स्वास्थ्यसमाचार/ पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाजसम्बन्धी रोगहरूको उपचारमा आधुनिक प्रविधि र नवीनतम खोजबारे ज्ञान आदान-प्रदान गर्ने उद्देश्यले बुटवलमा यही जेठ ३० गते ‘ग्यास्ट्रो कोर २.० (GASTRO CORE 2.0) २०२६’ सम्मेलन आयोजना हुने भएको छ।
राजधानी काठमाडौँ बाहिर पहिलो पटक यति ठूलो मात्रामा आयोजना हुन लागेको यस सम्मेलनले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रको पहुँच र गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। सम्मेलनमा नेपाल र भारतका गरी करिब २३० जनाभन्दा बढी वरिष्ठ चिकित्सक तथा विशेषज्ञहरूको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ।
के हो सम्मेलनको मुख्य उद्देश्य
‘ग्यास्ट्रो सेन्टर बुटवल’ को आयोजनामा हुन लागेको यस सम्मेलनको मुख्य ध्येय आधुनिक उपचार पद्धतिलाई नेपाली चिकित्सकहरूसम्म पुर्याउनु हो। सम्मेलनका संयोजक तथा वरिष्ठ पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डा. मोहन भुसालले पछिल्लो समय विश्व चिकित्सा जगतमा भइरहेका नवीन प्रयोगहरू नेपालमा भित्र्याउन यो सम्मेलन कोसेढुङ्गा सावित हुने वताउनु भयो ।
“पेट तथा कलेजोका जटिल रोगहरूको उपचारका लागि नेपाली बिरामीहरू विदेश धाउनुपर्ने बाध्यता छ,” डा. भुसालले भन्नु भयो, “हाम्रो लक्ष्य भनेको अत्याधुनिक प्रविधिलाई स्वदेशमै भित्र्याउने र यहाँका चिकित्सकहरूको क्षमता अभिवृद्धि गर्ने हो। कम खर्चिलो र प्रभावकारी उपचार पद्धतिलाई नेपाली चिकित्सकहरूसम्म पुर्याउनु नै यस सम्मेलनको मुख्य उपलब्धि भुसालको भनाई छ ।”
विशेष सत्र र कार्यपत्रहरू
सम्मेलनमा २९ जनाभन्दा बढी विशेषज्ञ चिकित्सकहरूले पेट तथा कलेजो रोगको निदान र उपचारका पछिल्ला वैज्ञानिक विधिहरूमाथि कार्यपत्र प्रस्तुत गर्नेछन्। यसले नयाँ पुस्ताका चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव साटासाट गर्ने र बिरामीको उपचारमा प्रविधिको सही प्रयोग कसरी गर्ने भन्नेबारे व्यावहारिक ज्ञान दिनेछ।
सरकारी र संस्थागत समन्वय
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरे को प्रमुख आतिथ्य तथा स्वास्थ्य निर्देशनालयका उच्च पदाधिकारीहरूको उपस्थिति रहने बताइएको छ। सम्मेलनलाई सफल बनाउन ‘नेप्लिज सोसाइटी अफ ग्यास्ट्रोएन्टेरोलोजी (NSG)’, ‘लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी’ र भारतको नयाँ दिल्लीस्थित ‘बीएलके म्याक्स सुपर स्पेसियालिटी हस्पिटल’ ले प्राविधिक समन्वय गरिरहेको आयोजक संस्थाले जनाएको छ ।
यस सम्मेलनले बुटवललाई स्वास्थ्य सेवाको एउटा बलियो ‘हब’ (केन्द्र) को रूपमा स्थापित गर्ने र स्वास्थ्य पर्यटनको सम्भावनालाई समेत बढाउने विश्वास गरिएको छ।



प्रतिकया दिनुहोस्