आम्दा अस्पतालमा एक वर्षमा १ हजार २४४ सुत्केरी, ६२ हजारले लिए ओपीडी सेवा

स्वास्थ्यसमाचार/बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालमा बिरामी को चाप बढ्दै गएको छ । अस्पतालले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्याङ्कअनुसार एक वर्षको अवधिमा ६२ हजार ९४ पटक बहिरङ्ग (ओपीडी) सेवा प्रवाह भएको छ ।

अस्पतालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा ४४ हजार ४५९ पटक ओपीडी सेवा प्रवाह भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा ओपीडी सेवा लिने बिरामीको सङ्ख्यामा १७ हजार ६३५ ले वृद्धि भएको देखिन्छ । यो करिब ३९.७ प्रतिशतको वृद्धि हो ।

अस्पतालमा सबैभन्दा बढी बालरोगसम्बन्धी सेवा लिनेको सङ्ख्या रहेको छ । एक वर्षमा २६ हजार २२४ पटक बालरोग सेवा प्रवाह भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी स्त्री तथा प्रसूति रोगसम्बन्धी ९ हजार २२९, शल्यचिकित्सासम्बन्धी ४ हजार ९७२, सामान्य चिकित्सासम्बन्धी ३ हजार ९९९ र नाक, कान तथा घाँटीसम्बन्धी ९४५ पटक सेवा प्रवाह भएको छ ।

यसैगरी, खोप सेवा ३ हजार ९८५ पटक, पहिलो प्रकारको मधुमेहसम्बन्धी सेवा ३७३ पटक, दन्त सेवा २८१ र हाडजोर्नीसम्बन्धी सेवा ३४७ पटक प्रदान गरिएको छ । परीक्षण तथा अन्य प्रक्रियासम्बन्धी सेवा ११ हजार ४८६ पटक प्रवाह भएको तथ्याङ्कमा उल्लेख छ ।

अस्पतालमा आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या पनि उल्लेख्य रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा १४ हजार ३६४ पटक आकस्मिक सेवा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो सेवा १४ हजार ४९ पटक प्रवाह भएको थियो । यसअनुसार आकस्मिक सेवामा ३१५ ले वृद्धि भएको छ ।

अस्पतालमा एक वर्षमा ८ हजार ७०९ जना बिरामी भर्ना भएका छन् । अघिल्लो आर्थिक वर्षमा ८ हजार ८३७ जना भर्ना भएका थिए । भर्ना भएर उपचार गराउनेमध्ये सबैभन्दा धेरै ४ हजार १३९ जना बालरोग विभागमा रहेका छन् ।

स्त्री तथा प्रसूति विभागमा २ हजार ४८ जना भर्ना भएका छन् । त्यस्तै सघन उपचार कक्ष (आईसीयू) मा ७६४, नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा ९७७ र उच्च निर्भरता उपचार कक्ष (एचडीयू) मा ७८१ जना भर्ना भएर उपचार गराएका छन् ।

एक वर्षमा १ हजार २४४ प्रसूति सेवा

अस्पतालमा एक वर्षको अवधिमा १ हजार २४४ पटक प्रसूति सेवा प्रदान गरिएको छ । तीमध्ये ३६३ जनाको सामान्य प्रसूति, १३७ जनाको जटिल प्रसूति र ७४४ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको तथ्याङ्कमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ हजार १४९ पटक प्रसूति सेवा प्रदान गरिएको थियो । त्यस वर्ष ३८८ जनाको सामान्य प्रसूति, १३६ जनाको जटिल प्रसूति र ६२५ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो ।

सामान्य प्रसूतिको तुलनामा शल्यक्रियामार्फत प्रसूति गराउनेको सङ्ख्या बढी देखिएको छ । गत आर्थिक वर्षमा शल्यक्रियामार्फत प्रसूति गराउनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ११९ ले बढेको छ ।

शल्यक्रियाको सङ्ख्या पनि बढ्यो

अस्पतालमा आर्थिक वर्ष २०८२/८३ मा १ हजार ९५९ वटा शल्यक्रिया भएका छन् । अघिल्लो आर्थिक वर्षमा १ हजार ८४६ वटा शल्यक्रिया भएका थिए । एक वर्षमा शल्यक्रियाको सङ्ख्या ११३ ले बढेको छ ।

गत आर्थिक वर्षमा स्त्री तथा प्रसूति रोगसम्बन्धी १ हजार ८२ र बालरोगसम्बन्धी ८२७ वटा शल्यक्रिया भएका छन् । सामान्य शल्यक्रिया ४७ वटा, हाडजोर्नीसम्बन्धी एउटा र नाक, कान तथा घाँटीसम्बन्धी दुईवटा शल्यक्रिया भएका छन् ।

अस्पतालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्षको सुरुमा २४ जना चिकित्सक रहेकामा पछिल्ला महिनामा यो सङ्ख्या २६ पुगेको छ । नर्सिङ जनशक्ति भने सुरुका महिनामा ७६ रहेकामा पछिल्ला महिनामा ६९ रहेको देखिन्छ । अस्पतालमा कुल कर्मचारीको सङ्ख्या २१५ बाट घटेर २०२ पुगेको छ ।

आम्दानी २७ करोडभन्दा बढी

अस्पतालले आर्थिक वर्ष २०८२/८३ मा २७ करोड १९ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । सोही अवधिमा २४ करोड ५६ लाख ६६ हजार रुपैयाँ खर्च भएको तथ्याङ्कमा उल्लेख छ । यसअनुसार आम्दानी र खर्चबीच २ करोड ६३ लाख १८ हजार रुपैयाँको अन्तर देखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा अस्पतालको आम्दानी २४ करोड ३२ लाख २२ हजार रुपैयाँ र खर्च २१ करोड ७७ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

बालबालिका तथा महिलाको स्वास्थ्य उपचारलाई मुख्य सेवा क्षेत्र बनाएको अस्पतालको तथ्याङ्कले ओपीडी, आकस्मिक उपचार, प्रसूति तथा शल्यक्रिया सेवाको उपयोग बढ्दै गएको देखाएको छ । विशेषगरी बालरोग तथा स्त्रीरोग सेवामा बिरामीको चाप बढी रहेको छ ।

अस्पतालले आफ्नो वेबसाइटमार्फत तीन आर्थिक वर्षको सेवा विवरण सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कले अस्पतालको सेवा प्रवाह, बिरामीको चाप, जनशक्ति र आर्थिक अवस्थाको मूल्याङ्कन गर्न आधार प्रदान गरेको छ ।

सम्बन्धित शिर्षक :