्छन् ।

यस्ता समस्याको समाधानका लागि व्यक्तिले ध्यान गर्ने मात्र होइन, परिवार, समुदाय, कार्यस्थल, शैक्षिक संस्था र राज्यले पनि जिम्मेवारी लिनुपर्छ । विद्यालयमा भावनात्मक शिक्षा, कार्यस्थलमा स्वस्थ वातावरण, परिवारमा संवाद, समुदायमा मानसिक स्वास्थ्यबारे खुला छलफल र सहज स्वास्थ्य सेवाको उपलब्धता आवश्यक हुन्छ ।

कसैले मानसिक समस्या व्यक्त गर्दा उसलाई कमजोर, असफल वा असामान्य ठहर गर्नुको सट्टा उसको कुरा सुन्ने, सहयोग गर्ने र आवश्यक सेवासम्म पु¥याउने वातावरण निर्माण गर्नुपर्छ ।

बौद्ध करुणाको व्यावहारिक अर्थ पनि यही मानवीय संवेदनशीलतासँग जोडिन्छ । दुःख देखेर केवल उपदेश दिनुभन्दा त्यसलाई कम गर्न सकिने उपाय खोज्नु करुणा को सक्रिय पक्ष हो ।

त्यसैगरी, उपेक्खाको अर्थ अरूको पीडाप्रति उदासीन हुनु होइन । परिस्थिति र व्यक्तिप्रति सन्तुलित दृष्टिकोण राख्दै आवश्यक सहयोग गर्न सक्नु हो ।

शान्तिको यात्रा आफ्नै मनलाई चिन्ने अभ्यासबाट

आजको संसारमा मानसिक शान्ति खोज्नु कुनै विलासिता होइन, जीवनको गुणस्तर र समग्र स्वास्थ्यसँग जोडिएको आवश्यकता हो । प्रविधि, सुविधा र आर्थिक उपलब्धिले जीवनलाई सहज बनाउन सक्छन्, तर मानिसले आफ्ना विचार, भावना र प्रतिक्रियासँग कसरी सम्बन्ध राख्छ भन्ने प्रश्नको महत्व पनि उत्तिकै छ ।

बौद्ध मनोविज्ञानले मनलाई स्थायी र अपरिवर्तनीय वस्तुका रूपमा होइन, कारण र परिस्थितिअनुसार परिवर्तन भइरहने प्रक्रियाका रूपमा बुझ्न प्रेरित गर्छ ।

लोभ, द्वेष, मोह, तृष्णा र आसक्तिले मानसिक दुःख बढाउन सक्ने पक्षलाई पहिचान गर्दै सति, सम्पजञ्ञ, मैत्री, करुणा र प्रज्ञाको अभ्यासमार्फत जीवनलाई थप विवेकपूर्ण बनाउन सकिने यसको शिक्षा छ ।

ध्यान त्यस दिशातर्फको एउटा अभ्यास हो । सुरुमा केही मिनेट श्वासप्रति सजग रहने, मन भट्किएको थाहा पाउने, आफ्ना भावनालाई नदबाई पहिचान गर्ने र प्रतिक्रिया दिनुअघि केही क्षण रोकिने काम सामान्य देखिन सक्छ ।

तर नियमित अभ्याससँगै मानिसले आफ्ना मानसिक बानी बुझ्ने अवसर पाउन सक्छ । यद्यपि ध्यान सबै समस्याको समाधान होइन र मानसिक स्वास्थ्यसम्बन्धी उपचारको विकल्प पनि होइन । शान्तिका लागि व्यक्तिगत अभ्यास, सामाजिक सहयोग र आवश्यक स्वास्थ्य सेवाबीच समन्वय हुनु आवश्यक छ ।

अन्ततः शान्ति भनेको जीवनमा कहिल्यै आँधी नआउनु होइन । आँधी आएका बेला परिस्थिति बुझ्न, आफूलाई सम्हाल्न, उचित सहयोग लिन र विवेकपूर्ण ढंगले अघि बढ्न सक्ने क्षमता विकास गर्नु पनि शान्तितर्फको यात्रा हो ।

मनलाई जित्ने नाममा मनसँग युद्ध गर्नु आवश्यक छैन । मनलाई बुझ्ने, त्यसका प्रतिक्रियालाई चिन्न सक्ने र आवश्यकताअनुसार तिनलाई रूपान्तरण गर्ने अभ्यासबाटै मानसिक स्वतन्त्रताको यात्रा सुरु हुन सक्छ ।

सम्बन्धित शिर्षक :