आजको आधुनिक र व्यस्त जीवनशैलीसँगै मानिसहरूमा मानसिक तनाव, चिन्ता र एक्लोपन बढ्दै गएको छ। विशेषगरी बालबालिका र किशोर–किशोरीहरू सानो-सानो कुरामा निराश हुने, आफूलाई कमजोर ठान्ने र भावनात्मक रूपमा असुरक्षित बन्ने अवस्था बढ्दो छ। यही कारणले आज आत्महत्या समाजको गम्भीर र संवेदनशील समस्याको रूपमा देखा परेको छ। आत्महत्या कुनै समस्याको समाधान होइन, बरु क्षणिक आवेगमा लिइएको यस्तो निर्णय हो, जसले परिवार, साथीभाइ र सम्पूर्ण समाजलाई जीवनभर पीडा दिन्छ।
धेरैजसो आत्महत्याका घटनाको पछाडि मानसिक समस्या लुकेको हुन्छ। मानिस बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै तनाव, डर, चिन्ता, निराशा र असफलताको पीडासँग संघर्ष गरिरहेको हुन सक्छ। परिवारभित्रको झगडा, अभिभावकबाट माया र समय नपाउनु, पढाइको अत्यधिक दबाब, प्रेममा असफलता, आर्थिक समस्या, सामाजिक अपमान वा साथीभाइबाट हेपाइ जस्ता कारणले मानिसको मन कमजोर बन्न थाल्छ। जब मानिसले आफ्नो पीडा कसैसँग बाँड्न सक्दैन, तब ऊ झन् एक्लोपन र निराशातर्फ धकेलिन्छ।
आजको समयमा मोबाइल फोन र सामाजिक सञ्जालले पनि मानसिक स्वास्थ्यमा ठूलो असर पुर्याइरहेको छ। पहिले परिवारसँग बसेर दुःख–सुख साट्ने, रमाइलो गर्ने र खुलेर कुरा गर्ने वातावरण हुन्थ्यो। अहिले धेरै बालबालिका र युवाहरू मोबाइल, गेम, टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जालमै सीमित भइरहेका छन्। सामाजिक सञ्जालमा अरूको देखावटी सफलता र जीवनशैली देखेर आफूलाई कमजोर वा असफल ठान्ने प्रवृत्ति बढेको छ। कसैले गरेको नराम्रो टिप्पणी, अपमान वा बेवास्ताले पनि उनीहरूको मनमा गहिरो चोट पुर्याउन सक्छ।
मानसिक समस्या सुरु हुँदा मानिसको व्यवहारमा परिवर्तन देखिन थाल्छ। धेरै चुप लाग्ने, एक्लै बस्न खोज्ने, धेरै सोचिरहने, झर्किने, निराशाका कुरा गर्ने, कसैसँग बोल्न मन नलाग्ने वा जीवनप्रति आशा हराएजस्तो व्यवहार देखिन सक्छ। यस्ता संकेतलाई सामान्य सम्झेर बेवास्ता गर्नु हुँदैन। समयमै ध्यान दिन सके ठूलो दुर्घटना हुनबाट जोगाउन सकिन्छ।
यदि कुनै बालबालिका, किशोर–किशोरी वा अन्य व्यक्तिमा यस्तो व्यवहार देखिएमा तुरुन्त मनोपरामर्श गर्नु आवश्यक हुन्छ। मानसिक रोग विशेषज्ञ, मनोपरामर्शदाता वा सम्बन्धित चिकित्सकसँग समयमै सल्लाह लिनु अत्यन्त महत्वपूर्ण हुन्छ। मानसिक रोग पनि अन्य रोगजस्तै उपचार गर्न सकिने समस्या हो। “मानिसले के भन्लान्” भनेर डराएर बस्नु हुँदैन। समयमै उपचार, माया, साथ र परामर्श पाए धेरै मानिस पुनः सामान्य र खुसी जीवनमा फर्किन सक्छन्।
आत्महत्या रोक्न परिवार, विद्यालय र समाज सबैको महत्वपूर्ण भूमिका हुन्छ। परिवारले बालबालिकालाई माया, समय र साथ दिनुपर्छ। उनीहरूको भावना बुझेर खुलेर कुरा गर्ने वातावरण बनाउनु आवश्यक छ। विद्यालयले केवल किताबको शिक्षा मात्र होइन, मानसिक स्वास्थ्य, सकारात्मक सोच र जीवन उपयोगी व्यवहारिक शिक्षा पनि दिनुपर्छ। खेलकुद, पुस्तक पढ्ने बानी, सिर्जनात्मक गतिविधि र परिवारसँग समय बिताउने संस्कारले मानसिक स्वास्थ्यलाई सकारात्मक बनाउँछ।
आत्महत्याका मुख्य कारणहरू:
* अत्यधिक तनाव र डिप्रेसन
* पारिवारिक झगडा
* प्रेममा असफलता
* आर्थिक समस्या र बेरोजगारी
* सामाजिक अपमान र हेपाइ
* एक्लोपन र निराशा
* लागुऔषध तथा मदिरा दुव्र्यसन
मानसिक समस्याहरू:
* डिप्रेसन (अवसाद)
* चिन्ता र डर
* अत्यधिक तनाव
* निद्रा समस्या
* आत्मविश्वासको कमी
* बाइपोलार डिसअर्डर
* मानसिक थकान र निराशा
रोकथामका उपायहरू:
✔️ परिवार र साथीहरूसँग खुलेर कुरा गर्ने
✔️ समयमै मनोपरामर्श तथा उपचार लिने
✔️ एक्लोपन हटाएर सामाजिक सम्बन्ध बढाउने
✔️ सकारात्मक सोच र आत्मविश्वास विकास गर्ने
✔️ मोबाइल र सामाजिक सञ्जालको सही प्रयोग गर्ने
✔️ तनाव व्यवस्थापन र योग/ध्यान गर्ने
✔️ आत्महत्याको संकेत देखिए तुरुन्त सहयोग खोज्ने
सन्देश:
“जीवन अमूल्य छ।
दुःख र समस्या जीवनका हिस्सा हुन्, तर हरेक समस्याको समाधान सम्भव हुन्छ।”
त्यसैले निराश नभई आफ्नो मनका कुरा परिवार, साथी वा विशेषज्ञसँग साझा गरौं।
एकअर्कालाई माया, साथ, सम्मान र हौसला दिऔं।
मानसिक स्वास्थ्यप्रति सचेत बनौं र आत्महत्या जस्तो दुखद घटनाबाट समाजलाई जोगाऔं।
ढकाल निवर्तमान केन्द्रीय अध्यक्ष नेपाल फार्मेसी संघ (अमेरिका बसाई छोडेर ४ बर्षदेखि नेपालमा स्वास्थ्य क्षेत्रमा सेवारत )


प्रतिकया दिनुहोस्