स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिनेको संख्या तीव्र गतिमा बढेपछि फार्मेसी काउन्टरको संख्या थप गरिएको छ।
सरकारले उक्त अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमका लागि पहिलो प्रस्थान बिन्दुका रूपमा मान्यता दिएपछि सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। इन्द्र ढकालका अनुसार सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन फार्मेसी काउन्टर सात पुर्याइएको वताए।“सेवाग्राहीलाई लामो समय लाइनमा बस्नुपर्ने समस्या कम गर्न काउन्टर विस्तार गरिएको हो,” उनले भने, “अब फार्मेसी सेवामा सहजता आउनेछ।”
स्वास्थ्य बीमा शाखा प्रमुख दिपेन्द्र पौडेलका अनुसार अस्पतालमा ओपीडी सेवातर्फ दैनिक १,२सय भन्दा बढी र आकस्मिक सेवातर्फ करिब १०० जना सेवाग्राही आउने गर्छन्। अस्पतालमा भर्ना भएर उपचाररत बिरामी दैनिक ७०–८० जनासम्म हुने गरेको उनको भनाई छ ।
पछिल्लो आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत करिब १ लाख ६० हजार सेवाग्राहीले उपचार सेवा लिएका थिए। सो अवधिमा अस्पतालले ३५ करोड रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराएको वताईएको छ ।
फार्मेसी इन्चार्ज पदम खनालका अनुसार यसअघि दुईवटा काउन्टरबाट सेवा दिइँदै आएकोमा अब सातवटा काउन्टर सञ्चालनमा आएको बताए । फार्मेसीमा हाल ८ जना कर्मचारी कार्यरत छन् र थप ६ जना कर्मचारी नियुक्त गर्ने तयारी भइरहेको बताए।
अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवालाई प्रभावकारी र चुस्त दुरुस्त बनाउनका लागि प्रयासरत रहेको उल्लेख गरे ।
लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाका रुपमा अस्पतालको अत्याधुनिक भवन निर्माणधिन अवस्थामा रहेको छ । अस्पतालको १२ तगे भवन निर्माण भैरहेको छ ।

प्रतिकया दिनुहोस्