टुंगियो युनिभर्सल शिक्षण अस्पतालको आन्दोलन, सबै सेवा सुचारु

स्वास्थ्यसमाचार/ १२ बुँदे माग राख्दै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस)मा बिगत चौध दिनदेखि जारी आन्दोलन आइतवारदेखी टुंगिएको छ ।

नेपाल नर्सिङ संघले गत कात्तिक १ गते स्वास्थ्य मन्त्रालयमा पेस गरेका मागलाई अनुशरण गर्दै आन्दोलन सुरु गरेका युसिएमएसका नर्सिङ्ग तथा प्यारामेडिक्स कर्मचारीले बिचबिचमा आफ्ना माग परिमार्जन गर्दै कात्तिक २ गतेदेखि आन्दोलित थिए ।

देशभर आन्दोलनरत नर्स र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच निजी अस्पतालमा कार्यरत नर्सलगायत स्वास्थ्यकर्मीलाई सरकारीसरह मासिक तलब सुविधा दिने सहमति भएपछि यस अस्पतालमा पनि जारी आन्दोलन टुंगिएको हो ।

अस्पतालमा भर्ना भएका डायोलोसिस सेवा बाहेक अन्य सवै सेवा ठप्प पारेर गरिएको यो आन्दोलनबाट निजी क्षेत्रद्वारा सञ्चालित मुलुककै अग्रणी अस्पतालमध्येको यस अस्पताल लामो समयसम्म अस्तव्यस्त हुन पुगेको थियो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पीएसले अस्पतालका नर्सिङ्ग तथा प्यारामेडिक्स कर्मचारीले गरेको आन्दोलन आइतवार दिउँसोदेखि टुंगिएको र सवै सेवा सुचारु भएको जानकारी दिए ।

‘अस्पतालका सवै सेवा आजदेखि पूर्ववतः रुपमा सुचारु भएका छन्’, आइतवार अपरान्ह अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘आइतवार दिउँसो आन्दोलनरत सवै पक्षसँग बसेर छलफल गरेपछि आन्दोलनरत नर्स तथा कर्मचारी दिउँसो २ बजेदेखि आ–आफ्नो कार्यक्षेत्रमा फर्किएका छन् ।’

आन्दोलन सुरु हुनु अघिदेखि नै आपसी छलफल र बार्ताको माध्यमबाट आन्दोलन टुङ्ग्याउनका लागि अस्पताल व्यवस्थापन पक्षले आन्दोलनरत पक्षसँग बसेर पटक पटक पहल गरे पनि सार्थकता पाउन सकेको थिएन ।

नर्सिङ्ग तथा प्यारामेडिक्स कर्मचारीले गरेको आन्दोनलाई फार्मेसी र ल्याबमा कार्यरत कर्मचारीले पनि समर्थन गर्दै ऐक्यबद्धता जनाएका थिए । आन्दोलनरत पक्षले असोज ३१ देखि कात्तिक ९ गतेसम्म चार पटक अस्पताल व्यवस्थापन पक्षसँग माग पेश गरेका थिए ।

अस्पतालका प्रमुख बित्तीय अधिकृत सुरज पौडेलले स्वास्थ्य सचिवको संयोजकत्वमा मन्त्रालयद्वारा गठित कार्यदलले मन्त्रालयमा बुझाएको प्रतिवेदनलाइ नै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन टुँगिएको बताए । पौडेलका अनुसार, प्रतिवेदनमा नर्स, डाक्टर तथा स्वास्थ्यकर्मीलाई सरकारी सरह नै मासिक तलब सुविधा उपलब्ध गराउने सहमति भएको थियो । त्यही सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता यहाँ गरिएको हो ।

‘अन्य मागका वारेमा गत कात्तिक १० गतेको छलफलमा एक किसिमको मौखिक सहमती भैसकेको थियो’, उनले भने, ‘अहिलेको यो आन्दोलन टुँगिएपछि अस्पतालमा अव थप दक्ष कर्मचारीका साथ अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने छौं ।’

अस्पतालका नर्स, डाक्टर तथा स्वास्थ्यकर्मीलाई सरकारी सरह नै मासिक तलब सुविधा उपलब्ध गराउने सहमति भएपछि अस्पताललाई थप आर्थिक भार पर्न जाने भए पनि बिरामी तथा सेवाग्राहीमाथि कुनै पनि प्रकारको सेवा शुल्क थप नगरिने उनले स्पष्ट पारे । लामो समयसम्म भएको आन्दोलनले उपचारका लागि अस्पतालमा पुगेका हजारौं बिरामी समस्यामा पर्दै आएका थिए ।

आन्दोलनरत पक्षले युससिएमएस अस्पतालमा सरकारले तोकेको तलब स्केल अनुसार लागु गरिनु पर्ने, अस्पतलामा पर्याप्त जनशक्तिको व्यवस्था गरिनु पर्ने, उचित ड्युटी समय, विश्राम अवधि र बिदा सुबिधा श्रम ऐन र स्वास्थ्य सेवा मापदण्ड अनुसार गरिनु पर्ने, नर्स तथा प्यारामेडिक्सलाई उचित सम्मान गरिनु पर्ने, अस्पतालमा पर्याप्त चेन्जिङरुम, नर्सिङरुम, लकरको व्यवस्था गरिनु पर्ने माग राखेका थिए ।

यसैगरी, शैक्षिक योग्यता र कार्य अनुभवको आधारमा नियमित स्तर बृद्धि तथा बढुवाको व्यवस्था, सेवा गर्दा जोखिम भत्ताको व्यवस्था, आमा सुरक्षित कार्यक्रम अनुरुप सरकारले तोके अनुरुपको सुबिधा, मासिक तलव पछिल्लो महिनाको पहिलो हप्ता भित्रै उपलब्ध गराइनु पर्ने लगायतका १२ बुँदे माग राखेका थिए ।

युनिभर्सल शिक्षण अस्पतालमा दैनिक ८ देखि ९ सयसम्मको संख्यामा बिरामी ओपीडीमा र इमर्जेन्सीमा ५० को हाराहारी उपचारका लागि आउने गर्छन् । दैनिक सरदर २० जनाको प्रसुतितर्फ र सरदर २५ को संख्यामा अन्य सल्यक्रिया हुने गर्छ । यहाँ नर्सिङ र प्यारामेडिक्स गरी २ सय २० कर्मचारी कार्यरत छन् ।

 

सम्बन्धित शिर्षक :