हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर विश्व स्तनपान सप्ताह (World Breastfeeding Week) मनाइन्छ। आमाको दूधलाई ‘शिशुको पहिलो खोप’ भनिन्छ, किनकि यसले नवजातलाई रोग प्रतिरोधात्मक शक्ति दिन्छ, रोगबाट जोगाउँछ र दीर्घकालीन रूपमा स्वस्थ जीवनको आधार तयार गर्छ।
यस वर्ष पनि नेपालभर स्वास्थ्य संस्था, सामुदायिक समूह र मिडियामार्फत स्तनपानको महत्वबारे सचेतना फैलाउने अभियान सञ्चालन भइरहेको छ।
आमाको दूध शिशुको पहिलो पोषण र सुरक्षा :जन्मेको पहिलो घण्टामै शिशुलाई स्तनपान गराउन सिफारिस गरिन्छ। यो पहिलो दूध, जस लाई कोलोस्ट्रम भनिन्छ, शिशुको शरीरको लागि प्राकृतिक खोप जस्तै हो। यसमा एन्टिबडी, प्रोटिन र आवश्यक पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार पहिलो ६ महिनासम्म आमाको दूध मात्र दिनु सर्वाधिक फाइदाजनक हुन्छ। यसले शिशुलाई डायरिया, निमोनिया, कुपोषण जस्ता प्रमुख रोगबाट जोगाउँछ। दीर्घकालमा मानसिक र शारीरिक विकास द्रुत हुन्छ, दाँत र हड्डी मजबुत हुन्छन्।
स्तनपान आमाको स्वास्थ्यका लागि पनि लाभदायक छ। यसले गर्भाशयलाई सामान्य अवस्थामा फर्काउँछ, रक्तस्राव कम गर्छ र दीर्घकालमा स्तन र अण्डाशयको क्यान्सरको जोखिम घटाउँछ। साथै, प्राकृतिक रूपमा परिवार नियोजनमा सहयोग पु¥याउँछ।
समाज र अर्थतन्त्रका लागि पनि उपयोगी : स्तनपान केवल व्यक्तिगत स्वास्थ्यको कुरा मात्र होइन, यो समाज र राष्ट्रको स्वास्थ्य नीतिसँग पनि प्रत्यक्ष सम्बन्धित छ। फार्मुला दूध र बोतलको खर्च बचत हुनुका साथै अस्पताल भर्ना कम हुन्छ, स्वास्थ्य खर्च घट्छ। स्वस्थ शिशु नै भविष्यको उत्पादक नागरिक हो।
राष्ट्रिय रूपमा, नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०८० (Nepal DHS २०२२) अनुसार ०–५ महिनाका बालबालिकामध्ये ५६% मात्र मात्रै निशुल्क÷एक्सक्लुसिभ स्तनपान गराई रहेको तथ्य रहेको छ । तर जन्मदेखि शुरू गरी २ वर्ष उमेरसम्म स्तनपान गराउने महिलाको संख्या भने राम्रो रहेको छ ।
स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) का तथ्यांकअनुसार, लुम्बिनी प्रदेशमा जन्मदेखि ६ महिनासम्म स्तनपान गराउने आमाको प्रतिशत ६१% छ। लुम्बिनी प्रदेशका जिल्लागत तथ्यांक हेर्दा अर्घाखाँची जिल्लामा सबैभन्दा बढी आमाले स्तनपान गराउने गरेका छन्।
यसैगरी, गुल्मीमा ९३%, प्युठानमा ७७%, नवलपरासी पश्चिममा ७४%, रोल्पामा ७३%, रुपन्देहीमा ६३%, बर्दियामा ५९%, बाँकेमा ५७%, कपिलवस्तुमा ५४%, दाङमा ५२% र रुकुम पूर्वमा ४८% आमाले स्तनपान गराउने गरेको पाइएको छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDSH) २०२२ अनुसार, मुलुकभर केवल ५६% आमाले शिशुलाई पूर्ण स्तनपान गराउँछन्, जुन २०१६ को ६६% भन्दा कम हो। यसले देखाउँछ कि प्रत्येक वर्ष स्तनपान गर्ने आमाको संख्या घट्दो क्रममा छ। विगतका तथ्यांकले पनि यही संकेत गर्छन् – १९९६ मा ७५%, २००१ मा ६८%, २००६ मा ५३%, २०११ मा ७०% र २०१६ मा ६६% आमाले मात्र पूर्ण स्तनपान गराएको तथ्याक रहेको छ ।
सप्ताहको उद्देश्य र गतिविधि : विश्व स्तनपान सप्ताहले आमा, परिवार, स्वास्थ्यकर्मी र नीति निर्माता सबैलाई जिम्मेवार बनाउने लक्ष्य राख्छ। नेपालमा यस सन्दर्भमा सञ्चालन हुने केही प्रमुख गतिविधिहरू यसप्रकार छन्
१.सचेतना र जनसन्देश :अस्पताल, स्वास्थ्य चौकी र विद्यालयमा स्तनपानको महत्वबारे गोष्ठी, पोस्टर कार्यक्रम।
२.आमाहरूसँग प्रत्यक्ष संवाद –:सुत्केरी वा गर्भवती महिलालाई सही तरिकाले स्तनपान गराउने अभ्यास र परामर्श।
३.समुदायस्तरको पहुँच : महिला स्वास्थ्य स्वयंसेविका (FCHV) र आमा समूहमार्फत घरघरमा सन्देश पु¥याउने।
४.नीतिगत पहल : स्तनपानमैत्री अस्पताल विस्तार, कार्यस्थलमै स्तनपान कक्ष र मातृत्व बिदा सुनिश्चित गर्ने पहल।
निष्कर्ष
स्तनपान केवल एक पोषण प्रक्रिया मात्र होइन, आमा र शिशुबीचको अमूल्य सम्बन्ध हो। यो शिशुको पहिलो खोप, पहिलो पोषण र जीवनरक्षक अमृत हो। हरेक वर्ष मनाइने विश्व स्तनपान सप्ताह हामीलाई यही सन्देश दिन्छ कि, स्वस्थ पुस्ता निर्माणको सुरुवात आमा को काखबाट नै हुन्छ।लेखक भुसाल लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कार्यरत छन ।
प्रतिकया दिनुहोस्