रिले अनसनमै लगाए भैरहवा मेडिकल कलेजका विद्यार्थीले दसैं टीका

स्वास्थ्यसमाचार /प्रिन्सिपलको राजीनामा माग गर्दै आन्दोलित भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस युसिएमएसका विद्यार्थीहरूले अनसन स्थलमै दसैंको टीका लगाएका छन्।

मेडिकल कलेजका प्रिन्सिपलको राजीनामा माग गर्दै सुरू गरेको रिले अनसनको नवौं दिन मंगलबार विद्यार्थीहरूले त्यहीँ टीका लगाएर दसैं मनाएका हुन्। मेडिकल कलेजको ओपिडी ब्लक अगाडि अनसनरत विद्यार्थीहरूले सिनियर विद्यार्थी र आवासीय चिकित्सकहूको हातबाट टीका र जमरा लगाए।

मेडिकल कलेज प्रशासनले ड्रेस कोड अनिवार्य गरेपछि दुई साताअघि सुरू भएको आन्दोलन नौ दिनदेखि भने प्रिन्सिपलको राजीनामा माग गर्दै रिले अनसनसम्म आइपुगेको हो।

हिन्दु नेपालीको सबभन्दा ठूलो चाड दसैंका बेला घरपरिवार छोडेर रिले अनसनमा बस्नु आफूहरूको रहर नभई मेडिकल कलेज प्रशासनले निम्त्याइदिएको बाध्यात्मक परिस्थिति रहेको विद्यार्थीहरूको भनाइ छ।

मेडिकल कलेज प्रशासनले आफूहरूमाथि गर्दै आएको ज्यादतीविरूद्ध आन्दोलनमा लाग्दै गर्दा बुबाआमाको हातबाट दसैंको टीका लगाउन जान नसकेको एक विद्यार्थीले बताए।पहिलोपटक घरभन्दा बाहिर दसैं मनाउनुपर्दा परिवारलाई धेरै मिस गरियो, उनले भने।

एमबिबिएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्न विद्यार्थीहरूका लागि मेडिकल कलेज प्रशासनले गोजी बिनाको पहेँलो सर्ट र कालो प्यान्ट ड्रेस कोड तोकेपछि यो विवाद सुरू भएको थियो। विवाद बढ्दै जाँदा अहिले विद्यार्थीहरू प्रिन्सिपल डा। लक्ष्मी पाठकको राजीनामाको मागसम्म पुगेका हुन्।

विवाद बढ्दै गएपछि विद्यार्थीहरूले मेडिकल कलेजमा धर्ना सहितको आन्दोलन सुरू गरेका थिए। सोही क्रममा डा। पाठकले सामाजिक सञ्जालमार्फत आफूलाई विद्यार्थीहरूले आफ्नो कार्यकक्षमै बन्धक बनाएर राखेको बताएपछि मानव अधिकारकर्मीहरूको दबाबमा स्थानीय प्रशासनले हस्तक्षेप गरी बाहिर निकालेको थियो।

स्थानीय प्रशासनले आन्दोलन कमजोर पार्न आफूहरूमाथि धरपकड गरेको र प्रिन्सिपल डा। पाठकले पनि विद्यार्थीहरूले बन्धक बनाएको झुटो अभिव्यक्ति दिएर आफूहरूको बदनाम गर्न खोजेको दाबी आन्दोलनरत विद्यार्थीको छ।प्रिन्सिपललाई आफूहरूले बन्धक नबनाएको र आफ्नै हठले प्रहरी प्रशासनको उपस्थितिमा आफ्नो कार्यकक्षमा बसेको उनीहरूले बताएका छन्।

आन्दोलनमा विद्यार्थी मात्र नभइ, आंशिक र आवासीय चिकित्सकहरू समेत गरी ६ सय बढीले साथ दिएका छन्। उनीहरूले मेडिकल कलेजका प्रिन्सिपल डा। पाठकको राजीनामा नआउँदासम्म रिले अनसन जारी रहने बताएका छन्।

अहिलेको आन्दोलन ड्रेस कोडका कारण मात्र नभइ आफूहरूमाथि भइरहेको श्रमशोषण र परीक्षा दिन गरिएको प्रतिबन्धविरूद्ध भएको बताएका छन्।

हाम्रो आन्दोलन ड्रेसको विषयबाट सुरू भएकाले त्यसैमा अड्किएको भन्ने लाग्न सक्छ। तर त्यति मात्र होइन। हामीमाथि मेडिकल कलेजले गर्ने श्रमशोषण र विभिन्न नाममा गरिने ज्यादतीविरूद्ध समेत हो,ु विद्यार्थीहरूले भने।

सरकारले तल्लो तहको श्रमिककै पारिश्रमिक १७ हजार ५ सय रूपैयाँ तोकेको छ। तर लाखौं रूपैयाँ खर्च गरेर एमबिबिएस, बिडिएस अध्ययन गरेका आंशिक चिकित्सकलाई मेडिकल कलेजले १० हजार रूपैयाँ पारिश्रमिकमा काम गराइरहेको उनीहरूको भनाइ छ।

विद्यार्थीहरूले कुनै गुनासो लिएर मेडिकल कलेज प्रशासनमा जाँदा गुनासो सुन्नुको सट्टा आफूहरूलाई अपमान गर्दै बाहिर निकाल्ने गरेको गुनासो गरे।

कुनै गुनासो लिएर जाँदा प्रिन्सिपलले गेट आउटु भन्दै बाहिर निकाल्नुहुन्छ। सम्बन्धित विषयका निर्णय गर्दा रायसुझाव लिनु त कता हो कता, ड्रेस नलगाएको निहुँमा एमबिबिएसको अन्तिम वर्षको कक्षा नै रद्ध गरिदिनुभयो,एमबिबिएस चौथो वर्षका एक विद्यार्थीले भने।

अभिभावक बन्नुपर्ने प्रिन्सिपलले कुरै नसुन्ने र मानसिक यातना दिई धम्क्याएको उनीहरूको आरोप छ।विद्यार्थीका कुनै समस्या नसुनिदिने व्यक्ति प्रिन्सिपल हुन सक्दैन। विगतका वर्षमा पनि उहाँकै कारण धेरै विद्यार्थीको परीक्षा रोकिएको थियो। अहिले पनि उहाँ त्यही हठमा रहेपछि राजीनामा नै उत्तम विकल्प हो, उनीहरूले भने।

विद्यार्थी र आंशिक चिकित्सकको आन्दोलनका कारण मेडिकल कलेजमा हुने उपचार सेवा प्रभावित बनेको छ।विद्यार्थीहरूले अवरोध नगरे पनि आंशिक चिकित्सकहरू उपचार सेवामा सहभागी नभएपछि उपचार प्रभावित बनेको हो।

सधैंजसो बिरामीले भरिने मेडिकल कलेजका बेडहरू नौ दिनदेखि खाली छन्। अस्पतालको इमर्जेन्सी र ओपिडीसँगै सबै विभागीय ब्लकहरूमा बिरामीको उपस्थिति शून्यप्रायः छ।सेतोपाटीवाट ।

सम्बन्धित शिर्षक :