स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त पाँच जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। मुख्यमन्त्री चेतनारायण आचार्य को सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।
शपथ ग्रहणपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरे ले प्रदेशवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो।
पदबहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री घिमिरेले स्वास्थ्य क्षेत्रको गुम्दै गएको छविलाई उकास्दै जनताको स्वास्थ्य पहुँच र मौलिक अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
उहाँले स्वास्थ्य संस्थाहरूमा देखिएका विभिन्न समस्या, सुशासनको अभाव, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहमा रहेका चुनौतीहरूको समाधानका लागि विशेष पहल गर्ने बताउनुभयो। “स्वास्थ्य क्षेत्रका समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्नेछु,” मन्त्री घिमिरेले भन्नुभयो।
उहाँले स्वास्थ्य सेवालाई जनताको घरदैलोसम्म पुर्याउने, स्वास्थ्य संस्थाहरूको सेवा प्रभावकारी बनाउने तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने वातावरण सिर्जना गर्न आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


प्रतिकया दिनुहोस्