अस्पतालजन्य फोहर लाई मोहर बनाउँदै लुम्बिनी प्रादेशिक अस्पताल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल ले अस्पतालजन्य फोहर व्यवस्थापनलाई व्यवस्थित गर्दै त्यसबाट आम्दानी गर्ने नयाँ अभ्यास सुरु गरेको छ। अस्पताल प्रशासनका अनुसार फोहरको वर्गीकरण, पुनः प्रयोगयोग्य सामग्रीको व्यवस्थापन तथा वैज्ञानिक ढंगले संकलन प्रक्रियालाई प्रभावकारी बनाइएपछि अस्पताललाई मासिक करिब ७९ हजार रुपैयाँ आम्दानी हुन थालेको हो।

अस्पतालका प्रशासन प्रमुख प्रेम गौतम ले अस्पतालमा उत्पादन हुने विभिन्न प्रकारका फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न थालेपछि आर्थिक लाभ समेत देखिन थालेको जानकारी दिए। उनका अनुसार प्लास्टिकजन्य सामग्री, खाली सलाइन बोतल, औषधिका कार्टुन, कागज, फलामजन्य सामग्री तथा अन्य पुनः प्रयोग गर्न सकिने वस्तु बिक्रीबाट अस्पतालले मासिक आम्दानी गर्न थालेको हो।

“अस्पतालमा दैनिक ठूलो मात्रामा फोहर उत्पादन हुन्छ। पहिले यस्ता सामग्री अव्यवस्थित रूपमा फालिन्थ्यो, अहिले वर्गीकरण गरेर व्यवस्थापन गर्दा अस्पताललाई आम्दानीसमेत हुन थालेको छ,” गौतमले भने।

उनका अनुसार अस्पतालमा अहिले फोहरलाई सामान्य, संक्रामक, प्लास्टिक, सिसाजन्य, कागज तथा पुनः प्रयोगयोग्य सामग्रीका रूपमा छुट्याएर संकलन गरिन्छ। त्यसका लागि अस्पतालभित्र छुट्टाछुट्टै डस्टबिन र संकलन प्रणालीसमेत व्यवस्थापन गरिएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिष्णु गौतम ले यो अभियानले अस्पतालको सरसफाइ सुधार हुनुका साथै वातावरण संरक्षणमा समेत योगदान पुगेको बताए। उनले अस्पतालले फोहर व्यवस्थापनलाई केवल सरसफाइको विषय मात्र नभई स्रोत व्यवस्थापनको रूपमा अगाडि बढाएको उल्लेख गरे।

“यो अस्पतालमा नयाँ कामको सुरुवात गरिरहेका छौं। यसले अस्पतालको आम्दानी बढ्ने मात्र होइन, अनावश्यक फोहर हटाउन पनि सहज भएको छ,” डा. गौतमले भने। अस्पतालले सुरु गरेको यो अभ्यासलाई स्वास्थ्य संस्थामा फोहर व्यवस्थापनको प्रभावकारी नमूनाका रूपमा हेरिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :