स्वास्थ्यसमाचार /स्वास्थ्य सेवामा सुधार तथा सहज पहुँच बिस्तार गर्दै लुम्बिनी प्रादेशिक अस्पतालले इन्डोस्कोपी सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गरेको छ ।
अस्पतालमा इन्डोस्कोपीका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै आइतबारदेखि दैनिक रुपमा नै यो सेवा उपलब्ध गराउने तयारी भएको इसिजी/इन्डोस्कोपी विभाग प्रमुख भेषराज बञ्जाडेले वताए ।
‘विगतमा इन्डोस्कोपीका लागि ३ महिना लामो समय कुर्नुपर्ने अवस्था थियो । उक्त संख्या र समयावधिलाई घटाउँदै दुई महिना, एक महिना हुँदै अब एकै दिनमा सेवा उपलब्ध गराउने गरी तयारीमा पुगेका छौं ।’–बञ्जाडेले भने, ‘सीमित श्रोत साधन र जनशक्तिका बाबजुद पनि लामो र कठोर प्रयासपछि नै हामी यो सफलतामा पुग्न सकेका हौं ।’ इन्डोस्कोपी सेवाका लागि आइतबार, मँगलबार र विहिबार ३ दिन समय छुट्याउँदै आएकोमा अब दैनिक रुपमानै यो सेवा उपलब्ध गराइने बताए ।
अस्पतालमा रहेको ३ वटा इन्डोस्कोपी मेसिनबाट अब दैनिक ३० देखि ५० जना सम्मलाई यो सेवा उपलब्ध गराइने छ । एउटा मेसिनबाट दैनिक १० जनासम्मलाई सेवा उपलब्ध गराउन सकिने बञ्जाडे बताउँछन् ।इन्डोस्कोपी बाट शरीरका विभिन्न भित्री अङ्गहरुमा भएका घाउ तथा रोगहरु पत्ता लगाउने गरिन्छ । इन्डोस्कोपी गर्दा शरिरमा एउटा पातलो नली हालिन्छ जसमा इन्डोस्कोप क्यामरा राखिएको हुन्छ ।
यो क्यामराले शरिरको आन्तरिक अंगको तस्बिर खिच्ने गर्छ जुन सिधा मोनिटरमा देख्न सकिन्छ । यसको अर्थ यो हो कि इन्डोस्कोपीको अर्थ शरिर भित्रका अंगको परिक्षण गर्नु हो ।जब शरीरभित्र कुनै समस्या वा संक्रमण हुन्छ तब विभिन्न लक्षण देखिने गर्छ जुन सतहमा हेर्दा डाक्टरले बुझ्न सक्दैनन् । त्यसकारण इन्डोस्कोपीको आवश्यक पर्छ ।
साधारणतया नाकको समस्या वा साइनस, गलाको समस्या, यदि कसैलाई खाने कुरा निल्न समस्या भएमा, बान्ता गर्दा रगत देखिएमा, आन्द्रा सुन्निए वा पीडा हुँदा, कब्जियतबाट ग्रसित हुँदा, पित्त थैलीमा पत्थरी हुँदा, पेटको अल्सर हुँदा, गर्भाशयको जाँचका लागि, पिसाबबाट रगत आउँदा, दिसाबाट रगत आउँदा, गर्भावस्थामा भ्रुण जाँच, गम्भीर शल्यक्रिया अघि तथा कानको रोगका लागि इन्डोस्कोपी गर्ने गरिन्छ ।
यसैबीच अस्पतालमा क्रोनोस्कोपी सेवालाई पनि थप सहज बनाउँदै लगिने विभाग प्रमुख बञ्जाडेले जानकारी दिए । क्रोनोस्कोपीका लागि इन्डोस्कोपी भन्दा लामो समय लाग्ने भएकाले यसका लागि पालो कुर्नुपर्ने सेवाग्राहीको संख्या तथा कुर्नुपर्ने समयावधी घटाउन केही समय लाग्ने उनले बताए ।
पेटमा समस्या भएमा,क्यान्सरको पारिवारिक इतिहास परीक्षण, क्यान्सर पत्ता लगाउन तथा त्यसको निगरानी गर्न, ठूलो आन्द्रामा भएको मासु पत्ता लगाउन र हटाउन तथा शल्यक्रियापछिको निगरानीका लागि क्रोनोस्कोपी गर्ने गरिन्छ ।
अस्पतालमा सेवालाई सहज बनाउन अस्पताल प्रशासनले हरसम्भव प्रयासहरूलाई जारी राखेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले वताए । सोही अन्तरगत इन्डोस्कोपीका लागि महिनौं पालो कुर्नुपर्ने बाध्यताको अन्त्य गरिएको बताउँदै उनले त्यसका लागि अतिरिक्त शुल्क समेत नलाग्ने र पहिलेकै शुल्क दरमा सेवा लिन सकिने जानकारी गराए ।
लुम्बिनी प्रदेश आपूर्ति केन्द्रको सहयोगमा इन्डोस्कोपी मेसिनको व्यवस्था गरी एकै दिनमा सेवा उपलब्ध गराउन थालिएको डा ढकालले बताए ।
प्रतिकया दिनुहोस्