बुटबल/लुम्बिनी प्रदेशको गौरवको परियोजना लुम्बिनी प्रादेशिक अस्पताललाई नै मेडिकल कलेजमा रूपान्तरण गर्नुपर्ने माग सरोकारवाला र विज्ञहरूले तीव्र रूपमा उठाउन सुरु गरेका छन ।
सरकारले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरेसँगै, लुम्बिनी प्रदेशमा अलग्गै नयाँ मेडिकल कलेज खोल्नु उचित हो कि अहिलेकै प्रमुख सरकारी अस्पताललाई शिक्षण अस्पतालमा रूपान्तरण गर्नु उपयुक्त हो? भन्ने बहसले गति लिएको छ।
अवस्थित संरचना र सेवा प्रभावकारिता
बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल हो। हाल वार्षिक ३ लाखभन्दा बढी बिरामीहरूलाई सेवा दिइरहेको यो अस्पताल ३०–३५ वर्षअघि मात्र ५० हजार बिरामीको सेवामा सीमित थियो। यस्तो तीव्र माग र जनविश्वासलाई सम्बोधन गर्न अस्पताललाई Teaching Hospital मा रूपान्तरण गर्नु समयको माग भएको विज्ञहरूको भनाइ छ।
स्रोतको उपयोग, जनशक्ति उत्पादन र गुणस्तरीय सेवा
बरिष्ठ अधिकृत प्रेम गौतम भन्छन्, “यही अस्पताललाई मेडिकल कलेज बनाउने हो भने जनशक्ति उत्पादन, सेवा गुणस्तरमा सुधार, उपकरण र पूर्वाधारको उपयोग सबै एकैसाथ सुनिश्चित हुन्छ।” उहाँका अनुसार आवासीय डाक्टर, प्राध्यापकहरूको सेवा उपलब्ध भई बिरामीलाई अझ प्रभावकारी र दीगो सेवा दिन सकिनेछ।
अर्का सरोकारबाल श्रीराम पाण्डेय भन्छन्, “सरकारी स्वास्थ्य सेवाको गुणस्तर बढाउन Teaching Hospital अपरिहार्य छ। अहिले नै अस्पतालमा भएको लगानीलाई उपयोग गर्दै मेडिकल कलेज सुरु गर्दा राज्यको स्रोत पनि जोगिन्छ।”
त्यस्तै, कमल ज्ञवालीको भनाइमा, “केही अरब रुपैयाँ बच्न सक्छ। भवनहरू बनेकै छन्। एकेडेमिक भवन मात्रै अलिक पर राखे पुग्छ।”
अवसर, चुनौती र दीर्घकालीन सोच
यदि अस्पताललाई नै मेडिकल कलेजमा रूपान्तरण गरियो भने, यसले लुम्बिनी प्रदेशमा चिकित्सा शिक्षा, अनुसन्धान र सेवा तीनै क्षेत्रमा उल्लेखनीय प्रभाव पार्नेछ। राज्यले भर्खरै गरेका अरबौं रुपैयाँको लगानी पनि सदुपयोग हुनेछ।
निष्कर्ष
अलग्गै मेडिकल कलेज खोल्नुभन्दा लुम्बिनी प्रादेशिक अस्पताललाई नै मेडिकल कलेज बनाउनु राज्य, समाज र विद्यार्थी सबैका लागि दीर्घकालीन दृष्टिमा लाभदायी देखिएको छ। यो प्रदेशको गौरवलाई शिक्षाको गन्तव्य बनाउने ऐतिहासिक अवसर हो।
प्रतिकया दिनुहोस्