प्यूठानमा दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु

स्वास्थ्यसमाचार/प्यूठानमा दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु गरिएको छ । जिल्ला खोप समन्वय समिति प्यूठानले आज एक कार्यक्रमको आयोजना गरी अभियान शुभारम्भ गरेको हो ।

प्यूठान नगरपालिकाका २ को शहरी स्वास्थ्य केन्द्र दाखाक्वाडीबाट खोप अभियान सुभारम्भ गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवंम प्यूठान नगरपालिकाका प्रमुख विष्णु योगीले यो अभियानलाई सफल र प्रभावकारी बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

रुवेलाको महामारी नियन्त्रण गर्न यो अभियानलाई सार्थक बनाउनु सबै नागरिकको कतब्र्य तथा दायित्व भएको बताउनुभयो । यस्तै कार्यक्रम बोल्दै जिल्ला खोप समन्वय समिति प्यूठानका संयोजक तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि सीले अभियानलाई सफल बनाउन सबै पक्षको भूमिका आवश्यक रहेको बताउनुभयो । यो अभियानमा खोप लगाउन कुनै पनि बालबालिका छुट्न नहुने बताउनुभयो ।

जिल्लामा २२ हजार ८ सय २४ जना बालबालिकालाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । यसको लागि २५ हजार ५ सय डोज खोप प्राप्त भएर सबै स्थानीय तहरुमा पठाइसकिएको बताउनुभयो । उहाँका अनुसार बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । जिल्लामा खोप १३ देखि १९ सम्म सञ्चालन हुने कार्यालय प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

खोप लगाउँदा सामान्य दुखाइ भए पनि अरु समस्या नहुने भएकोले ढुक्क भएर खोप लगाउन र अत्याधिक ज्वरो आएको, अस्पतालमा भर्ना भएर उपचार गराइरहेको तथा क्यान्सर लगायतका उपचार गराइरहेको अवस्थामा भने स्वास्थ्यकर्मीसँग सल्लाह गर्नुपर्ने उहाँले बताउनुभयो । ९ महिनादेखि ५ बर्ष उमेरका बालबालिकाहरुलाई खोप दिन लागिएको हो ।

खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालय प्यूठानले अनुरोध गरेको छ ।जिल्ला खोप समन्वय समिति प्यूठानका संयोजक तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि।सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरिक्षक कोशलराज बैद्यले गर्नुभएको थियो ।

२०७९ सालको मङ्सिर ३ गतेदेखि गएको पुस १५ सम्मको तथ्याङ्क अनुसार नेपालमा एक हजार ३४९ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित मध्ये एक जनाको ज्यानसमेत गएको थियो ।

नेपालमा बितेको ३५ वर्षदेखि दादुरा र ११ वर्षदेखि दादुरा रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ । सरकारले सन् २०१९ मै दादुरा–रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । त्यो लक्ष्य प्राप्त नभएपछि पुनः २०२३ सम्ममा नियन्त्रण गर्ने अर्को लक्ष्य राखेको थियो । सन् २०२३ को लक्ष्यसमेत नभएपछि पुनः सन् २०२६ सम्ममा निवारण गर्ने अर्को लक्ष्य सरकारले निर्धारण गरेको छ ।

सम्बन्धित शिर्षक :