स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सरबाट किशोरीलाई जोगाउने उद्देश्यले रुपन्देहीमा यस वर्ष १२ हजार ९० जनालाई एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लाका सबै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेरका बालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो। लक्षितमध्ये ११ हजार ७०९ जना कक्षा ६ मा अध्ययनरत किशोरी र ३८१ जना विद्यालयबाहिर रहेका १० वर्ष उमेरका बालिका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाका अनुसार अभियान दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा असोज ५ देखि ८ गतेसम्म ११ स्थानीय तहमा र दोस्रो चरणमा बाँकी पाँच स्थानीय तहमा असोज १२ देखि १५ गतेसम्म खोप दिइनेछ।
अभियानका लागि जिल्लाभर ४८३ विद्यालय र १५० स्वास्थ्य संस्था गरी ६३३ वटा खोप केन्द्र तोकिएको छ। खोप अभियानमा स्वास्थ्यकर्मीसँगै महिला स्वास्थ्य स्वयंसेविकालाई समेत परिचालन गर्ने तयारी गरिएको थापाले बताइन्। उनका अनुसार खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिमसमेत दिइ सकिएको छ।
यस वर्ष सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २ हजार २१२ र तिलोत्तमा नगरपालिकामा १ हजार ५६३ किशोरीलाई एचपिभी खोप लगाइनेछ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ हजार १२४, देवदहमा ९६३, सैनामैनामा ९१८ र सिद्धार्थनगरमा ८१६ जनालाई खोप दिइनेछ।
त्यस्तै मायादेवीमा ६२७, गैडहवामा ६०१, कोटहीमाईमा ५३५, कञ्चनमा ४७०, रोहिणीमा ४६७, सियारीमा ४६०, मर्चवारीमा ४०३, सम्मरीमाईमा ३६५, शुद्धोधनमा ३०९ र ओमसतियामा २५७ किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।
रुपन्देहीमा एचपिभी खोप अभियान विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ। गत वर्ष जिल्लामा १२ हजार ४१९ जनाले एचपिभी खोप लगाएका थिए भने २०८१ मा सञ्चालन गरिएको अभियानमा ५८ हजार ९ सय किशोरीलाई खोप दिइएको थियो।
खोप अभियानमा कुनै पनि लक्षित किशोरी नछुटून् भन्ने उद्देश्यले जिल्ला खोप समन्वय समितिले स्थानीय तहसँग समन्वय गरी तयारी अघि बढाएको थापाले बताइन्। आवश्यकताका आधारमा खोप केन्द्रमा स्वास्थ्यकर्मी थप गर्न सकिने उनको भनाइ छ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा सोमबार बसेको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकमा जिल्ला प्रशासन कार्यालय, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो।


प्रतिकया दिनुहोस्