नवलपरासीका ३ हजार ७५१ किशोरीलाई एचपीभी खोप लगाइने

स्वास्थ्यसमाचार/ पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउने उद्देश्यले जिल्लामा ३ हजार ७ सय ५१ जना किशोरीलाई लक्षित गर्दै विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान २०८२ सञ्चालन गरिने भएको छ । माघ २५ गतेदेखि २९ गतेसम्म पाँच दिन चल्ने अभियानअन्तर्गत जिल्ला भर २०५ स्थानबाट खोप सेवा प्रदान गरिनेछ ।

जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार अभियानमा १११ सामुदायिक र ९३ संस्थागत गरी २०४ विद्यालय तथा १ विद्यालय बाहिरको खोप केन्द्र समेटिएको छ । लक्षित किशोरीमध्ये कक्षा ६ मा अध्ययनरत ३५४३ जना र विद्यालय नजाने १० वर्ष उमेर समूहका २०८ जना गरी कुल संख्या ३७५१ पुगेको हो । अभियान ५ दिनमा जिल्लाका सातौ पालिकामा लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन देविलाल पौडेलले एचपीभी खोप वर्षमा एक पटक लगाइने र यसले पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदर उल्लेखनीय रूपमा घटाएको बताउनुभयाे । उहाँले २०७२/७३ सालदेखि नेपालमा एचपीभी खोप सुरु भई सुरुमा कास्की र चितवन जिल्लामा लागू गरिएको, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सिफारिसमा हाल देशव्यापी रूपमा विस्तार हुँदै आएको जानकारी दिनुभयो ।

खोप अभियानलाई प्रभावकारी बनाउन बर्दघाट नगरपालिकामा नियमित खोप कार्यक्रमअन्तर्गत विद्यालय केन्द्रित एचपीभी खोप अभियान २०८२ सम्बन्धी नगर स्तरीय खोप समन्वय समितिको बैठक, अन्तरक्रिया तथा सूक्ष्म योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार एचपीभी भाइरसका २०० भन्दा बढी प्रकारमध्ये १२ प्रकार क्यान्सरजन्य छन् ।

तीमध्ये प्रजाति १६ र १८ ले मात्र करिब ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर गराउने वैज्ञानिक प्रमाण रहेको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् । प्रत्येक वर्ष संक्रमित महिलामध्ये करिब ६० प्रतिशतको मृत्यु हुने र नेपालमा दैनिक औसत ४ जना महिलाको पाठेघरको क्यान्सरका कारण ज्यान जाने अवस्था रहेको पनि कार्यक्रममा उल्लेख गरियो ।

स्वास्थ्य विज्ञहरूकाअनुसार महिलामा देखिने क्यान्सरमध्ये पहिलो स्तन क्यान्सर र दोस्रो पाठेघरको मुखको क्यान्सर हो । यो रोग सुरुमा कुनै लक्षण नदेखिए पनि पछि यौन सम्पर्क गर्दा दुखाइ हुने, योनीबाट असामान्य रगत बग्ने, सेतो पानी बग्ने तथा रक्तअल्पता देखिने समस्या देखापर्छ ।

अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपीभी खोप लगाइने छ । साथै, सामान्य महिलाले ३-३ वर्षमा एक पटक र एचआईभी संक्रमित तथा जोखिम समूहका महिलाले १-१ वर्षमा पाठेघरको मुखको जाँच गराउनुपर्नेमा जोड दिइएको छ । महिनावारी सुरु हुनु अघि खोप लगाउँदा बढी प्रभावकारी हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले सबैको सहयोगमा किशोरीहरुलाई अनिवार्य रुपमा खोप लगाउन जोड दिनु पर्ने उल्लेख गर्नु भयो । उहाँले खोप राष्ट्रिय कार्यक्रम भएकोले नगरले हातेमालो गर्ने र खोप अभियान सफल बनाउने धारणा राख्नु भयो ।

कार्यक्रममा बोल्दै नगर स्वास्थ्य शाखामा कार्यरत रितमान श्रेष्ठले बर्दघाट नगरपालिकामा १६ वडा रहे पनि वडा नं. ३, ६ र ८ मा विद्यालय बाहिरका किशोरी नभएको र अन्य वडामा रहेका किशोरीलाई खोपको पहुँचमा ल्याइने बताउनु भयो ।

बर्दघाट नगरपालिकामा मात्रै १८ सामुदायिक र १८ संस्थागत गरी ३६ विद्यालय, साथै विद्यालय बाहिरका किशोरीलाई समेट्दै ३९ वटा खोप केन्द्र तोकिएका छन् । नगरभित्र विद्यालयभित्र ६६१ जना र विद्यालय नजाने किशोरी २५ जना लाई खोप लगाइने श्रेष्ठले जानकारी दिनु भयो । बर्दघाट २ मा रहेको संसारकोट क्षेत्रमा ५ जना किशोरी खोपबाट नछुटुन् भनेर छुट्टै खोप केन्द्र समेत स्थापना गरिएको छ ।

स्वागत मन्तव्य व्यक्त गर्दै स्वास्थ्य शाखा प्रमुख ईश्वरी न्यौपानेले पाठेघरको मुखको क्यान्सर विरुद्ध खोपसँगै सचेतना, अभिमुखीकरण र दिगोपनामा जोड दिनुपर्ने बताउनु भयो । खोप के हो, कसरी काम गर्छ भन्ने विषयमा समुदायस्तरमै जानकारी फैलाउनुपर्ने उहाको भनाइ थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका कृष्णहरि पौडेलले गर्नु भएको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :