रुपन्देही जिल्लामा साढे १२ हजार किशोरीलाई एचपीभी खोप लगाइने

६१० जना विद्यालय नजाने किशोरी पनि समावेश

स्वास्थ्यसमाचार/जिल्लाभरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) रोकथामका लागि एचपीभी खोप माघ २५ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन गरिने भएको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लास्तरीय खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीहरूसँगको अभिमुखीकरणमार्फत अभियानको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

जिल्लाभरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई प्राथमिकताका आधारमा खोप दिइनेछ। विद्यालय नजाने किशोरीको हकमा १० वर्ष उमेर समूह, गत वर्ष छुटेका कक्षा ७–१० का किशोरी तथा ११–१४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीलाई पनि खोप उपलब्ध गराइनेछ।

यस वर्ष जिल्लाभर १२,४१९ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ, जसमा ६१० जना विद्यालय नजाने किशोरी पनि समावेश भएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले बताउनु भयो ।

गत वर्ष अभियानको रूपमा खोप लगाइएको भए पनि यस वर्षदेखि नियमित कार्यक्रमअन्तर्गत खोप प्रदान गरिन लागिएको छ। आगामी वर्षदेखि एचपीभी खोप पूर्ण रूपमा नियमित खोप कार्यक्रममा समावेश गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

अभिमुखीकरण कार्यक्रममा डब्लुएचओका डा. सागर तिवारीले खोप सुरक्षित र प्रभावकारी रहेको जानकारी दिँदै किशोरी तथा अभिभावकको उत्साह बढेको उल्लेख गर्नुभयो।

शिक्षा इकाइका विष्णु पन्थीले शिक्षा र स्वास्थ्य निकायबीच सहकार्य आवश्यक भएको बताए। सहायक प्रमुख जिल्ला अधिकारी मत्रिका आचार्य र जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईंले लक्षित समूहका सबै किशोरीले गुणस्तरीय र सुरक्षित खोप पाउनुपर्नेमा जोड दिनुभयो।

अभिमुखीकरण कार्यक्रममा महिला तथा स्त्रीरोग विशेषज्ञ, रेडक्रस स्वयंसेवक, सञ्चारकर्मी र स्वास्थ्य कार्यालयका अधिकारीहरूको सहभागिता रहेको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :