दाङमा जुकाको औषधि घाँटीमा अड्किँदा १८ महिनाकी बालिकाको मृत्यु

स्वास्थ्यसमाचार/ दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा शनिबार भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमकै क्रममा १८ महिनाकी जमुना यादवको ज्यान गएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाले खुवाएको जुकाको औषधि घाँटीमा अड्किँदा जमुनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिनुभयो ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानले देशभरका लाखौं बालबालिकाको स्वास्थ्य सुधारमा योगदान पुर्‍याउँदै आएको भए पनि यस घटनाले बालबालिकालाई औषधि खुवाउँदा सावधानी र सतर्कता कत्तिको जरुरी हुन्छ भन्ने गम्भीर प्रश्न उठाएको छ ।

स्थानीयका अनुसार, स्वास्थ्य स्वयंसेविकाले आफ्नो जिम्मेवारीअनुसार औषधि खुवाएकी थिइन्, तर यो दुर्घटनाले गाउँभर शोक फैलाएको छ । प्रहरीका अनुसार शवको पोष्टमार्टम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरी परिवारलाई बुझाइएको छ ।

सम्बन्धित शिर्षक :