भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा सुरु

स्वास्थ्यसमाचार/भेरी अस्पतालमा फोक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ।

अस्पतालले कात्तिक १७ गतेदेखि डा. रञ्जित पाण्डेमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो। सेवाको अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देल, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाललगायतले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।

नयाँ सेवा प्रत्येक हप्ताको मंगलबार र बिहीबार ओपीडी कक्ष ७ (ए) बाट उपलब्ध हुने अस्पतालले जनाएको छ।

यो सेवाबाट फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी रोग, गम्भीर अवस्थाका बिरामीको सघन उपचार र निद्रासम्बन्धी समस्याको पहिचान तथा उपचारमा सहज हुने अपेक्षा गरिएको छ।

विशेषज्ञ सेवा सुरु भएसँगै यस्ता समस्याका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने र अस्पतालबाटै विशेषज्ञ परामर्श तथा उपचार पाउने अवसर विस्तार भएको छ।

भेरी अस्पतालले विशेषज्ञ सेवा विस्तार गर्दै सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ।

सम्बन्धित शिर्षक :