लुम्बिनी प्रादेशिक अस्पतालको चमेनागृह टेन्डर खुला न्यूनतम ४२ लाख

हाल वार्षिक २५ लाखमा सञ्चालन भैरहेको

स्वास्थ्यसमाचार/ लामो समयदेखि टेन्डर प्रक्रिया रोकिएको लुम्बिनी प्रादेशिक अस्पताल को चमेनागृह (क्यान्टिन) अन्ततः  टेन्डर गरिएको छ । अस्पताल प्रशासनले नयाँ आर्थिक प्रस्तावसहित चमेनागृह सञ्चालनका लागि प्रक्रिया अघि बढाएको हो ।

अस्पताल स्रोतका अनुसार यसपटक चमेनागृहको न्यूनतम बोलकबोल रकम नै ४२ लाख रुपैयाँभन्दा माथि  हुने  अनुमान गरिएको छ । हाल चमेनागृह वार्षिक करिब २५ लाख रुपैयाँमा सञ्चालन हुँदै आएको छ । अस्पतालमा दैनिक बिरामी, कुरुवा तथा सेवाग्राहीको अत्यधिक चाप रहने भएकाले चमेनागृह आर्थिक रूपमा आकर्षक मानिन्छ ।

अस्पतालका प्रशासन प्रमुख प्रेम गौतम ले लामो समयपछि प्रक्रिया अघि बढाइएको जानकारी दिँदै अस्पतालको राजस्व वृद्धि र सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन टेन्डर आवश्यक रहेको बताए ।

त्यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिष्णु गौतम ले चमेनागृहलाई व्यवस्थित, स्वच्छ र सेवामैत्री बनाउन प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइएको बताए । उनले अस्पतालभित्र सञ्चालन हुने सेवाहरूलाई मापदण्डअनुसार सञ्चालन गर्न प्रशासन प्रतिबद्ध रहेको उल्लेख गरे ।

यसअघि तत्कालीन मेसु डा. राजेन्द्र खनाल को कार्यकालमा अस्पतालको चमेनागृहको टेन्डर प्रक्रिया सम्पन्न गरिएको थियो । त्यसपछि  नयाँ टेन्डर प्रक्रिया हुन सकेको थिएन ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :