रोग पहिचान देखि उपचारसम्म अल्ट्रासाउन्डको महत्त्व, सही परीक्षण र रिपोर्ट व्याख्यामा जोड

स्वास्थ्यसमाचार/ अल्ट्रासाउन्ड परीक्षणलाई रोग पहिचान गर्ने माध्यमका रूपमा मात्र नभई उपचार प्रक्रियामा मार्गदर्शन र बिरामीको स्वास्थ्य अवस्थाको अनुगमन गर्ने महत्त्वपूर्ण प्रविधिका रूपमा प्रयोग गर्नुपर्नेमा वरिष्ठ रेडियोलोजिस्ट डा. राजेन्द्र खनालले बताएका छन ।

तिलोत्तमा नगरपालिका–३, ड्राइभरटोलस्थित निदान अल्ट्रासाउन्ड डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. खनालले अल्ट्रासाउन्ड परीक्षणको उपयोगिता, आधुनिक प्रविधि, गुणस्तरीय परीक्षण र यसको सही व्याख्याबारे जानकारी गराएका हुन्।

कार्यक्रममा उनले आफ्नो २१ वर्षको सरकारी सेवाको अनुभव, विभिन्न स्थानमा रहेर काम गर्दा प्राप्त व्यावसायिक सिकाइ तथा अमेरिकामा केही समय गरेको अनुसन्धानका विषयमा समेत जानकारी गराएका थिए। लामो समयको सरकारी सेवा र विभिन्न स्वास्थ्य संस्थामा काम गर्दाको अनुभवले रेडियोलोजी सेवामा गुणस्तर, दक्षता र सही निदानको महत्त्व बुझ्न थप सहयोग पुगेको उनले बताएका थिए।

उनले अल्ट्रासाउन्ड प्रविधि गर्भावस्था तथा स्त्रीरोग, पेटका आन्तरिक अङ्ग, कलेजो, पित्तथैली, मिर्गौला, प्यान्क्रियाज, प्लीहा, मुटु तथा रक्तनलीलगायत शरीरका विभिन्न अङ्गको परीक्षणमा उपयोगी रहेको बताए।

डा. खनालले अल्ट्रासाउन्डले शरीरभित्रका अङ्गको संरचना हेर्न, रोगको सम्भावना मूल्याङ्कन गर्न र आवश्यक अवस्थामा उपचार प्रक्रियालाई समेत मार्गदर्शन गर्न सहयोग पुर्‍याउँछ। चोटपटक तथा केही आकस्मिक अवस्थामा शरीरभित्रको अवस्था छिटो मूल्याङ्कन गर्न पनि यसको प्रयोग गर्न सकिन्छ।

४-डी, ५-डी र कलेजोको विशेष परीक्षण

निदानमा आधुनिक प्रविधिमा आधारित ४-डी तथा ५-डी अल्ट्रासाउन्ड र कलेजोको बहुआयामिक परीक्षण (मल्टिप्यारामेट्रिक सियर वेभ इलास्टोग्राफी) लाई विशेष महत्त्वका साथ प्रस्तुत गरिएको थियो।

४-डी तथा ५-डी अल्ट्रासाउन्डले गर्भस्थ शिशुको त्रिआयामिक तथा गतिशील दृश्य हेर्न र आवश्यक प्रसूति मूल्याङ्कनमा सहयोग पुर्‍याउँछ। त्यस्तै, कलेजोको विशेष परीक्षणले कलेजोमा बोसो जमेको अवस्था, कडापन तथा फाइब्रोसिसको जोखिम मूल्याङ्कन गर्न सहयोग गर्छ।

कलेजोको परीक्षण गर्दा एउटा मात्रै सूचकका आधारमा निष्कर्ष निकाल्न नहुने डा. खनालको प्रस्तुतीकरणमा उल्लेख थियो। बिरामीको स्वास्थ्य इतिहास, प्रयोगशाला परीक्षणको नतिजा, जीवनशैली तथा अन्य जोखिमलाई समेत ध्यान दिनुपर्नेमा जोड दिइएको थियो।

तस्बिर मात्र होइन, सही चिकित्सकीय मूल्याङ्कन आवश्यक

डा. खनालले अल्ट्रासाउन्ड परीक्षणबाट प्राप्त तस्बिरलाई मात्र आधार बनाएर रोगको निष्कर्ष निकाल्न नहुने बताए। परीक्षणको गुणस्तर, बिरामीको स्वास्थ्य अवस्था, लक्षण र अन्य परीक्षणको नतिजासँग जोडेर रिपोर्टको व्याख्या गर्नुपर्ने उनको भनाइ थियो।

उनका अनुसार अल्ट्रासाउन्ड परीक्षणको मुख्य उद्देश्य तस्बिर सङ्कलन गर्नु मात्र नभई बिरामीको उपचारसम्बन्धी सही चिकित्सकीय निर्णय लिन सहयोग पुर्‍याउनु हो। त्यसका लागि दक्ष जनशक्ति, आधुनिक उपकरण, व्यवस्थित परीक्षण प्रक्रिया र गुणस्तरीय रिपोर्ट आवश्यक हुन्छ।
कार्यक्रममा स्वास्थ्यसम्बन्धी सही सूचना समुदायसम्म पुर्‍याउन पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको विषयसमेत उठाइएको थियो।

अल्ट्रासाउन्डको उपयोगिता र सीमाबारे सही जानकारी प्रवाह हुँदा अनावश्यक भ्रम तथा गलत बुझाइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको थियो।

पत्रकार भेटघाटमा वरिष्ठ पत्रकार मदनलाल पौडेल, महेन्द्र थापा, यमलाल भुसाल, हरिश ढकाल, रामराज पोखरेल, माधव ढुंगाना लगायत पत्रकारहरूको सहभागिता रहेको थियो।

सहभागी पत्रकारहरूले रेडियोलोजी सेवा, आधुनिक परीक्षण प्रविधि, डा. खनालको व्यावसायिक अनुभव तथा स्वास्थ्य क्षेत्रमा यसको उपयोगिताबारे चासो राखेका थिए। निदान अल्ट्रासाउन्ड डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर तिलोत्तमा नगरपालिका–३, ड्राइभरटोलमा रहेको छ।

 

सम्बन्धित शिर्षक :