गुल्मी अस्पतालमा ७ बर्षिय बालिकाको मृत्युपछि तनाव

स्वास्थ्यसमाचार/गुल्मी अस्पताल तम्घासमा ७ बर्षिय बालिकाको मृत्युपछि तनाव भएको छ। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छोरी सात वर्षीय प्रशंसा मरासिनीको मंगलबार बिहान ७.४५ बजे मृत्युु भएको हो ।

प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो। आज बिहान ६ बजेको समयमा बच्चा निदाएकै समयमा एक्कासी इन्जेक्सन लगाइएको थियो ।

इन्जेक्सन लगाउदा बित्तिकै बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे । तर नर्सहरूले समयमै डाक्टर नबोलाउदा र लाहापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै बच्चाको ज्यान गएको पन्थीले बताए । घटनाका प्रत्यक्षदर्शीले समेत रहेका धुर्कोट -०३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लाहापरवाहीले एक बच्चाले ज्यान गुमाउनुपरेको बताए ।

आफू सोमबार साँझदेखि अस्पतालमै रहेको र बच्चा हिज साँझसम्म हिड्ने, खेल्ने गरेकोमा अस्पतालले लापारवाही गर्दा बिरामीको ज्यान गएको बताए ।अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बच्चालाई बान्ता भएपछि भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए ।

अस्पतालले लापरबाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन, भने अहिले गुल्मी अस्पतालमा तनावको स्थिति सृजना भएको छ।

सम्बन्धित शिर्षक :