सरकारी अस्पतालमा सेवाग्राहीको आक्रोश मात्र होइन, उनीहरूको पीडा पनि बुझौँ

आज म आफ्नो सवारीसाधनको नवीकरण गर्न यातायात कार्यालय पुगेकी थिएँ। तर, प्रणालीमा समस्या आएका कारण काम हुन सकेन। आफ्नो काम पूरा नगरी फर्किनुपर्‍यो।

फर्किने क्रममा मनमा एउटा प्रश्न उठ्यो– यदि यही समस्या कुनै सरकारी अस्पतालमा देखिएको भए सेवाग्राहीको प्रतिक्रिया कस्तो हुन्थ्यो होला?

म एक नर्स हुँ। बिरामी तथा उनीहरूका आफन्तले भोग्ने पीडा, डर, चिन्ता र असहायपनलाई नजिकबाट बुझ्ने अवसर पाएकी छु। त्यसैले मनमा अर्को प्रश्न पनि उठ्यो– अन्य सरकारी कार्यालयको तुलनामा सरकारी अस्पतालमा सेवाग्राही बढी आक्रामक भएको किन देखिन्छ?

यसको एउटा प्रमुख कारण अस्पतालसँग जोडिएको संवेदनशीलता, पीडा र आशा हुन सक्छ।

अन्य सरकारी कार्यालयमा मानिस कुनै सेवा लिन, कागजात बनाउन वा आफ्नो काम पूरा गर्न पुग्छन्। काम नभएमा निराश हुन्छन् र अर्को दिन आएर काम गराउन सक्ने सम्भावना रहन्छ। तर अस्पतालमा आउने मानिस सधैँ सामान्य अवस्थामा हुँदैनन्।

कसैका परिवारका सदस्य गम्भीर बिरामी हुन्छन्, कोही आफ्ना प्रियजनको जीवन रक्षाका लागि चिन्तित हुन्छन् त कोही उपचार खर्च र भविष्यको अनिश्चितताले छटपटाइरहेका हुन्छन्।

उनीहरू अस्पतालमा केवल सेवा लिन आएका हुँदैनन्, मनमा आशा र भरोसा बोकेर आएका हुन्छन्।

यस्तो अवस्थामा सेवा पाउन ढिलाइ हुनु, प्रणालीले काम नगर्नु वा अपेक्षा अनुसार सहयोग नपाउनु उनीहरूका लागि थप पीडाको विषय बन्न सक्छ। त्यही निराशा, डर र असहायपन कहिलेकाहीँ आक्रोशका रूपमा बाहिर आउन सक्छ।

यसको अर्थ आक्रामक व्यवहार सधैँ उचित हुन्छ भन्ने होइन। स्वास्थ्यकर्मी माथि हुने दुर्व्यवहार र हिंसा कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन। तर, सेवाग्राहीको व्यवहारलाई मात्र हेर्नुभन्दा त्यसको पछाडि लुकेको पीडा र परिस्थिति बुझ्ने प्रयास गर्नु पनि उत्तिकै आवश्यक छ।

हामी स्वास्थ्यकर्मी हौँ वा अन्य कुनै सरकारी कार्यालयमा कार्यरत कर्मचारी, सेवाग्राहीसँग गर्ने हाम्रो व्यवहारले ठूलो अर्थ राख्छ। हामीले हरेक समस्या तत्काल समाधान गर्न नसकौँला।

प्रणालीमा समस्या हुन सक्छ, स्रोतसाधनको अभाव हुन सक्छ वा सेवाप्रवाहमा ढिलाइ हुन सक्छ। तर, विनम्रतापूर्वक बोल्न, धैर्यपूर्वक कुरा सुन्न र वास्तविक अवस्थाबारे स्पष्ट जानकारी दिन त सक्छौँ।

कहिलेकाहीँ मानिसलाई समाधान मात्र होइन, आफ्नो समस्या र पीडा कसैले बुझिदिएको अनुभूति पनि चाहिएको हुन्छ। हाम्रो एउटा आश्वासनपूर्ण बोली, व्यवहार र सहयोगले उनीहरूको मनमा रहेको डर र चिन्ता केही कम गर्न सक्छ।

हामीले सबै परिस्थिति परिवर्तन गर्न नसके पनि कठिन परिस्थितिमा रहेका मानिसको पीडा कम गर्न अवश्य सक्छौँ।त्यसैले सरकारी सेवामा आबद्ध हामी सबैले सेवाग्राहीप्रति आफ्नो व्यवहार र जिम्मेवारीलाई आत्मसमीक्षा गर्न आवश्यक छ।

त्यस्तै, सेवाग्राहीले पनि आफ्नो असन्तुष्टि र गुनासो सभ्य तथा मर्यादित ढङ्गले राख्नुपर्छ। सेवा प्रवाहमा देखिएका कमजोरी सुधार्न संवाद, सहकार्य र पारस्परिक सम्मान आवश्यक छ।

हाम्रो लागि कुनै काममा भएको सामान्य ढिलाइ अर्को व्यक्तिका लागि जीवनकै कठिन समयको हिस्सा हुन सक्छ। त्यसैले मानिसको व्यवहार मात्र होइन, त्यस पछाडिको पीडा पनि बुझ्ने प्रयास गरौँ।

विनम्र बनौँ, धैर्य गरौँ र अरूको कुरा ध्यानपूर्वक सुनौँ। किनकि कहिलेकाहीँ हाम्रो एउटा मीठो बोलीले पनि कसैको कठिन दिनलाई केही सहज बनाउन सक्छ।

नर्स लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल

सम्बन्धित शिर्षक :