स्वास्थ्यमा रुरुक्षेत्रको नयाँ अभ्यास : अल्ट्रासाउण्ड देखि निःशुल्क रगत र स्वयंसेविका पेन्सनसम्म

स्वास्थ्यसमाचार -दुर्गम भूगोल र सीमित स्रोत साधनका बीच गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले स्थानीय तहमै स्वास्थ्य सेवा विस्तार गर्ने प्रयासलाई तीव्रता दिएको छ।

गर्भवतीका लागि ग्रामीण अल्ट्रासाउण्ड देखि निःशुल्क रगत र एम्बुलेन्स, ज्येष्ठ नागरिकको घरदैलोमै स्वास्थ्य परीक्षण देखि आयुर्वेद सेवा सम्मका कार्यक्रम सञ्चालनमा छन्।

तर स्वास्थ्य सेवामा पहुँच विस्तार हुँदै गए पनि मातृ स्वास्थ्यको एउटा महत्वपूर्ण सूचक अझै कमजोर छ। गाउँपालिकाको आर्थिक वर्ष २०८२-८३ को वार्षिक स्वास्थ्य प्रतिवेदन अनुसार यहाँ संस्थागत प्रसूति दर ४२ प्रतिशत मात्रै छ।

अर्थात् आधाभन्दा बढी प्रसूति अझै स्वास्थ्य संस्था बाहिर हुने अवस्था देखिएको छ।

गर्भावस्थामा स्वास्थ्य संस्थासम्म पुग्ने महिलाको संख्या भने तुलनात्मक रूपमा राम्रो छ। कम्तीमा एकपटक गर्भजाँच (एएनसी) गराउने दर ८० प्रतिशत छ।

प्रोटोकल अनुसार चारपटक एएनसी गराउने दर ८८ प्रतिशत र आठपटक गराउने दर ७२ प्रतिशत पुगेको छ। सुत्केरी भएपछि चारपटक स्वास्थ्य जाँच गराउने दर ८३ प्रतिशत छ।

गर्भजाँच गराउने दर र संस्थागत प्रसूतिको दरबीच देखिएको अन्तरलाई गाउँ पालिका को स्वास्थ्य सेवाको प्रमुख चुनौतीका रूपमा लिएको स्वास्थ्य शाखा प्रमुख ईन्द्र देब पौडेल बताउनु हुन्छ।

गर्भावस्थामा स्वास्थ्य संस्थासम्म पुगेका महिलालाई सुरक्षित प्रसूतिको लागि स्वास्थ्य संस्थामै ल्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

गाउँमै अल्ट्रासाउण्ड, सुत्केरीलाई पोषण प्याकेज :

गर्भवती महिलालाई लक्षित गर्दै गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालनमा ल्याएको छ। यसले गर्भावस्थाको नियमित परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।

सुत्केरी महिलाको पोषण सुधारका लागि स्थानीय सरकारले पोषण प्याकेज वितरण गर्दै आएको छ। स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहन गर्ने तथा सुत्केरी र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

गर्भवती महिलालाई १८० दिनसम्म आइरन तथा फोलिक एसिड सेवन गराउने कभरेज ८० प्रतिशत छ। छ महिनासम्म शिशुलाई अनन्य स्तनपान गराउने दर ७८ प्रतिशत रहेको छ।

पूर्ण खोप घोषणा, कभरेज भने ८३ प्रतिशत :

रुरुक्षेत्र गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरिएको छ। तर एचएमआईएस तथ्यांकमा बालबालिकाको पूर्ण खोप कभरेज ८३ प्रतिशत देखिन्छ।

दादुरा–रुबेला खोपको दोस्रो मात्रा (एमआर–२) कभरेज ८३ दशमलव ३३ प्रतिशत छ। टीडी–२ तथा टीडी–२ प्लस खोपको कभरेज भने ७६ प्रतिशत रहेको छ।

गाउँपालिकाका अनुसार बसाइँ सराइ र अस्थायी बसोबासका कारण बालबालिकाको नियमित खोप तथा फलोअपको अभिलेख राख्न समस्या हुने गरेको छ।
परिवारका सदस्यको बसाइँसराइसँगै बालबालिका अर्को स्थानमा जाने भएकाले खोपको निरन्तरता र अभिलेख व्यवस्थापनमा चुनौती देखिएको हो।

निमोनिया र झाडापखालाको उपचार शतप्रतिशत :

पाँच वर्षमुनिका बालबालिकामा निमोनियाको घटना दर प्रतिहजार १८ र झाडापखालाको घटना दर प्रतिहजार ६६ रहेको छ।

स्वास्थ्य संस्थामा आउने झाडापखालाका बिरामीलाई जिंक र जीवनजल (ओआरएस) तथा निमोनियाका बिरामीलाई एमोक्सिसिलिनबाट उपचार गर्ने व्यवस्था गरिएको छ। प्रतिवेदनअनुसार यी रोगका बिरामीको उपचार व्यवस्थापन शतप्रतिशत रहेको छ।

बाल स्वास्थ्यसँगै पोषणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ। दुई वर्षमुनिका बालबालिकाको वृद्धि अनुगमन भइरहेको छ। आर्थिक वर्षमा औसत २३ बालबालिकाको वृद्धि अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ।

कुपोषित बालबालिका उपचारपछि निको :

पोषण कार्यक्रमअन्तर्गत ओटीसीमा पाँच जना गम्भीर शीघ्र कुपोषित (एसएएम) र सात जना मध्यम शीघ्र कुपोषित (एमएएम) बालबालिका भर्ना भएका थिए। उपचार तथा व्यवस्थापनपछि उनीहरूको स्वास्थ्यमा सुधार आएको गाउँपालिकाले जनाएको छ।

सुनौलो हजार दिनका आमालाई लक्षित गरी पोषिलो खाना प्रदर्शन तथा स्थानीय खाद्य पदार्थको प्रयोगसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ। तर गाउँमै पौष्टिक खाद्य पदार्थ उपलब्ध भए पनि परिवारको खानामा पर्याप्त विविधता नहुनु मुख्य चुनौती बनेको छ।

क्षयरोग उपचार सफलताको दर शतप्रतिशत :

रुरुक्षेत्रमा क्षयरोग नियन्त्रण कार्यक्रमअन्तर्गत पनि सकारात्मक नतिजा देखिएको छ।

रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा क्षयरोगसम्बन्धी केस नोटिफिकेसन ३३५ रहेको छ भने पालिका तहमा १२८ केस नोटिफिकेसन भएको प्रतिवेदनमा उल्लेख छ।

क्षयरोगको उपचार सफलताको दर भने शतप्रतिशत रहेको छ।क्षयरोगका बिरामीको खोजी, परीक्षण, उपचार र नियमित फलोअपलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ।

कुष्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत शीघ्र निदान, बहुऔषधीय उपचार (एमडीटी), संक्रमण नियन्त्रण, अपाङ्गता रोकथाम तथा व्यवस्थापन र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिएको छ।

बिरामी तथा परिवारमा हुने सामाजिक कलंक र भेदभाव न्यूनीकरणका लागि समेत परामर्श दिइने गरिएको छ।

नसर्ने रोगको जोखिम खोज्दै गाउँपालिका :

बदलिँदो जीवन शैलीसँगै बढिरहेका नसर्ने रोगको जोखिम पहिचान गर्न गाउँपालि का ले १ हजार ६६० जनाको एनसीडी तथा बीएमआई स्क्रिनिङ गरेको छ।

मानसिक स्वास्थ्यतर्फ डिप्रेसन, चिन्ता, मदिरासम्बन्धी समस्या तथा आत्महत्याको प्रयासलगायतका समस्या भएका ४१ जना पहिचान भएका छन्। मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई पहिचान गरी आवश्यक परामर्श र सेवासँग जोड्ने प्रयास गरिएको छ।

सबै स्वास्थ्य संस्थामा प्रयोगशाला :

गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा सञ्चालनमा ल्याइएको छ। गर्भवती महिला तथा ज्येष्ठ नागरिकका लागि प्रयोगशाला सेवा निःशुल्क गरिएको छ।

स्वास्थ्य सेवामा आर्थिक पहुँचको समस्या कम गर्न गाउँपालिकाले गर्भवती, सुत्केरी, ‘क’ वर्गको अपाङ्गता परिचयपत्र भएका व्यक्ति तथा अति विपन्न नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष युदु ज्ञाबलीले बताउनु भयो ।

उहाले बुटवल, भैरहवा, चितवन र काठमाडौँका रक्तसञ्चार केन्द्रसँग समन्वय गरी आवश्यकताअनुसार पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरिएको समेत बताउनु भयो।

आयुर्वेद देखि आँखाको उपचारसम्म :

आयुर्वेद सेवामार्फत आर्थिक वर्षमा ५ हजार ५१५ जनाले सेवा लिएका छन्। नागरिक आरोग्य अभियान र योग कक्षा सञ्चालनसँगै बालबालिकाका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम पनि सञ्चालन गरिएको छ।

नेत्रज्योति संघसँगको सहकार्यमा रिडीमा आँखा उपचार केन्द्र सञ्चालन गरिएको छ। प्रत्येक महिनाको तेस्रो शनिबार बलेटक्सार स्वास्थ्य चौकीबाट मोतियाविन्दु स्क्रिनिङ तथा आँखा जाँच सेवा उपलब्ध गराइएको छ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदानलाई प्रोत्साहन गर्न उनीहरूलाई पेन्सन योजनामा समावेश गरिएको छ।

ज्येष्ठ तथा अशक्त नागरिकका लागि घरघर स्वास्थ्य सेवा र घरभेट कार्यक्रम सञ्चालन गरी घरमै स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिने गरिएको छ।
किशोरीको स्वास्थ्य सुरक्षाका लागि एचपीभी खोप अभियान सञ्चालन गरिएको छ।

सेवा विस्तारसँगै चुनौती पनि उस्तै :

रुरुक्षेत्रले स्वास्थ्य सेवामा स्थानीय आवश्यकता सम्बोधन गर्ने केही नयाँ कार्यक्रम अघि सारे पनि संस्थागत प्रसूति दर बढाउनु अझै मुख्य चुनौती बनेको छ।

त्यस्तै, बसाइँसराइका कारण खोप तथा फलोअपको अभिलेख व्यवस्थापन, परिवार नियोजनका साधनबारे रहेका भ्रम हटाउने र प्रभावकारी परामर्श दिने काम पनि सुधार गर्नुपर्ने देखिन्छ।

स्थानीय खाद्य पदार्थ उपलब्ध हुँदाहुँदै पनि खानामा विविधता नहुनु पोषण कार्यक्रमको अर्को चुनौती हो। स्वास्थ्य संस्थासम्मको पहुँच बढाउनेसँगै उपलब्ध सेवाको पूर्ण उपयोग गराउने तर्फ अब स्थानीय सरकारको ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ।

रुरुक्षेत्रले सञ्चालन गरेका ग्रामीण अल्ट्रासाउण्ड, निःशुल्क रगत तथा एम्बुलेन्स, सुत्केरी पोषण प्याकेज, ज्येष्ठ नागरिक घरभेट र स्वयंसेविका पेन्सन जस्ता कार्यक्रमले स्थानीय स्वास्थ्य सेवामा नयाँ अभ्यास रहेका छन ।

सम्बन्धित शिर्षक :