फिजियोथेरापी मानव शरीरको गतिशीलता र पुनर्स्थापनाको विज्ञान हो र आधुनिक स्वास्थ्य प्रणालीको अभिन्न अङ्ग पनि। ढाड वा गर्धनको दुखाइ, जोर्नीका समस्या, खेलकुदमा लागेको चोट, स्ट्रोकपछिको पुनर्स्थापना र शल्यक्रियापछिको रिकभरीसम्म यसको दायरा फैलिएको छ। तर यसको व्यावहारिक प्रयोग र प्रभावकारिता सम्बन्धित देशको स्वास्थ्य प्रणाली, नियमनकारी संरचना, आर्थिक अवस्था र जनचेतनामा निर्भर हुन्छ। एउटै वैज्ञानिक सिद्धान्त पनि फरक-फरक देशमा फरक सामाजिक र संस्थागत स्वरूपमा प्रयोग भइरहेको देखिन्छ।
नेपालमा फिजियोथेरापी सेवा सर्वसुलभ र आर्थिक रूपमा किफायती छ, तर चिकित्सकको अनावश्यक नियन्त्रण, जनचेतनाको कमी र रिफरल कमिसनको प्रवृत्ति यसका प्रमुख चुनौती हुन्। अर्कोतर्फ अस्ट्रेलियामा बिरामी सजग छन्, सिधै फिजियोथेरापिस्टकहाँ पुग्छन् र फिजियोथेरापिस्टलाई पूर्ण क्लिनिकल स्वायत्तता प्राप्त छ। तर त्यहाँ सेवा निकै महँगो छ र कागजी प्रक्रिया पनि बोझिलो छ। यी दुई फरक अवस्थाको तुलना गर्दा नेपालले के सिक्न सक्छ भन्ने प्रश्न यो आलेखको केन्द्रमा छ।
नेपालको यथार्थ: किफायती र निरन्तर सेवा, तर चिकित्सकीय नियन्त्रण र कमिसनको जञ्जाल
नेपालको फिजियोथेरापी अभ्यासको सबैभन्दा बलियो पक्ष लागत प्रभावकारिता र पहुँच हो। सरकारी अस्पतालमा नाममात्रको शुल्कमा र निजी क्लिनिकमा प्रति सेसन रु. ३०० देखि ५०० सम्ममा सेवा उपलब्ध छ। फलस्वरूप दीर्घकालीन दुखाइ वा शल्यक्रियापछिको पुनर्स्थापनाका बिरामीले हप्तामा २–३ पटकसम्म नियमित उपचार लिन सक्छन्। फिजियोथेरापीमा उपचारको निरन्तरता नै सफलताको मुख्य आधार हो, र यस दृष्टिले नेपालका बिरामीसँग ठूलो अवसर छ।
यसको तुलनामा अस्ट्रेलियामा एक सेसनको औसत शुल्क करिब १२० अस्ट्रेलियन डलर (नेपाली रुपैयाँमा १०,००० भन्दा बढी) पर्छ। त्यति रकमले नेपालमा २० देखि २५ सेसनसम्म निरन्तर उपचार गराउन सकिन्छ। यो तथ्यले नेपालको सेवा कति किफायती छ भन्ने देखाउँछ। तर सेवा सस्तो हुनु नै पर्याप्त होइन। सेवा कसरी, कसको निर्णयमा र कस्तो नैतिक वातावरणमा प्रदान गरिन्छ भन्ने कुराले उपचारको गुणस्तर निर्धारण गर्छ। यहीँ केही गम्भीर व्यावहारिक र नीतिगत समस्याले यस क्षेत्रको विकासलाई रोकिरहेका छन्।
१. जनचेतनाको कमी र डाक्टरको रिफरलमाथिको निर्भरता : ढाड, गर्धन वा जोर्नीको समस्या हुँदा अधिकांश बिरामी पहिले अर्थोपेडिक, न्यूरो वा अन्य फिजिसियनकहाँ जान्छन्। नेपालमा बिरामीले डाक्टरको सिफारिस बिना सिधै फिजियोथेरापिस्टसँग परामर्श लिन पाउने (Direct Access) अधिकार छ। तर जनचेतनाको अभावका कारण धेरैलाई यो अधिकारबारे थाहै छैन। धेरैले फिजियोथेरापिस्टलाई ‘डाक्टरको आदेश पालना गर्ने प्राविधिक’ मात्र ठान्छन्। परिणामस्वरूप बिरामीले पहिले डाक्टरको परामर्श शुल्क तिर्नुपर्छ, समय गुमाउनुपर्छ र उपचार सुरु हुन ढिलाइ हुन्छ। यसले दुखाइ झन् जटिल बनाउने जोखिम पनि बढाउँछ।
२. चिकित्सकीय प्रभुत्व, क्षेत्राधिकार बाहिरको ‘प्रिस्क्रिप्सन’ र कमिसनको होडबाजी: नेपालमा धेरै चिकित्सकले आफ्नो व्यावसायिक प्रभुत्व कायम राख्न फिजियोथेरापिस्टको क्षेत्राधिकारमा सिधै हस्तक्षेप गर्छन्। योग्य र अन्तर्राष्ट्रिय स्तरका फिजियोथेरापिस्ट उपलब्ध हुँदाहुँदै पनि पूर्जामा “TENS, Ultrasound, Moist Heat १० दिन दिनु” भनेर मेसिन र विधि नै तोकेर बिरामी पठाइन्छ। वास्तवमा बिरामीको शारीरिक मूल्याङ्कन गर्ने, समस्याको वैज्ञानिक निदान (Diagnosis) गर्ने र कुन कसरत वा उपचार योजना अपनाउने भन्ने निर्णयको अधिकार र दायित्व फिजियोथेरापिस्टकै हो। हरेक बिरामीको समस्या, उमेर, जीवनशैली र शारीरिक अवस्था फरक हुन्छ। सबैलाई एउटै मेसिन र एउटै अवधि तोक्नु वैज्ञानिक दृष्टिले पनि उचित हुँदैन। उपचार विधि नै तोकिदिँदा फिजियोथेरापिस्टको पेसागत स्वायत्तता कमजोर हुन्छ र बिरामीले व्यक्तिगत रूपमा मिल्ने उपचार पाउँदैनन्।
यस समस्यामा दोष कुनै एक पेसाको मात्र छैन। हाल डाक्टर र फिजियोथेरापिस्ट दुवै पक्षमा आफ्नै क्लिनिकमा बिरामी भित्र्याउने अस्वस्थ होडबाजी देखिन्छ। केही डाक्टर बिरामी रिफर गरेबापत उच्च कमिसन लिन्छन् भने केही फिजियोथेरापिस्ट र क्लिनिक सञ्चालक बिरामी प्राप्त गर्न चर्को कमिसन दिन तयार हुन्छन्। कमिसन दिने र लिने दुवै पक्ष यस प्रतिस्पर्धामा संलग्न भएपछि उपचारको आधार बिरामीको आवश्यकता होइन, कसले कति कमिसन दिन्छ भन्ने बन्न पुग्छ। यो समस्या समाधान गर्न एउटा पक्षलाई मात्र दोष दिएर पुग्दैन। दुवै पेसाभित्र आत्मसमीक्षा र नैतिक अनुशासन आवश्यक छ।
३. बिरामी र पेसाको विश्वसनीयतामा असर : कमिसनको यस प्रवृत्तिले बिरामीलाई सेवाग्राहीको सट्टा व्यापारको माध्यम बनाइदिन्छ। बिरामी आफ्नो आवश्यकताअनुसारको क्लिनिकमा होइन, बढी कमिसन दिने क्लिनिकमा पुग्ने जोखिम रहन्छ। अनावश्यक सेसन, अनावश्यक मेसिनको प्रयोग र उच्च शुल्कको प्रत्यक्ष भार बिरामीको खल्ती र स्वास्थ्यमा पर्छ। साथै यसले फिजियोथेरापी पेसाको विश्वसनीयता र व्यावसायिक गरिमामा पनि आघात पुर्याउँछ। जनविश्वास गुम्दा इमानदार र दक्ष चिकित्सकहरू समेत प्रभावित हुन्छन्।
अस्ट्रेलिया र बेलायतको अभ्यास: स्वायत्तता, सजग बिरामी र एकीकृत प्रणाली
अस्ट्रेलियामा Ahpra र Physiotherapy Board of Australia को नियमनमा रहेर गरिने अभ्यास नेपालको तुलनामा भिन्न र अधिक व्यवस्थित छ। त्यहाँ फिजियोथेरापिस्टलाई स्वतन्त्र प्राथमिक स्वास्थ्य व्यवसायीका रूपमा मान्यता दिइएको छ।
• सजग बिरामी र प्रत्यक्ष पहुँच: अस्ट्रेलियाका बिरामी आफ्नो स्वास्थ्यप्रति सचेत छन्। उनीहरू जिपी (GP) कहाँ नगई सिधै फिजियोथेरापी क्लिनिकमा आउँछन् र फिजियोथेरापिस्टले स्वतन्त्र रूपमा परीक्षण गरी सही निदान गर्छ भन्ने उनीहरूमा विश्वास छ। यो विश्वास वर्षौँको पेसागत जिम्मेवारी र नियमनले बनाएको हो।
• पूर्ण क्लिनिकल स्वायत्तता: त्यहाँ कुनै डाक्टरले फिजियोथेरापिस्टलाई “यो मेसिन चलाऊ” भनेर निर्देशन दिने चलन छैन। फिजियोथेरापिस्ट आफैँले गम्भीर रोगका लक्षण (Red Flags) जाँच्छ, आवश्यकता परे X-Ray/MRI सिफारिस गर्छ र उपचार योजना तयार गर्छ। उपचारको निर्णय र त्यसको जवाफदेहिता दुवै उसकै हुन्छ।
• उच्च शुल्क र कागजी प्रक्रिया: फिजियोथेरापी निकै महँगो छ। धेरैजसो अवस्थामा मेडिकेयरले खर्च बेहोर्दैन र निजी बीमा भए पनि बिरामीले आफ्नै खल्तीबाट अतिरिक्त रकम (Gap Fee) तिर्नुपर्छ। साथै क्लिनिकल उपचारभन्दा रिपोर्टिङ र बीमासम्बन्धी कागजी प्रक्रियामा बढी समय खर्चिनुपर्छ। यसले चिकित्सक र बिरामी दुवैको समय र ऊर्जा खपत गर्छ।
बेलायतको NHS मा लागू ‘First Contact Practitioner’ (FCP) मोडलले जोर्नी वा मांसपेशीको समस्या भएका बिरामीलाई जिपी कहाँ नपठाई सिधै फिजियोथेरापिस्टकहाँ पठाउँछ। यसले चिकित्सकको कार्यबोझ घटाउँछ, प्रतीक्षा अवधि छोट्याउँछ र बिरामीले पहिलो दिनमै सही सल्लाह तथा उपचार पाउँछन्। यो मोडलले फिजियोथेरापिस्टको क्षमतालाई स्वास्थ्य प्रणालीले औपचारिक रूपमा स्वीकार गरेको देखाउँछ।
निष्कर्ष: नेपालको स्वास्थ्य सुधारका लागि अबको बाटो
तीन देशको अभ्यासको तुलना गर्दा स्पष्ट हुन्छ, नेपालमा दक्ष र शिक्षित फिजियोथेरापिस्ट हुँदाहुँदै पनि जनचेतनाको कमी, चिकित्सकीय हस्तक्षेप र कमिसन संस्कृतिले यो क्षेत्रलाई पछाडि पारेको छ। किफायती मूल्य र निरन्तर उपचारको अवसर नेपालको ठूलो सबल पक्ष हो।
अस्ट्रेलियाजस्तो महँगो तर स्वायत्त प्रणाली र नेपालजस्तो सस्तो तर नियन्त्रित प्रणाली, दुवैका आ-आफ्नै सीमा छन्। नेपालले दुवैको राम्रो पक्ष लिन सक्यो भने सस्तो र स्वायत्त सेवा सम्भव छ। यसका लागि तीनवटा सुधार अपरिहार्य छन्:
1. व्यापक जनचेतना: ढाड, जोर्नी वा मांसपेशीको दुखाइमा डाक्टरको सिफारिस बिना नै सिधै फिजियोथेरापिस्टकहाँ जान पाइन्छ र उनीहरू आफैँ निदान गर्न सक्षम छन् भन्ने सन्देश आम नागरिकसम्म पुर्याउनुपर्छ। सञ्चारमाध्यम, स्थानीय तह र पेसागत संस्थाले यसमा भूमिका खेल्न सक्छन्।
2. चिकित्सकीय मर्यादा र पेसागत स्वायत्तताको सम्मान: चिकित्सकले फिजियोथेरापिस्टको मूल्याङ्कन र उपचार गर्ने स्वायत्तता स्वीकार गर्दै केवल “Physiotherapy Evaluation” का लागि रिफर गर्ने संस्कृति स्थापित गर्नुपर्छ। यसले बिरामीको हितमा दुवै पेसाबीच सहकार्य बलियो बनाउँछ।
3. कमिसन प्रथाको अन्त्य: कमिसन लिने र दिने दुवै पक्षलाई जवाफदेही बनाउँदै नेपाल स्वास्थ्य व्यवसायी परिषद (NHPC) र नेपाल मेडिकल काउन्सिल (NMC) ले कडा नियमन र कारबाहीमार्फत यस अभ्यासलाई रोक्नुपर्छ।
जबसम्म फिजियोथेरापिस्टलाई प्राथमिक स्वास्थ्यकर्मी (Primary Healthcare Practitioner) का रूपमा स्वतन्त्र रूपमा काम गर्न दिइँदैन र पेसागत नैतिकताले कमिसनको लोभलाई जित्दैन, तबसम्म बिरामीले सर्वसुलभ मूल्यमा पनि आधुनिक र भरपर्दो पुनर्स्थापना सेवाको पूर्ण लाभ लिन सक्दैनन्। स्वास्थ्य सेवाको केन्द्रमा बिरामीको हित हुनुपर्छ, कसैको व्यावसायिक प्रभुत्व वा कमिसन होइन।
(विवेक खड्का भारतबाट स्नातक गरी नेपाल, बेलायत र अस्ट्रेलियामा फिजियोथेरापिस्टका रूपमा काम गरिसकेका दर्तावाल फिजियोथेरापिस्ट हुन्। हाल उनी अस्ट्रेलियामा फिजियोथेरापिस्टका रूपमा कार्यरत छन्।)


प्रतिकया दिनुहोस्