सैनामैनाका २०८३-०८४ का लागि स्वास्थ्यमा १३ प्रमुख नीति तथा कार्यक्रम

स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको नवौँ अधिवेशनमार्फत प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम जनमुखी रहेको जनप्रतिनिधिहरूले बताएका छन्। स्वास्थ्य क्षेत्रतर्फ विशेषगरी आधारभूत सेवा विस्तार, मातृ–शिशु स्वास्थ्य, नसर्ने रोग नियन्त्रण तथा विपन्न नागरिकको उपचार पहुँच विस्तारलाई केन्द्रमा राखिएको छ।

स्वास्थ्य क्षेत्रमा समेटिएका १३ प्रमुख कार्यक्रमहरू यसप्रकार छन्:

१. सैनामैना आधारभूत अस्पतालमा विशेषज्ञ सेवासहित स्वास्थ्य सेवा सञ्चालन गरिनेछ।
२. स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा विस्तार गरिनेछ।
३. मातृ तथा नवजात शिशुको जटिलता पहिचानका लागि निःशुल्क भिडियो एक्स-रे र प्रोटोकलअनुसार गर्भ जाँच सेवा उपलब्ध गराइनेछ।
४. सबै सुत्केरीलाई स्वास्थ्य संस्थामै प्रसूति गराई नगरपालिकालाई ‘शून्य होम डेलिभरी नगरपालिका’ घोषणा गरिनेछ।
५. सुत्केरी तथा नवजात शिशुका लागि पोषण, सरसफाइ र स्वास्थ्य प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
६. महिला, बालबालिका र किशोरकिशोरीको पोषण सुधार गर्दै पोषणमैत्री स्वास्थ्य संस्था र स्थानीय शासन प्रवर्द्धन गरिनेछ।
७. पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर लगायत नसर्ने रोगहरूको स्क्रिनिङ तथा जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
८. ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती तथा विपन्न नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा निरन्तर गरिनेछ।
९. सिकलसेल एनिमिया र थालसेमिया रोगको स्क्रिनिङ तथा सिकलसेल बिरामी परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिनेछ।
१०. विपन्न नागरिकका लागि उपचारमा पहुँच बढाउन आवश्यक सहयोग तथा स्वास्थ्य सेवा विस्तार गरिनेछ।
११. स्वास्थ्य बिमा पहुँच विस्तार गर्दै नगरका महिला स्वयंसेविका र सर्पदंश उद्धारकर्तालाई निःशुल्क बिमा गरिनेछ।
१२. क्षयरोग र कुष्ठरोग नियन्त्रणका लागि स्क्रिनिङ शिविर सञ्चालन गरी नगरपालिका मुक्त बनाउने लक्ष्य लिइनेछ।
१३. वातावरणीय जोखिम (तातो हावा, शीतलहर र वायु प्रदूषण) न्यूनीकरणका लागि स्वास्थ्य सचेतना तथा संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ।

सम्बन्धित शिर्षक :